नेभिगेशन
अर्थतन्त्र

युद्धले अर्थतन्त्रलाई कसरी फाइदा पु-याउँछ ?

युद्धले मानिसको ज्यान र जीविकोपार्जन दुवै नष्ट गर्छ । तर के यसले अर्थतन्त्रलाई फाइदा पनि पु¥याउन सक्छ ? यो प्रश्न कठोर वा संवेदनहीन जस्तो लाग्न सक्छ । तर इन्धनको मूल्य बढ्दा, ढुवानी अवरोधले अभाव सिर्जना गर्दा र छोटो अवधिमा आर्थिक दबाब बढ्दा पनि दीर्घकालीन दृष्टिले फरक तस्वीर देखिन्छ । सैनिक खर्चले रोजगारी सिर्जना गर्न सक्छ, नयाँ प्रविधिको विकासलाई गति दिन सक्छ र लगानी बढाउन सक्छ ।
विश्वभर धेरै देशहरूले हतियार उत्पादन बढाइरहेका छन् र राष्ट्रिय सुरक्षामा लगानी विस्तार गरिरहेका छन्, प्रतिस्पर्धी राष्ट्रलाई रोक्नकै लागि भए पनि उनीहरूले यस्तो गरिरहेका छन् । तर यस्ता खर्चले सरकारी प्राथमिकता फेरबदल गर्न सक्छ, बजेट घाटा बढाउन सक्छ र ऋण मूल्यांकनमा दबाब पर्न सक्छ ।
यो प्रवृत्ति चार वर्षअघि सुरु भएको मानिन्छ, जब रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिट्टै कब्जा गर्न नसकेपछि देशको अर्थतन्त्रलाई सैनिक केन्द्रित बनाएका थिए । विश्लेषकका अनुसार आज रूसले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को सात प्रतिशतभन्दा बढी सैन्य क्षेत्रमा खर्च गरिरहेको छ, जसले प्रतिबन्ध र युद्धको लागत हुँदाहुँदै पनि अर्थतन्त्रलाई पूर्ण रूपमा धराशायी हुनबाट जोगाएको छ ।
रूस मात्र होइन, वासिङ्टन, ओटावा, युरोप र जापानसम्म युद्ध र सुरक्षासम्बन्धी खर्च दशकौँयता नदेखिएको स्तरमा पुगेको छ । यसको परिणामस्वरूप अभाव, मूल्यवृद्धि र आर्थिक दबाब विश्वभरका व्यवसाय र उपभोक्ताले महसूस गर्न थालेका छन् ।
अर्थशास्त्री मिल्टन फ्राइडम्यानको भनाइलाई उधारो लिँदै भन्न सकिन्छ, ‘हामी अहिले सबै युद्धकालीन अर्थतन्त्रमा बाँचिरहेका छौँ ।’
उसो के युद्ध सधैं नराम्रै हुन्छ त ? युक्रेन, लेबनान, गाजा र रूसका धेरै भागमा युद्धको परिणाम मृत्यु, चोटपटक र विनाश हो । इरानजस्ता देशले त हिंसात्मक दमन र आर्थिक संकटबीच अझ कठिन पुनर्निर्माणको सामना गरिरहेका छन् ।
तर युद्ध क्षेत्रबाट टाढा, विशेष गरी युरोपमा, तस्वीर अलि फरक छ । शीतयुद्धपछि युरोपले रक्षा खर्च घटाएर सामाजिक कल्याण र सार्वजनिक योजनामा बढी लगानी ग¥यो । त्यसले केही समय समृद्धि ल्यायो तर आर्थिक वृद्धि पनि सुस्त भयो ।
सन् १९८०–९० को दशकमा २–३ प्रतिशतको आर्थिक वृद्धि हुने युरोप अहिले करिब १ प्रतिशतमा अड्किरहेको छ । अमेरिकामा भने रक्षा खर्च निरन्तर उच्च भएकाले प्रविधि विकासमा सहयोग पुग्यो । विशेष गरी कृत्रिम बुद्धिमत्ताजस्ता क्षेत्रमा उछाल आउनुका पछाडि अमेरिकाले संसारका विभिन्न क्षेत्रमा लडिरहेको युद्धको भूमिका पनि उत्तिकै बढी छ ।
अब नेटो सदस्य राष्ट्रहरूले जीडीपीको ५ प्रतिशतसम्म रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि स्वास्थ्य, कल्याण र संस्कृतिजस्ता क्षेत्रमा कटौती गर्नुपर्ने हुन सक्छ । तर केही अर्थशास्त्रीका अनुसार यसमा सकारात्मक पक्ष पनि छ, सैनिक उत्पादनले रोजगारी सिर्जना गर्न सक्छ, विशेष गरी संकटमा परेको उद्योग क्षेत्रमा ।
उदाहरणका लागि, युरोपको कार उद्योग चीनसँग प्रतिस्पर्धामा कमजोर हुँदै गएको छ । सैनिक उद्योगले त्यहाँबाट बेरोजगार भएका कामदार र इन्जिनियरलाई काम दिन सक्छ । यदि यस्तो खर्चले रूसलाई आक्रमणबाट रोक्न मद्दत गर्छ भने, यो खर्च उपयोगी मान्न सकिन्छ । शीतयुद्धको समयमा नेटोले ठूलो खर्च गरे पनि त्यसले जेट विमान, इन्टरनेट, अन्तरिक्ष प्रविधि र स्याटेलाइट नेभिगेसनजस्ता आविष्कार गर्न सफल भयो ।
ब्रसेल्सको फ्री युनिभर्सिटीका अर्थशास्त्र प्राध्यापक गुन्ट्राम वोल्फका अनुसार रक्षा खर्च बढ्दा दीर्घकालीन आर्थिक वृद्धि सम्भव छ । अनुसन्धान र तालिममा लगानीले नयाँ उद्यमी र नयाँ प्रविधि जन्माउन सक्छ । तर यसका नकारात्मक पक्ष पनि छन् । सैनिक खर्चले कच्चा पदार्थ हतियारमा प्रयोग हुने भएकाले उपभोक्तालाई दह्रो असर पर्न सक्छ । खाद्यवस्तु लगायत कम हुन सक्छन् र मूल्यवृद्धि चर्किन सक्छ । सरकारले बढी ऋण लिँदा ब्याजदर बढ्छ, जसले घरपरिवार र व्यवसायलाई असर गर्छ ।
सैनिक उपकरण उत्पादनशील सम्पत्तिजस्तो हुँदैन । कि त ती प्रयोग भएर सकिन्छन् कि त भण्डारणमै थुप्रिन पुग्छन् । 
इतिहासले देखाएको छ— अमेरिका दुवै विश्वयुद्धपछि अझ धनी बनेको थियो ।
सन् १९४० मा १४.६ प्रतिशत रहेको बेरोजगारी १९४४ मा १.२ प्रतिशतमा झ¥यो । १९४५ सम्म अमेरिका विश्वको आधा जीडीपी उत्पादन गर्ने देश बनेको थियो । सैनिक अनुसन्धानबाट स्टील उद्योग, कम्प्युटर, प्लास्टिक सर्जरी र अहिले कृत्रिम बुद्धिमत्ता, क्वान्टम कम्प्युटिङ र ड्रोन प्रविधि विकसित भएका छन् ।
दक्षिण कोरियाले युद्धको स्थायी जोखिमबीच हतियार निर्यात उद्योग विकास गरेको छ । इजरायलमा पनि सैन्य खर्चका कारण प्रविधि क्षेत्रमा ठूलो लगानी भएको छ । अमेरिकाले रक्षा बजेट १.५ ट्रिलियन डलरसम्म पु¥याउने योजना बनाइरहेको छ । चीनले विश्वकै ठूलो नौसेना बनाउँदै व्यापारिक जहाज उद्योग पनि विस्तार गरिरहेको छ ।
तर इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ, सैनिक खर्चको आर्थिक प्रभाव सधैं अनुमान गर्न सकिँदैन । भियतनाम युद्धको समयमा अमेरिका आर्थिक उछालपछि मुद्रास्फीति र संकटमा प¥यो । सोभियत संघ अत्यधिक सैन्य खर्चका कारण कमजोर बन्न पुग्यो ।
फ्रान्सेली क्रान्तिको एउटा कारण पनि युद्ध खर्च नै थियो ।
राजा लुई सोह्रौँले अमेरिकालाई सहयोग गरेर इंग्ल्याण्डलाई कमजोर बनाए, तर अन्ततः आफ्नै शासन गुमाए । यो खर्चको अन्तिम लाभ अमेरिकाले पायो । त्यसैले युद्ध शुरू गर्नेले सधैँ र सबै फाइदा पाउँछ भन्ने छैन ।
(ड्यानियल माइकल्स र टम फेयरलेसको रिपोर्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्