नेभिगेशन
अर्थतन्त्र

विद्यालयमा अर्थशास्त्रभन्दा व्यक्तिगत वित्त शिक्षा प्राथमिकतामा जरूरी

न्यूयोर्क  । अमेरिकामा विद्यालय शिक्षाको पाठ्यक्रममा महत्त्वपूर्ण परिवर्तन देखिन थालेको छ । अर्थशास्त्र (इकोनोमिक्स) भन्दा व्यक्तिगत वित्त (पर्सनल फाइनान्स) सम्बन्धी पढाइलाई प्राथमिकता दिन थालिएको छ । नयाँ प्रतिवेदनअनुसार धेरै राज्यहरूले विद्यार्थीलाई स्नातक हुनका लागि व्यक्तिगत वित्तको पाठ्यक्रम अनिवार्य बनाउन थालेका छन् ।
काउन्सिल फर इकोनोमिक एजुकेसनले सार्वजनिक गर्न लागेको प्रतिवेदनअनुसार अहिले अमेरिकाका ३९ राज्यले हाईस्कूल उत्तीर्ण हुन व्यक्तिगत वित्तको विषय अनिवार्य गरेका छन् । सन् २०२४ पछि मात्र चार राज्यले यस्तो व्यवस्था थप गरेका हुन् । यसको विपरीत अर्थशास्त्र पढ्न अनिवार्य गर्ने राज्यको संख्या घटेर २२ मा पुगेको छ, जुन २०२४ भन्दा चार कम हो ।
टेक्सास, क्यालिफोर्निया र इन्डियाना जस्ता ठूला राज्यहरूले अलग्गै अर्थशास्त्र पढाउने व्यवस्था हटाएर त्यसको सट्टा व्यक्तिगत वित्त पढ्नुपर्ने नियम लागू गरेका छन् ।
व्यवहारिक ज्ञानलाई प्राथमिकता
सीमित स्रोत र समयका कारण राज्यका शिक्षा विभागहरूले सैद्धान्तिक विषयभन्दा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन थालेका छन् । यही प्रवृत्ति प्राविधिक तथा सीपमूलक कक्षाहरूतर्फ पनि देखिएको छ, किनभने ब्लु–कलर (हातले गर्ने काम) रोजगारी बढ्दै गएको छ भने ह्वाइट–कलर रोजगारीको वृद्धि सुस्त भएको छ ।
पहिलेका समय घरेलु अर्थशास्त्र (होम इकोनोमिक्स) विषयमा केही वित्तीय ज्ञान समेटिने गथ्र्यो । तर अहिले विद्यार्थीहरूले विद्यालयबाट निस्किने बित्तिकै ऋण, लगानी, बीमा, कर र खर्च व्यवस्थापन जस्ता कठिन निर्णय गर्नुपर्ने भएकाले व्यक्तिगत वित्त शिक्षा आवश्यक ठानिएको हो ।
आजका युवाहरू मध्ये धेरैले आफैं व्यवसाय गर्न चाहन्छन् भने केहीलाई खेल सट्टेबाजी (स्पोट्र्स बेटिङ) जस्ता वित्तीय जोखिमसँग पनि जुध्नुपरेको छ । त्यसमाथि अमेरिकामा विद्यार्थी ऋण १.७ ट्रिलियन डलर पुगेपछि हाईस्कूलमै विद्यार्थीहरू कलेजका खर्चबारे गम्भीर हुन थालेका छन् ।
कक्षामा वास्तविक जीवनको हिसाब
ब्रुकलिन प्रिपरेटरी हाईस्कूलमा व्यक्तिगत वित्त पढाउने शिक्षिका डायना इसर्नले विद्यार्थीलाई आफू पढ्न चाहेको कलेजको खर्च, छात्रवृत्ति, ऋण र भविष्यको आम्दानी तुलना गर्न लगाउँछिन् ।
विद्यार्थीहरूले ६ प्रतिशत ब्याजदर राखेर छात्र ऋणको मासिक किस्ता गणना गर्दा ३०० डलरदेखि १,७०० डलरसम्मको रकम देखिएको थियो ।
त्यसपछि विद्यार्थीहरूले सम्भावित तलब, कर, घरभाडा, खर्च र ऋण जोडेर आफ्नो भविष्यको बजेट बनाउँछन् ।
१७ वर्षीया येलिन एस्पिनोसाले कनेक्टिकट कलेजबाट पढेपछि मासिक ३३३ डलर तिर्नुपर्ने अनुमान गरेकी छिन् । उनले व्यक्तिगत वित्तको कक्षा लिन आफ्नो समयतालिका नै परिवर्तन गरेको बताइन् ।
उनले भनिन्, ‘अर्थशास्त्रको कक्षा गाह्रो हुन्छ भन्ने धेरैले भन्छन्, तर यो कक्षा भने जीवनमा काम लाग्ने छ ।’
अर्थशास्त्रको साटो वित्त शिक्षाको विस्तार
न्यूयोर्क राज्यमा अहिले अर्थशास्त्र पढ्न अनिवार्य भए पनि आगामी शरद ऋतुदेखि व्यक्तिगत वित्त पनि अनिवार्य बनाइने भएको छ । यस विषयमा लगानी, कर, घरजग्गा, बचत र बजेट व्यवस्थापन जस्ता विषय पढाइन्छ ।
१९४९ मा स्थापना भएको काउन्सिल फर इकोनोमिक एजुकेसनले लामो समयदेखि विद्यालयमा अर्थशास्त्र शिक्षा बढाउने प्रयास गर्दै आएको थियो । धेरै अनुसन्धानकर्ताहरूका अनुसार अर्थशास्त्रले नागरिकलाई समाज र बजार बुझ्न मद्दत गर्छ । तर २००७–०९ को आर्थिक मन्दीपछि वित्तीय शिक्षाको माग तीव्र भएको हो ।
भर्मन्टको च्याम्प्लेन कलेजस्थित वित्त साक्षरता केन्द्रका निर्देशक जोन पेलेटियरका अनुसार, ‘अर्थशास्त्र रोचक हुन्छ, तर क्रेडिट स्कोर के हो, ऋण कसरी कम गर्ने, ब्याज कसरी घटाउने भन्ने कुरा जान्नु मानिसको जीवनमा अझ बढी उपयोगी हुन्छ ।’
वित्त शिक्षा लिएका विद्यार्थीको निर्णय राम्रो
न्यूयोर्क फेडरल रिजर्भ बैंकको अध्ययनअनुसार हाईस्कूलमा वित्त शिक्षा अनिवार्य रूपमा लिएका विद्यार्थीहरूले महामारीको समयमा राम्रो वित्तीय निर्णय लिने सम्भावना बढी देखिएको छ ।
त्यस्ता व्यक्तिले महँगो क्रेडिट कार्ड ऋण घटाउने, कम ब्याजमा ऋण पुनःव्यवस्था गर्ने जस्ता निर्णय बढी गरेका थिए ।
तर चुनौती पनि छन् । व्यक्तिगत वित्त पढाउने शिक्षकका लागि अनिवार्य तालिम छैन । धेरै ठाउँमा एक जना उत्साही शिक्षकले आफैं पाठ्यक्रम बनाउने गरेका छन् ।
इन्डियानाका शिक्षक स्कट सिवर्सले २० वर्षअघि आफ्नै पहलमा व्यक्तिगत वित्त पढाउन थालेका थिए । सन् २०२३ मा इन्डियानाले सबै विद्यार्थीलाई एक सेमेस्टर व्यक्तिगत वित्त पढ्न अनिवार्य बनायो र त्यसको एक वर्षपछि अर्थशास्त्रको अनिवार्यता हटायो ।
राज्य शिक्षा विभागका अनुसार, ‘हरेक विद्यार्थीले आफ्नो भविष्यको पेशा जेसुकै भए पनि वास्तविक जीवनका आर्थिक निर्णय बुझ्नैपर्छ ।’
जीवनभर काम लाग्ने शिक्षा
शिक्षक सिवर्सका अनुसार उनका धेरै पूर्वविद्यार्थीहरूले कलेज सकेपछि पनि उनलाई फोन गरेर पेन्सन योजना (फोर जीरो वन के) बनाउने वा कार किन्ने सम्झौता कसरी गर्ने भनेर सल्लाह माग्ने गरेका छन् ।
यसले विद्यालय शिक्षामा नयाँ प्रवृत्ति स्पष्ट देखाएको छ  । अर्थतन्त्र बुझ्नुभन्दा पैसा कसरी चलाउने भन्ने सिक्नुलाई अहिले बढी आवश्यक ठानिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्