नेभिगेशन
दृष्टिकोण

सूचना, राजनीति र परिवर्तनको मोड

नेपालको समकालीन राजनीति अहिले गहिरो संक्रमणको चरणमा पुगेको देखिन्छ । सम्पन्न निर्वाचनको परिणामले केवल सत्ता परिवर्तनको मात्र संकेत नगरी राजनीतिक संस्कार, सामाजिक चेतना र नागरिक अपेक्षाको स्वरूप नै बदलिँदै गएको सन्देश दिएको छ । सूचना प्रवाहको स्वरूप, सामाजिक सञ्जालको प्रभाव, नागरिक असन्तोष, वैकल्पिक राजनीतिक शक्तिको उदय र लोकतन्त्रको चरित्र, यी सबै पक्षहरूले मिलेर अहिलेको नेपाललाई नयाँ राजनीतिक युगतर्फ धकेलिरहेका छन् । यस परिप्रेक्ष्यमा निर्वाचनपछिको नेपालको राजनीतिक अवस्थालाई बुझ्नका लागि सूचना र सञ्चारको परिवर्तन, नागरिक मनोविज्ञान, पुराना राजनीतिक दलहरूको संकट र नयाँ नेतृत्वप्रतिको अपेक्षालाई समग्ररूपमा विश्लेषण गर्न आवश्यक देखिन्छ ।
सबैभन्दा पहिले आजको राजनीतिक परिवेशलाई बुझ्न सूचना र सञ्चारको बदलिँदो स्वरूपलाई हेर्नुपर्छ । पछिल्ला वर्षहरूमा सूचना, ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’जस्ता शब्दहरू सार्वजनिक बहसको केन्द्रमा आएका छन् । विगतमा राज्य वा संस्थागत शक्तिले उत्पादन गर्ने प्रोपागाण्डा आज डिजिटल युगमा सर्वसाधारणको हातमा पुगेको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूले सूचना उत्पादन र प्रसारको अधिकार व्यापकरूपमा फैलाइदिएका छन् । यसको सकारात्मक पक्ष नागरिक सहभागिता र अभिव्यक्तिको स्वतन्त्रता हो भने नकारात्मक पक्ष भनेको गलत सूचना र अफवाहको तीव्र प्रसार हो । अब सूचना केही संस्थाको नियन्त्रणमा सीमित नभई प्रत्येक नागरिक उत्पादक र उपभोक्ता दुवै बनेका छन् । यही कारणले सत्य र असत्यबीचको सीमारेखा धमिलिन थालेको छ ।
डिजिटल युगमा सूचना प्रसारको गति अत्यन्त तीव्र भएको छ । पहिले सीमित दायरामा फैलिने हल्ला आज सामाजिक सञ्जालमार्फत केही मिनेटमै विश्वभर फैलिन सक्छ । अनुसन्धानहरूले देखाएको एउटा रोचक तथ्य भनेको बन्द समाजमा हल्ला अझ तीव्र गतिमा फैलिने गर्दछ । आधिकारिक सूचना अभाव भएको अवस्थामा अफवाहले त्यसको स्थान लिन्छ । आजको डिजिटल समाजमा पनि यही प्रक्रिया नयाँ रूपले दोहोरिएको छ । स्मार्टफोन र सामाजिक सञ्जालको पहुँचले हरेक व्यक्तिलाई ‘सिटिजन जर्नालिस्ट’ बनाइदिएको छ, तर त्यससँगै सत्यताको परीक्षण गर्ने संस्कार कमजोर हुँदै गएको देखिन्छ ।
यसै मेसोमा राजनीतिक सञ्चार पनि आज निकै नाटकीय बनिसकेको छ । राजनीतिज्ञहरूले भाषण र नीतिभन्दा बढी दृश्यात्मक प्रभावलाई महŒव दिन थालेका छन् । किसानको खेतमा गएर काम गरेको दृश्य, सामान्य जीवनशैली देखाउने अभिनय, सामाजिक सञ्जालमा भावनात्मक पोस्ट यी सबै अहिलेको राजनीतिक संचारका महŒवपूर्ण उपकरण बनेका छन् । यसले नागरिकलाई छिटो आकर्षित त गर्छ तर गहिरो नीतिगत बहसलाई कमजोर बनाउने जोखिम पनि बढाउँछ । आजको राजनीति तर्कभन्दा भावनामा बढी आधारित हुन थालेको छ, जसले लोकतन्त्रको गुणस्तरमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।
यही पृष्ठभूमिमा नेपालमा हालै सम्पन्न निर्वाचनले पुराना राजनीतिक संरचनामाथि गहिरो प्रश्न उठाएको छ । लामो समयसम्म नेपाली कांग्रेस र वामपन्थी दलहरूले नेपालको राजनीतिक नेतृत्व सम्हाले । तर समयसँगै यी दलहरूप्रति जनताको विश्वास कमजोर हुँदै गयो । भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र सेवा प्रवाहजस्ता मूलभूत अपेक्षाहरू पूरा हुन नसक्दा नागरिक असन्तोष बढ्दै गयो । यही असन्तोषको आधारमा नयाँ राजनीतिक शक्तिको खोजी सुरु भयो ।
नेपालको इतिहास हेर्दा हरेक राजनीतिक परिवर्तनपछि नयाँ शक्ति उदाउने गरेको देखिन्छ । २००७ सालपछि कांग्रेस परिवर्तनको वाहक बन्यो, २०४६ पछि कम्युनिस्ट शक्तिहरू बलियो भए र २०६३ को आन्दोलनपछि माओवादी राजनीतिको केन्द्रमा आयो । अहिले त्यही परम्परालाई निरन्तरता दिँदै नयाँ वैकल्पिक शक्तिका रूपमा नयाँ राजनीतिक दलहरू देखा परेका थिए । यो प्रवृत्ति लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, जहाँ पुराना शक्तिहरू कमजोर हुँदा नयाँ शक्तिहरू उदाउँछन् । तर कुन शक्तिलाई जनताले अनुमोदन गर्छन् भन्ने कुरा निर्वाचनले तय गर्ने हुँदा उदाएका धेरै शक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पछि पारिदिएको छ । धेरै राजनीतिक शक्तिको औचित्य समाप्त भएको त होइन भन्ने पनि देखिएको छ भने ऐतिहासिक भनिएका राजनीतिक शक्ति कांग्रेस र एमालले आफूलाई स्थापित गर्ने हो भने देशव्यापी पुनर्जागरण र शुद्धीकरण अभियान चलाउनु पर्ने देखिएको छ । 
नयाँ राजनीतिक शक्तिको उदय हुँदै गर्दा नेपाली राजनीतिमा तीनवटा महŒवपूर्ण परिवर्तन संकेत गरेको छ । पहिलो, लोकतान्त्रिक शक्तिको परिभाषा बदलिएको छ । लामो समयसम्म लोकतन्त्रको प्रतिनिधि शक्ति मानिएको दल अब एक्लो विकल्प रहेन । दोस्रो, नेपालको राजनीतिक केन्द्रबिन्दुमा रहेका वामपन्थी शक्तिहरूको प्रभाव नराम्रोसँग कमजोर भएको देखिएको छ । तेस्रो, राजनीतिक भाषाशैली र शब्दभण्डार पनि परिवर्तत हुँदैछ । नयाँ पुस्ताका राजनीतिज्ञहरू पुराना विचारधारात्मक नाराभन्दा व्यावहारिक समाधान र प्रत्यक्ष परिणामको कुरा गर्न थालेका छन् ।
यस परिवर्तनको अर्को महŒवपूर्ण आयाम भनेको ‘लोकप्रियतावाद’ हो । आधुनिक राजनीतिमा लोकप्रियतावादले महŒवपूर्ण भूमिका खेलिरहेको छ । लोकप्रियतावादको मुख्य विशेषता भनेको जनताको भावनालाई केन्द्रमा राखेर राजनीतिक समर्थन प्राप्त गर्नु हो । विश्वका विभिन्न देशमा देखिएको यो प्रवृत्ति नेपालमा पनि देखा परेको छ । सामाजिक सञ्जाल, डिजिटल सञ्चार र युवापुस्ताको सक्रियताले यस्तो राजनीति अझ प्रभावशाली बनेको छ । तर यसको जोखिम पनि छ । लोकप्रियतावादले जटिल राजनीतिक समस्यालाई सरल नारामा सीमित गरिदिने सम्भावना हुन्छ, जसले दीर्घकालीन नीति निर्माणलाई कमजोर बनाउन सक्छ ।
नेपालको पछिल्लो निर्वाचनले अर्को महŒवपूर्ण पक्ष पनि उजागर गरेको छ, लोकतन्त्रमा नागरिक सहभागिता । मतदाता संख्या, महिला सहभागिता र निर्वाचन प्रक्रियामा देखिएको सक्रियता लोकतन्त्रको सबलताका संकेत हुन् । निर्वाचन केवल सरकार परिवर्तनको माध्यम मात्र होइन, यो नागरिक विश्वासको अभिव्यक्ति पनि हो । संकट र असन्तोषको अवस्थामा पनि नागरिकले लोकतान्त्रिक प्रक्रियामा विश्वास कायम राख्नु सकारात्मक पक्ष हो ।
तर यति हुँदाहुँदै पनि भविष्यका चुनौतीहरू कम छैनन् । नयाँ नेतृत्वप्रति अत्यधिक अपेक्षा छ । जनताले परिवर्तनको आशामा मतदान गरेका छन् तर त्यो परिवर्तन व्यवहारमा कति छिटो र प्रभावकारी रूपमा देखिन्छ भन्ने प्रश्न पेचिलो छ । इतिहासले देखाएको छ कि अपेक्षा पूरा नभए निराशा झन् तीव्र हुन्छ । त्यसैले नयाँ नेतृत्वले भावनात्मक लोकप्रियताभन्दा संस्थागत सुधार, पारदर्शिता र सुशासनमा ध्यान दिनु आवश्यक छ ।
अर्को महत्वपूर्ण चुनौती भनेको राजनीतिक स्थायित्व हो । नयाँ शक्तिहरूको उदयले लोकतन्त्रमा नयाँ ऊर्जा ल्याए पनि अनुभवको अभाव, आन्तरिक व्यवस्थापन र नीतिगत स्पष्टतामा कमजोरी देखिने जोखिम बारे पनि चर्चा गर्न थालिएको छ । यसलाई सम्बोधन गर्न पनि नयाँ शक्तिले धीरगम्भीर भएर सुझबुझपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । त्यसैले संस्थागत संरचना मजबुत बनाउनु र लोकतान्त्रिक अभ्यासलाई परिपक्व बनाउनु अत्यन्त आवश्यक छ । र, खुला समाज अर्थात प्रश्न गर्ने परिपाटी र संवादको व्यापकताले नै विद्यमान कमजोरीलाई सुधार्दै अघि बढ्न मार्गप्रशस्त गर्दछ । त्यसैले अबको सत्तासीन शक्तिले नियमित संवाद, व्यापक अन्तरक्रिया र जनसंवादलाई विस्तार गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । आमसर्वसाधारणले कुनै पनि राम्रो कुराको स्वामित्व लिन चाहनु अस्वभाविक होइन भने उसले नराम्रो प्रयासलाई पनि रोक्ने मनसाय राखेको हुन्छ, जसको लागि सार्वजनिक सुनुवाइले नै सार्वजनिक मञ्च उपलब्ध गराउने हुँदा समुदायलाई स्वामित्वको अवसर दिनको लागि पनि संयन्त्रहरुको विकास हुनुपर्ने देखिन्छ ।
समग्रमा, नेपालको पछिल्लो निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धाको परिणाम होइन, यो सामाजिक चेतनाको परिवर्तनको संकेत पनि हो । सूचना प्रविधिको विस्तार, युवापुस्ताको सक्रियता, पुराना राजनीतिक संरचनाप्रतिको असन्तोष र नयाँ विकल्पप्रतिको आशाले मिलेर नेपालको राजनीतिक परिदृश्यलाई नयाँ दिशातर्फ मोडेको छ । तर लोकतन्त्रको सफलता केवल निर्वाचनबाट मात्रै मापन हुँदैन । यसको वास्तविक परीक्षा निर्वाचनपछि सुरु हुन्छ ।  सरकारले कति पारदर्शीरूपमा काम गर्छ, नागरिक अपेक्षालाई कति सम्बोधन गर्छ र संस्थागत सुधार कति अघि बढाउँछ भन्ने कुराले नै लोकतन्त्रको भविष्य निर्धारण गर्छ । अहिले नेपाल त्यही निर्णायक मोडमा उभिएको छ । यदि नयाँ नेतृत्वले जनताको विश्वासलाई नीति, सुशासन र समावेशी विकासमार्फत सार्थक बनाउन सके भने अहिले देखिएको राजनीतिक परिवर्तन वास्तवमै नयाँ युगको सुरुवात बन्न सक्छ । तर यदि त्यो सम्भव भएन भने इतिहास फेरि अर्को वैकल्पिक शक्तिको खोजीतर्फ उन्मुख हुन सक्छ । यसैले आजको नेपाल केवल राजनीतिक परिवर्तनको क्षणमा मात्र नभई लोकतन्त्रको परिपक्वताको महŒवपूर्ण परीक्षणको मोडमा उभिएको छ ।
(लामिछाने युवा अनुसन्धानकर्मी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्