नेभिगेशन
विश्व

‘एआई मन्त्री’बाट पहिचान फिर्ता लिन लडिरहेकी एक महिला

अल्बानियाका प्रधानमन्त्रीले गत वर्ष पहिलो एआई मन्त्री ‘डियेला’ सार्वजनिक गरे, तर अभिनेत्री अनिला बिशाको आरोप छ, उनको अनुहार र आवाजलाई अनुमति बिना प्रयोग गरियो । अहिले उनले यही मामिलालाई अदालतसम्म पु¥याएकी छन् ।
११ सेप्टेम्बर २०२५ मा अल्बेनियाली अभिनेत्री अनिला बिशाले आफ्नो परिवारसँग घरमै बसेर प्रधानमन्त्री एडी रामाले नयाँ मन्त्रिमण्डलको प्रत्यक्ष प्रसारण गरिरहेको हेर्दै थिइन् । तर त्यसपछिको क्षणमा जे भयो, त्यसले उनलाई स्तब्ध बनायो । उनले आफैँलाई मन्त्रीको रूपमा देखिन्, तर मानिसको रूपमा होइन, एउटा ‘अवतार’ को रूपमा ।
‘डियेला’ नामकी भर्चुअल मन्त्री, जसलाई प्रधानमन्त्री एडी रामाले विश्वकै पहिलो भर्चुअल मन्त्रीका रूपमा चिनाएका थिए, बिशाकै ‘अनुहार र आवाज’का साथ प्रस्तुत भएकी थिइन् । सरकारका लागि यो प्राविधिक विकासको प्रदर्शन थियो, तर झण्डै ४० वर्षदेखि अभिनय क्षेत्रमा आबद्ध बिशाका लागि यसको अर्थ अर्कै थियो । उनले डीडब्ल्यूलाई भनिन्, ‘मैले सुरुमा त परिवारसँग हाँसेर टारेँ, तर मलाई थाहा थिएन कि यसपछि के हुनेवाला छ ।’
अभिनेत्री बिशाका अनुसार उक्त भर्चुअल अवतार बनाउन उनले आफ्नो अनुहार र आवाज प्रयोग गर्ने अनुमति दिएकी थिइनन् । डिजिटल प्रगतिको प्रतीक मानिएको त्यो तस्बिर छिट्टै एउटा जटिल विवादमा बदलियो । भर्चुअल मन्त्रीको चर्चाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे अझै धेरै प्रश्नहरू अनुत्तरित रहेको देखाएको छ र तिनै प्रश्नहरूले अहिले यो मामिलालाई अदालतसम्म पु¥याएको छ ।
भर्चुअल असिस्टेन्टदेखि मन्त्रीसम्मको यात्रा
मन्त्री बन्नुअघि ‘डियेला’ एउटा सामान्य डिजिटल असिस्टेन्ट थिइन् । उनी ‘ई–अल्बानिया’ नामक सरकारी अनलाइन पोर्टलमा नागरिकहरूलाई सार्वजनिक सेवाबारे जानकारी दिने अवतारका रूपमा देखिन्थिन् । बिशाले अदालतमा दिएको उजुरी अनुसार, उनले डिसेम्बर २०२४ मा एक वर्षका लागि ई–अल्बानियामा डिजिटल असिस्टेन्टका रूपमा मात्र आफ्नो अनुहार र आवाज प्रयोग गर्न दिने सम्झौता गरेकी थिइन् ।
तर मन्त्रिमण्डल घोषणाको दिन ‘डियेला’लाई ‘एआई मन्त्री’का रूपमा पेश गरियो । उनको आवाज र अनुहार हुबहु अनिला बिशाकै थियो । बिशा भन्छिन्, ‘मलाई यो परिवर्तनबारे कुनै जानकारी दिइएको थिएन ।’ उनका वकील अरानित रोशीका अनुसार सम्झौताका शर्तहरू स्पष्ट थिए, बिशाको छवि र आवाज अन्य कुनै उत्पादनका लागि प्रयोग गर्न पाइने थिएन ।
सरकारले भने यी आरोपहरूलाई अस्वीकार गरेको छ । सरकारी बयानमा भनिएको छ, ‘हाम्रो नजरमा यो दाबी आधारहीन छ ।’ यस विषयमा अन्तिम निर्णय अदालतले गर्नेछ । तर यो मामिला केवल प्रतिलिपि अधिकार (कपिराइट) मा मात्र सीमित छैन ।
व्यक्तिगत डेटा सुरक्षाको कुरा
कानूनी विज्ञहरूका अनुसार यो मुद्दा प्रतिलिपि अधिकारको भन्दा पनि ‘व्यक्तिगत डेटा सुरक्षा’को हो । युरोपेली संघको मापदण्डअनुसार अल्बेनियाली कानूनमा कुनै व्यक्तिको अनुहार र आवाज उसको ‘व्यक्तिगत डेटा’ मानिन्छ । कानूनविज्ञ एल्टन पेप्पो भन्छन्, ‘यदि सम्झौताको अवधि वा उद्देश्यभन्दा बाहिर गएर यस्ता कुराहरूलाई प्रयोग गरियो भने त्यो प्रस्ट रूपमा कानूनको उल्लंघन हो ।’
बिशाले अदालतसँग अन्तिम निर्णय नआउन्जेल आफ्नो अनुहार र आवाजको प्रयोग रोक्न माग गरेकी छन् । उनले मन्त्रिपरिषद्, सञ्चार एजेन्सी, अवतार बनाउने निजी कम्पनी र प्रधानमन्त्री एडी रामालाई विपक्षी बनाएकी छन् । उनले १० लाख युरोको क्षतिपूर्ति पनि मागेकी छन् । यसैबीच, मानिसहरूले उनलाई सार्वजनिक ठाउँमा ‘मन्त्री डियेला’ भन्न थालेको र एउटा डिजिटल तस्बिर उनको वास्तविक व्यक्तित्वमाथि हाबी हुन थालेकोमा उनी चिन्तित छिन् ।
पहिचानको दोहोरोपन
मिडिया विज्ञ मार्क मार्कु यस्ता मामिलालाई ‘पहिचानको दोहोरोपन’ भन्छन् । उनले भने, ‘तपाईंले आफ्नो छवि बेच्नुहोला तर आफ्नो पहिचान बेचेको होइन । तपाईंका विश्वास, राजनीतिक विचार वा मूल्य–मान्यता भन्ने चिज कसैले किन्न सक्दैन ।’
फरक के पनि हो भने एउटा डिजिटल असिस्टेन्टले प्राविधिक प्रश्नको जवाफ दिन्छ, तर मन्त्रीले राज्यको तर्फबाट बोल्छ । ‘डियेला’ संसद्को ठूलो स्क्रिनमा देखिइन् र धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा राज्यको प्रतिनिधित्व गरिन् ।
स्क्रिप्ट जसले लेखे पनि अनुहार त उही हो । बिशा भन्छिन्, ‘कहिलेकाहीँ त मलाई केसम्म डर हुन्थ्यो भने, अब के उट्पट्याङ बोल्ने हो र त्यसको जवाफ मैले दिनुपर्ने हो कि भन्ने डरले सताउँथ्यो ।’
फेब्रुअरी २०२६ मा ‘डियेला’ले दुबईमा भएको ‘वल्र्ड गभर्मेन्ट्स समिट’मा अवार्ड समेत जितेकी थिइन् । प्राविधिक विज्ञहरूका अनुसार ‘डियेला’ अझै पनि एउटा च्याटबट मात्र हो । आईटी विशेषज्ञ बेसमिर सेमानाईका अनुसार ‘डियेला’ पूर्ण रूपमा स्वतन्त्र एआई प्रणालीमा बदलिएको कुनै प्रमाण छैन ।
सरकारी कामको पनि कानूनी जाँच
प्रधानमन्त्री रामाले ‘डियेला’लाई सार्वजनिक गर्दै अब सरकारी टेन्डरहरू ‘शतप्रतिशत भ्रष्टाचारमुक्त’ हुने दाबी गरेका थिए । तर ‘डियेला’ आफैँमा स्वतन्त्र प्रोजेक्ट नभई अल्बानियाको डिजिटल शासन प्रणालीको हिस्सा हो ।
डिसेम्बर २०२५ मा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा केही वरिष्ठ अधिकारीहरूमाथि कारबाही सुरु गरिएको छ । यो अनुसन्धान डिजिटल सेवा र सरकारी योजनाको टेन्डरसँग सम्बन्धित अनियमिततामा केन्द्रित छ । यद्यपि यो अनुसन्धान बिशाको मुद्दाभन्दा फरक छ, तर यसले ‘डियेला’जस्ता परियोजनाको विश्वसनीयतामा प्रश्न उठाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्