नेभिगेशन
विश्व

‘डिजिटल हब’ र डाटा सेन्टर इरानको निसानामा

दुबई, (बीबीसी) । अमेरिका र इजरायलसँगको द्वन्द्वका क्रममा इरानको जवाबी कारबाही परम्परागत सैन्य लक्ष्यहरूभन्दा अघि बढेको छ । इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकासँग सम्बन्धित डिजिटल हब, क्लाउड इन्फ्रास्ट्रक्चर र डाटा सेन्टरहरूलाई निसाना बनाउँदै युद्धको दायरालाई थप फैलाएको छ ।
इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) ले संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका डाटा हबहरूमा ड्रोन हमला गरेको जनाएको छ । आजको युगको युद्धमा सर्वसाधारणसँग जोडिएका क्लाउड पूर्वाधारहरूमा समेत जानाजानी भौतिक हमला गर्नु अभूतपूर्व घटना हो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यी डाटा सेन्टरहरूले ‘शत्रुको सैन्य गतिविधिमा मद्दत पु¥याइरहेका’ हुनाले तिनलाई रोक्न हमला गरिएको हो ।
रणनीतिक पूर्वाधारका रूपमा ‘क्लाउड’
अहिलेको समयमा क्लाउड इन्फ्रास्ट्रक्चर दोहोरो प्रयोग हुने रणनीतिक ढाँचाका रूपमा उदाएको छ । एकातिर यसले बैंकिङ, उड्डयन, स्वास्थ्य सेवा र ई–गभर्नेन्सजस्ता नागरिक सेवाहरू सञ्चालन गर्छ भने अर्कोतिर सैन्य र गुप्तचर निकायहरूलाई एआई–आधारित विश्लेषण, भू–उपग्रह तस्बिर प्रशोधन र कमान्ड–एन्ड–कन्ट्रोलमा मद्दत पु¥याउँछ ।
अमेरिका विशेष गरी अमेजन, माइक्रोसफ्ट र गुगलजस्ता ठूला क्लाउड सेवा प्रदायक (‘हाइपरस्केलर्स’) मा निर्भर छ । शोधकर्ता खालिद वलीदका अनुसार यो रणनीतिमा आएको ठूलो परिवर्तन हो । अचेल भौगोलिक ठाउँ मात्र नभई निगरानी गर्ने प्रणाली (सिस्टम) लाई नै निसाना बनाउन थालिएको छ । यसले गर्दा यी प्राविधिक कम्पनीहरू प्रत्यक्ष वा परोक्ष रूपमा सैन्य निर्णय प्रक्रियाको हिस्सा बनेका छन् ।
धम्की र हमलाको शृंखला
गत मार्च १३ मा इरानको कट्टरपन्थी पत्रिका ‘कीहान’ले आईआरजीसीलाई उद्धृत गर्दै खाडी देशमा कार्यरत एप्पल, गुगल, माइक्रोसफ्ट र अमेजनका कर्मचारीहरूलाई तुरुन्त कार्यालय खाली गर्न आदेश दिएको थियो । मार्च ३१ मा आईआरजीसीले इन्टेल, ओरेकल, मेटा, टेस्ला र बोइङ लगायतका थुप्रै ठूला कम्पनीहरूलाई आफ्नो सम्भावित लक्ष्यको सूचीमा राखेको थियो ।
आर्थिक र रणनीतिक क्षति
विगतमा खाडी क्षेत्रको सुरक्षा ऊर्जा (तेल र ग्यास) मा मात्र केन्द्रित थियो । तर, अहिले यूएई र साउदी अरबले आफूलाई विश्वकै एआई र क्लाउड कम्प्युटिङ हब बनाउन अर्बौँ डलर लगानी गरेका छन् । माइक्रोसफ्टले सन् २०२९ सम्म यूएईमा १५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ भने अमेजनले साउदी अरबमा ५.३ अर्ब डलरको नयाँ परियोजना अघि बढाएको छ ।
डिजिटल ठेगानाहरूमा हुने हमलाले ठूलो आर्थिक क्षति पु¥याउँछ । रिपोर्टहरूका अनुसार अमेजनका केन्द्रहरूमा भएको हमलापछि यूएई र बहराइनमा बैंकिङ प्रणाली, एयरलाइन्स र ई–कमर्स सेवाहरू प्रभावित भएका छन् । तथ्याङ्कअनुसार यस्ता डाटा सेन्टरहरूमा अवरोध आउँदा प्रति घण्टा लाखौँ डलरको नोक्सानी हुने गर्दछ ।
भविष्यको जोखिम
इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई ‘वैध सैन्य लक्ष्य’ घोषणा गर्नुले भविष्यमा हुने युद्धहरूको स्वरूप परिवर्तन गरिदिएको छ । विज्ञहरूले भने इरानको यो कदमले एउटा यस्तो नजिर कायम गरेको छ, जसको सिको भविष्यमा अन्य देशहरूले पनि गर्न सक्ने चेतावनी दिएका छन् । यसले गर्दा खाडी देशहरूमा विदेशी लगानी र सुरक्षा रणनीतिमा पुनर्विचार गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय