बोल्नेको पिठो बिक्छ भन्ने जमाना गयो । अहिले अलिक बेग्लै समय आएको छ । बोलेकै भरमा चामल पनि नबिक्ने युग आयो, पिठोको कुरा त परै छाडौ । आज म जन्मिएको जमाना छैन ।
मान्छेहरू सचेत छन्, बाठा भएका छन् । नबोलीकन बेच्ता पनि चामल चाहिनेले चामल र पिठो चाहिनेले पिठो खोजेरै किन्छन् । अरूले हेप्ने, ठग्ने, ढाँट्ने र आफू चतुरो बाठो हूँ भन्नेले निकालेको उक्ति हो यो ।
बोल्नेको पिठो पनि बिक्छ भनेको ठगले चाप्लुसी गरेर भए पनि आफ्नो दुनो सोझ्याएरै छाड्छ । आफ्नो सर्दो गरेरै छाड्छ । आफ्नो गर्जो टार्न सोझा मान्छेलाई मात्र असजिलो हुन्छ, बाठाले मेलो मिलाई हाल्छ भन्ने कुरा यो हो ।
बोल्नु भनेको विज्ञापन गरेर उत्पादन बेच्नु र धन कमाउने विषयको कुरा हो । विज्ञापन अखबारका पानामा, पत्रिकामा छापिने गर्थ्यो । सिनेमाको जुग आएपछि सिनेमा हलका पर्दामा विज्ञापनको छाया चल्मलायो । रेडियोमा पनि विज्ञापनको आवाज गुञ्जिएको सुनिन्थ्यो । विज्ञापनकै व्यापार गरेर पनि मानिस धेरै धनी भए ।
बलराम पोखरेल
मानव समाजमा सोझो मानिसले बाँच्न गाह्रो हुने अवस्था थियो । ‘फलानो सोझो छ त्यसले गरिखाला जस्तो छैन’ भन्ने कुरा म सानो छँदा सुन्थेँ । यो कुरा पछिसम्म पनि हामी भन्ने गर्थ्यौ । मान्छे को बाठो, को सोझो, कसको बोली बिक्छ, कसको बिक्तैन भनेर निर्णय निकाल्न धेरै गाह्रो छ । ठग्ने र ठगिने बीचको द्वन्द्व नै मार्क्सवाद हो । को ठगियो, कसले कसलाई ठग्यो भन्ने विषयको व्याख्या गर्दा सामन्तवाद, पुँजीवादजस्ता शब्द निर्माण भएका हुन् ।
निष्कर्षमा समाजवाद र साम्यवादको टुंगोमा आजको दुनियाँ चलिरहेको छ । राजनीतिको शासन व्यवस्था चल्ने चलाउने कुरा गर्दा बुद्धि, विचार, ज्ञान र सोचमा मानिस एकअर्कामा समान कहिले हुन्छ र विचारको द्वन्द्व कहिले मेटिन्छ भन्न कसैले सक्तैन । मार्क्सवादले मानिसलाई आर्थिकरूपले समान पार्ने कुरा गरको छ । तर मानिसको सोच, विचार, बुद्धि र व्यवहारले मानिस समान सम्पन्नतामा बस्न सक्छ जस्तो लाग्दैन ।
बुद्धि पुर्याएर बोल्नुपर्छ । मानिसको बुद्धि नै एकअर्कामा थोरै, धेरै भएको पाइन्छ । बराबर बुद्धि भए पो आर्जन पनि बराबर हुन्छ । बुद्धि नै बराबर नभएपछि आयआर्जन कसरी बराबर हुन्छ र !
श्रमले मात्र धन कमिने होइन । धन कमाउने कुरामा बुद्धि नै धेरै चाहिन्छ । मान्छेको व्यवहार सबैको एकैनासको हुँदैन । व्यवहारलाई बुद्धिले परिचालन गरेको हुन्छ । धनले बुद्धिलाई बिगार्छ, धनले बुद्धि सप्रिदैन । मन, वचन र कर्मलाई नियन्त्रण बुद्धिले नै गर्छ । त्यसकारण बोल्दैमा पिठो बिक्दैन भन्ने सोच बनेको हो ।