काठमाडौँ, ११ भदौ - जलविद्युत्मा लगानी गर्दै आएको ग्रीन भेन्चर्स लिमिटेडले १८० मेगावाटको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत शेयर स्वामित्व लिने भएको छ । ग्रीन भेन्चर्सले आयोजनाको प्रवद्र्धक कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको स्वपुँजी लगानीको ५१ प्रतिशत हुन आउने संस्थापक शेयर लिन लागेको हो ।
ग्रीन भेन्चर्सले शेयर खरिद गर्न भदौ १० गते मंगलबार सम्झौता गरेको छ । पहिले व्यक्तिका नाममा भएको संस्थापक शेयर कम्पनीको नाममा ल्याउन लागिएको कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीका सञ्चालक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।
‘यो कम्पनीको शेयर पहिले ग्रीन भेन्चर्समै आबद्ध लगानीकर्ता व्यक्तिको नाममा थियो,’ उनले भने, ‘अहिले व्यक्तिको नाममा रहेको संस्थापक शेयरलाई विधिवत् रूपमा कम्पनीमा ल्याउने प्रक्रियामा गएका हौं ।’ सम्झौतासँगै कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको संस्थापक शेयर खरिद प्रक्रिया अगाडि बढेको पनि प्रधानले बताए ।
ग्रीन भेन्चर्सले यसअघि रामेछापको लिखु नदीमा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । ग्रीन भेन्चर्समा सांघाइ समूहको लगानी छ । सांघाइ समूहले नै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना पनि निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।
मुस्ताङ र म्याग्दी जिल्लामा संरचना रहने गरी कालीगण्डकी नदीमा पहिचान भएको यो अर्धजलाशय जलविद्युत् आयोजना अब निर्माणमा जाने चरणमा छ । पहिचान भएको डेढ दशकपछि यो आयोजना निर्माणमा जान लागेको हो । सुरुमा विदेशी लगानीबाट निर्माण गर्न पहल गरिए पनि अहिले स्वदेशी लगानीबाटै निर्माण गर्न लागिएको छ ।
बर्खापछि आयोजना स्थलमा संरचना निर्माणको काम थाल्ने तयारी भइरहेको उनले बताए । ‘आयोजना स्थलमा पूर्वतयारीका कामहरू भइरहेका छन् । तर, बर्खा सकिनासाथ आयोजनाको संरचना बनाउने काम सुरु गर्दैछौं,’ प्रधानले भने ।
आयोजना निर्माण गर्न ऋण लगानी व्यवस्थापन भइसकेको छ । यो आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंकहरूले कुल लगानीको ७५ प्रतिशत, अर्थात् २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना निर्माण सम्पन्न गर्न ३९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी र बैंकहरूबीच २०८१ फागुन २६ गते वित्तीय व्यवस्थापन सम्झौता भएको
थियो ।
सम्झौताअनुसार अगुवा गरेको लक्ष्मी सनराइज बैंकले ९ अर्ब रुपैयाँ, सह–अगुवाइ गरेको ग्लोबल आईएमई बैंकले ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ र एभरेस्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकले गर्ने ऋण लगानीबाहेकको २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
निर्माण सुरु भएपछि साढे ३ वर्षमा सम्पन्न गर्ने पनि प्रधानले बताए । आयोजना १८० मेगावाटमा निर्माण गर्ने भनिए पनि विद्युत् विकास विभागले १६४ मेगावाटको उत्पादन अनुमतिपत्र दिएको छ । ३५ वर्षको उत्पादन अनुमतिपत्र रहेको आयोजनाले निर्माणपश्चात् लगानीको १५.३८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।
हिउँदमा पिकिङ अवधिभर प्रतियुनिट १०.५५ रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ रेटमा आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । पीपीएअनुसार प्रवर्द्धक कम्पनीले ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउने छ । यो आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् डेढ किलोमिटर दूरीको २२० केभी दाना सबस्टेसनमा जोडिनेछ ।
आयोजना सम्पन्न हुँदा वार्षिक १०५६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाले सुख्खा याममा पनि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेछ ।