नेभिगेशन
साहित्य

सस्ता किताबको बिग्रँदो बजार

सेली रोमेरोसँग आफ्नै ठाउँको सुपरमार्केटमा गएर सेल्फबाट ‘पल्प फिक्सन’ (सस्तो र मनोरञ्जनात्मक पुस्तक) रोजेका पुराना सम्झनाहरू छन् । उनी सम्झिन्छिन्, ‘हामी मध्यम वर्गीय परिवारका थियौँ; मेरी आमा कहिलेकाहीँ दुईवटासम्म काम गर्नुहुन्थ्यो । पुस्तकहरू सस्तो, सानो र बोक्न सजिलो हुनु नै हाम्रा लागि मुख्य आकर्षण थियो ।’
धेरै पुस्ताका पाठकहरूका लागि साहित्यको प्रवेशद्वार कुनै शान्त पुस्तकालय वा चिल्लो हार्डब्याक पुस्तक नभएर सुपरमार्केट, फार्मेसी वा रेलवे स्टेशनमा राखिएका घुम्ने ¥याकहरू थिए । त्यहाँ चुइगम र चुरोटका बीचमा ‘मास–मार्केट पेपरब्याक’ (सस्तो र सानो आकारको पुस्तक) भेटिन्थे । लगभग १० सेन्टिमिटर चौडाइ र १८ सेन्टिमिटर उचाइ भएका यी पुस्तकहरू यति सस्ता हुन्थ्यो कि मानिसहरूले एक्कासि सोच बनाएरै पनि किन्न सक्थे ।
तर यो ‘पकेट बुक’को युग अब समाप्त हुँदैछ । अमेरिकाको सबैभन्दा ठूलो पुस्तक वितरक रिडरलिंकले हालै यस्ता सस्ता पेपरब्याकहरूको वितरण बन्द गर्ने घोषणा गरेको छ । यो निर्णय वर्षौंदेखि ओरालो लागेको बिक्रीका कारण लिइएको हो । सन् २००४ मा १३ करोड १० लाख प्रति बिक्री भएकोमा २०२४ सम्म आइपुग्दा यो संख्या घटेर २ करोड १० लाखमा सीमित भएको छ । यससँगै एक समय श्रमजीवी वर्गका लागि पठन संस्कृतिलाई सर्वसुलभ बनाएको यो स्वरूपको अन्त्य भएको छ ।
फ्लोरिडाको हियालेह भन्ने औद्योगिक शहरमा हुर्किएकी रोमेरो भन्छिन्, ‘यी पुस्तकहरूमा एक प्रकारको लोकतान्त्रिक पक्ष थियो, जुन जहाँ पनि सजिलै पाइन्थ्यो । यो ठ्याक्कै चकलेट पसल जस्तै लाग्थ्यो जहाँ सबैका लागि केही न केही हुन्थ्यो— चाहे त्यो रोमान्टिक उपन्यास होस् वा साइन्स–फिक्सन र हरर जस्ता विधा ।’
अहिले न्यू योर्कमा साहित्यिक एजेन्टका रूपमा कार्यरत रोमेरोसँग ‘अमेजोन किन्डल’ छ । यो ठ्याक्कै पुरानो पेपरब्याक पुस्तककै आकारको छ, तर यसमा एउटा मात्र नभएर हजारौँ पुस्तकहरू अटाउँछन् । तैपनि, उनलाई केही कुरा हराइरहेको जस्तो महसूस हुन्छ ।
पेपरब्याक पुस्तकहरू पहिलेदेखि नै अस्तित्वमा भए तापनि यसको वास्तविक क्रान्ति सन् १९३५ मा बेलायतको पेन्गुइन बुक्सबाट एलेन लेनले शुरू गरेका थिए । रेलवे स्टेशनमा पढ्नका लागि कुनै राम्रो सामग्री नपाएपछि उनी यो अवधारणा ल्याउन प्रेरित भएका थिए । उनले विधाअनुसार पुस्तकको रङ छुट्याए । कथाका पुस्तकका लागि सुन्तले रङ अनि अपराध सम्बन्धी विषयका लागि हरियो रङ । उनले यी पुस्तकहरू पुस्तक पसलमा मात्र नभई पत्रपत्रिका र चुरोट पसलहरूमा पनि बेच्न थाले ।
यो शैली १९३९ मा ‘पकेट बुक्स’ मार्फत अमेरिका पुग्यो र दोस्रो विश्वयुद्धका बेला निकै लोकप्रिय भयो । अमेरिकी सेनाले आफ्ना सिपाहीहरूलाई लाखौँको संख्यामा ‘आम्र्ड सर्भिसेस एडिसन’ भन्दै सस्तो दरमा अमेरिकी सेनालाई वितरण ग¥यो । यो अभियान यति सफल भयो कि यो अभियानले साक्षरता बढाउन र सैनिकहरूमा  पुस्तकहरूप्रति रुचि जगाउन ठूलो भूमिका खेल्यो । युद्धपछिका पेपरब्याकहरू प्रायः ‘पल्प्स’ भनेर चिनिन्थे र यिनका कभरहरू निकै आकर्षक र रङ्गीचङ्गी हुन्थे ।
युनिभर्सिटी अफ मिनेसोटाकी प्राध्यापक तथा ‘अमेरिकन पल्प’की लेखिका पाउला राबिनोभिट्जका अनुसार यसको सफलताको रहस्य यसको बनोट र बोक्न सहज हुनुमा थियो । उनी भन्छिन्, ‘यसले सामूहिक पठनको क्षेत्रमा एउटा प्राविधिक विष्फोट नै ल्याएको थियो । यसको मुख्य उद्देश्य पुस्तकको मूल्य २५ सेन्ट अर्थात् एक प्याकेट चुरोटभन्दा बढी नबनाउनु थियो । म यसलाई २०औँ शताब्दीको एउटा महŒवपूर्ण प्राविधिक हस्तक्षेप मान्छु ।’
यसको वितरण प्रक्रिया नै सफलताको कडी थियो । महँगा पुस्तकहरू पुस्तक पसलमा मात्र पाइन्थे तर यी सस्ता पेपरब्याकहरू पत्रपत्रिका जस्तै जताततै उपलब्ध हुन्थे । यसको पहुँचले गर्दा कहिल्यै ठूला पुस्तक पसल नछिर्ने मानिसहरूले पनि पुस्तक पढ्न पाए । यही सहजताका कारण सन् १९६० र ७० को दशकमा ‘जज’, ’भ्याली अफ द डल्स’ र स्टिफन किङका उपन्यासहरूले लाखौँ प्रति बिक्री भएर इतिहास रचे तर त्यसपछिका दशकहरूमा यसको क्रेज घट्दै गयो ।
यसको गिरावट हुनुका धेरै कारणहरू छन्, अलि ठूलो र गुणस्तरीय ‘ट्रेड पेपरब्याक’को उदय, वितरकहरूको एकीकरण र डिजिटल क्रान्ति । अहिले एयरपोर्टमा समय बिताउन मानिसहरूका हातमा पुस्तकको सट्टा स्मार्टफोन हुन्छ र ई–रिडरले एउटै खल्तीमा पूरै पुस्तकालय अटाइदिन्छ ।
पुस्तक उद्योग विश्लेषक ब्रेन्ना कोनर भन्छिन्– यी पुस्तकहरूको मुख्य विशेषता भन्नु नै बोक्न सजिलो हुनु थियो । अब किताब बोक्न बोझ मानिरहनु पर्दैन । त्यसको ठाउँ अब प्रविधिले लिइसकेको छ । ‘सन् २०२६ सम्म आइपुग्दा यो स्वरूप अब त्यति सान्दर्भिक रहेन । हाम्रो खल्तीमा भएको मोबाइल फोनमा अब अनन्त पुस्तकहरू अटाउँछन्, चाहे ती ई–बुक हुन् वा अडियो बुक,’ कोनर भन्छिन् ।
अहिले पुस्तकलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । टिकटकको ‘बुकटक’ समुदायमा पाठकहरू अचेल पुस्तकलाई एउटा सजावटको वस्तुका रूपमा हेर्न थालेका छन् । उनीहरू सस्तोमा पाइने र केही समयमै पहेंलो हुने पेपरब्याकभन्दा राम्रो गाता र बुट्टा भएका ‘हार्डकभर’ पुस्तकहरूलाई बढी महŒव दिन्छन् ।
अवस्था हेर्दा यो स्वरूपको भविष्य संकटमा देखिन्छ । एयरपोर्टमा सामान बेच्ने ‘हडसन’ कम्पनीले गत वर्षदेखि नै आफ्ना पसलहरूबाट यस्ता सस्ता पुस्तकहरू हटाउन थालिसकेको छ । ‘ब्रिजरटन’ जस्ता चर्चित सिरिजका पुस्तकहरू पनि अब यो ढाँचामा आउन छाडेका छन् ।
अमेरिकाको ठूलो स्वतन्त्र प्रकाशक केन्सिङ्टन पब्लिसिङका कार्यकारी प्रमुख स्टिभ जाकारियसका अनुसार यो गिरावट व्यापारिक मात्र नभएर भावनात्मक पनि हो । उनका बुबाले १९७४ मा यो कम्पनी शुरू गर्दा यस्तै सस्ता पेपरब्याक मात्र छाप्ने गर्थे । जाकारियस भन्छन्, ‘३५ वर्षदेखि यहाँ काम गरिरहेका मेरा प्रोडक्सन म्यानेजरले मलाई फोन गरेर दुःखका साथ भने— हाम्रो कम्पनीको इतिहासमा पहिलो पटक यो महिना एउटा पनि मास–मार्केट बुक छापिएन । शुरूका दिनमा हामी यस्तै पुस्तकहरू मात्रै ठूलो संख्यामा छाप्ने गथ्र्यौँ ।’
उनी थप्छन्, ‘मैले १९९४ देखिको बिक्रीको इतिहास हेरेँ, जुन बिस्तारै घट्दै गइरहेको थियो । बजार र उपभोक्ताले नै अब आफूहरू परिवर्तन चाहन्छौँ भन्ने स्पष्ट पारिसकेका छन् ।’
द गार्डियनबाट साभार
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
विनी–द–पुको अलौकिक संसार

विनी–द–पुको अलौकिक संसार

एक साथ पाँच कृति लोकार्पित

एक साथ पाँच कृति लोकार्पित