काठमाडौं । नेपाल–भारत दुई देशीय सम्बन्धमा नयाँ ऊर्जा भर्ने उद्देश्यले आयोजित इन्डो–नेपाल व्यापार महोत्सवको दोस्रो संस्करण नयाँ दिल्लीमा औपचारिक रुपमा सुरु भएको छ । ‘कनेक्टिङ पिपुल, इन्हान्सिङ बाइल्याटरल ट्रेड’ भन्ने मूल नारासहित शुक्रबार भव्यरुपमा महोत्सव उद्घाटन गरिएको हो । महोत्सव तीन दिन चल्नेछ ।
उद्घाटन सत्रमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालको पर्यटन प्रवद्र्धन अझ प्रभावकारी रुपमा गर्नुपर्ने बताए । ‘नेपालका पर्यटकीय गन्तव्यहरुको भारतमा प्रचारप्रसार पुगेको छैन,’ उनले भने, ‘सम्भावना भएका रामग्रामजस्ता ऐतिहासिक स्थलहरूको प्रभावकारी प्रचारप्रसार आवश्यक छ ।’
राजदूत शर्माले नेपालबाट भारततर्फ निर्यात वृद्धि भए पनि सोयाबिन तेल र पाम आयलजस्ता सीमित वस्तुमा निर्भरता रहेको बताए । भारतमा अन्य उत्पादनको निर्यात बढाउनुपर्नेमा उनले जोड दिए । भारतमा आयोजना हुने व्यापार मेलाहरूमा नेपाली स्टलहरूको न्यून सहभागिताप्रति पनि चिन्ता व्यक्त गरे ।
‘हालै सम्पन्न एआई समिटमा स्टल उपलब्ध हुँदाहुँदै पनि नेपालको तर्फबाट सहभागिता हुन नसक्नु दुःखद् कुरा हो,’ राजदूत शर्माले भने । भारतमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गर्दै उनले यसका लागि नेपालका निजी क्षेत्रले स्पष्ट रोडम्याप तयार पार्न सुझाव दिए ।
कार्यक्रमका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाबरले भारत सरकारले हालै सुरु गरेको भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क कार्यक्रमअन्तर्गत २४ नेपाली स्टार्टअप उद्यमीलाई इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासमा तालिम दिइएको र तीमध्ये ९ जना उद्यमी इन्क्युबेसन तथा लगानीका लागि छनोट भएको जानकारी उनले दिए ।
महाबरले भारतको आन्तरिक तथा विदेशी नीतिमा समावेशिता नै मूल आधार रहेको उल्लेख गर्दै उन्नत कनेक्टिभिटी र सहकार्यमार्फत साझा समृद्धि अघि बढाउने प्रतिबद्धता दोहो¥याए । नेपालसँग जलविद्युत् क्षेत्रमा भएको प्रगतिले आगामी दिनमा थप महत्वाकांक्षी परियोजनामा सहकार्यको सम्भावना रहेको उनको भनाइ छ ।
महोत्सवका मुख्य आयोजक एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले नेपाल–भारत सम्बन्ध हजारौं वर्षदेखि ‘रोटी–बेटी’को आत्मीय सम्बन्धमा आधारित रहेको उल्लेख गरे । व्यापार प्रवर्धन, कला–संस्कृति प्रदर्शन तथा फिल्म प्रदर्शनीमार्फत सम्बन्धलाई अझ सुदृढ बनाउन महोत्सव आयोजना गरिएको उनले ेजानकारी दिए ।
त्यस्तै, पूर्वसांसद दिव्यमणि राजभण्डारीले जलवायु परिवर्तन जस्ता साझा मुद्दामा नेपाल–भारतले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल घरेलु तथा साना उद्यमी महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको घरेलु तथा साना उद्योग क्षेत्रमा करिब ४० लाख रोजगारी सिर्जना भएको र त्यसमध्ये १० लाख भारतीय नागरिक संलग्न रहेको उल्लेख गरे । दुवै देशबीचको आत्मीय सम्बन्धलाई यस्ता महोत्सवले थप सुदृढ बनाउने विश्वास उनको छ ।
सस्टेनेबल टुरिजम उत्तर प्रदेशकी अध्यक्ष अंकिता जैसवालले नेपाल र भारत भौगोलिक मात्र नभई पारिवारिक र मानवीय सम्बन्धले गहिरो रूपमा जोडिएका देश भएको बताइन् । सेवा, आतिथ्य र सांस्कृतिक सम्बन्धलाई दिगो विकाससँग जोड्नुपर्ने उनको धारणा छ ।
त्यसैगरी, पीएचडी चेम्बरको नेपाल–भारत सेन्टरका सिनियर सेक्रेटरी अतुलकुमार ठाकुरले फिल्म तथा लोकेसन प्रमोसन क्षेत्रमा नेपालसँग सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गरे । आगामी दिनमा एभरेस्ट चेम्बरसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटमार्फत पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम र इन्डो–नेपाल सहकार्यको ‘भिजन २०३०’ लगायतका विषयमा १० बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवाद आयोजना गरिँदै छ । कार्यक्रममा ५० भन्दा बढी विज्ञहरूको सहभागिता छ । यी छलफलले साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसरहरू पहिचान गर्न दुवै देशका सरोकारवालालाई एउटै मञ्चमा ल्याउने विश्वास लिइएको छ ।
चलचित्र स्क्रिनिङ तथा प्यानल डिस्कसन
महोत्सवको पहिलो दिन नेपाली निर्देशक मिलन चाम्लिङ राई निर्देशित नेपाली चलचित्र ‘गोर्खा वारिअर’को स्क्रिनिङ गरिएको छ । निर्माता सुमन राईले निर्माण गरेको चलचित्र ब्रिटिस गोर्खाको कथामा आधारित छ ।
लगत्तै ‘नेपाल–भारत सम्बन्धमा सफ्ट पावरको रुपमा सिनेमाको भूमिका’ विषयको सत्र सञ्चालन गरिएको छ । यो सत्रमा नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापा, गोर्खा वारिअरका निर्देशक राई, नेपाल–भारत सम्बन्धका विज्ञ पूर्व लेफ्टिनेन्ट जनरल अशोक मेहता, फिल्म डाइरेक्टर्स गिल्ड अफ नेपालका अध्यक्ष जनकदीप पराजुली, इन्डिया एन्ड साउथ इंकका उपाध्यक्ष आनन्द झालगायत वक्ता रहेको सत्रलाइ वरिष्ठ नेपाली पत्रकार आकांक्षा शाहले सञ्चालन गरेकी थिइन् ।
व्यावसायिक तथा नीतिगत छलफलसँगै महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा संगीत कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रामाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिएको छ । महोत्सवमा नेपाल र भारतका ६० बढी स्टल राखिएका छन् भने २५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
‘नेपाल–भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउनुपर्छ’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्ने बताएका छन् । ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ मा उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको बताए । उनले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृंखलामा अवरोधको अवस्थामा रहेकाले छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।
भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा छ । अध्यक्ष ढकालले नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेकाले उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए ।
यस्तै उनले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको र होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरुमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराए । ‘नेपालमा उर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्दछु,’ उनले भने ।
नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन रुपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरु भइरहेको बताए । ‘इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च हो,’ अध्यक्ष ढकालले भने, ‘हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्तालाई म आह्वान गर्दछु ।’
उनले राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इन्डो–नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास पनि व्यक्त गरे ।