उपवास बस्ने बारेमा धर्म र चिकित्सा विज्ञानको बोली मिल्छ । अर्थात् दुवैले उपवास स्वीकार गरेका छन् । तर कारण भने फरक छन् । धर्मले उपवासलाई संस्थागत गर्ने क्रममा फरकपना देखिएको हो । त्यसो हुनुमा भूगोल कारक छ । अध्ययन गर्नेको ज्ञान फरक छ । विधि फरक छ । मान्यता फरक छ । त्यसैले गर्दा धर्मैपिच्छे फरक कारणहरू भेटिन्छन् । चिकित्सा विज्ञान भन्छ— उपवासले मेटाबोलिक अव्यवस्थता अर्थात् मेटाबोलिक डिस्अर्डरलाई व्यवस्थित गराउँछ । कार्डियो भास्कुलरमा सुधार हुन्छ । शारीरिक उचाइ तथा तौल; बीएमआईलाई सन्तुलनमा ल्याउँछ । कम्मरको मोटाइ मिलाउँछ । शरीरमा चिनीको मात्रा सन्तुलनमा ल्याउँछ । ट्रिग्लेसिरडे कम गर्छ, अर्थात् कोलोस्टेरलको तह मिलाउँछ । सिस्टोलिक ब्लड प्रेसर सन्तुलनमा ल्याउँछ । अध्ययनले भन्छ– मुस्लिमको रमदानको उपवास तल्लो सिस्टोलिक ब्लड प्रेसर सन्तुलनमा ल्याउन उपयोगी भएको देखिन्छ । अर्थाेडक इसाइको उपवासले लिपिड प्रोफाइल र कोलोस्टेरोल सन्तुलनमा ल्याउँछ । सोही कुरा हिन्दु तथा वुद्धमार्गीको उपवासमा पनि लागू हुन्छ । अन्ततोगत्वा कार्डियो भास्कुलर रोगबाट बचाउन उपवासले मद्दत गर्छ ।
विज्ञान भन्छ– शरीरमा सेलहरू जन्मन्छन्, मर्छन् । मरेका सेललाई शरीरले हटाउँछ । जन्मेका सेललाई बच्न र बढ्न मद्दत गर्छ । अनि आयु लम्ब्याउँछ । दीर्घरोगी हुनबाट बचाउँछ । इन्सुलिनको मात्रा ठीक गर्छ । हार्माेनको तह बढाउँछ । बोसो पगाल्छ । यसरी उपवासले जीवित सेलहरूको संवर्धन गर्छ । मरेका सेलहरू शरीरबाट बाहिर निकाल्छ ।
विज्ञानले प्रमाणित गरेको छ कि उपवासले एन्टी इन्फ्लेम्मेन्टेसनको काम गर्छ । परिणामतः हाम्रो संज्ञानात्मक क्षमता बढ्छ । मोटोपना घट्छ । बुढिने प्रक्रिया घट्छ । क्यान्सर, मुटुरोग र इन्फेक्सनबाट बचाउँछ । चिडचिडाहट तथा डिप्रेसनको तह घटाउँछ । शरीरमा डोपामिन तथा सेराटोनिनको मात्रा बढाउँछ । परिणामतः शरीर पुलकित हुन्छ । मुहारमा मुस्कान आउँछ ।
उपवासले निम्त्याउने जोखिम
उपवासले ब्लड प्रेसर र कोलोस्टेरोल सन्तुलनमा ल्याउँछ भन्ने कुरामा सबै अध्ययन सहमत छन् । तर तिनीहरूले खतरा निम्त्याउने कुरामा पनि सचेत गराएका छन् । पहिलो जोखिम हो– उपवासले शरीरमा पोषण तŒवको कमी गराउँछ । थकान ल्याउँछ । टाउको दुखाउँछ । कोलोस्टेरोल बढ्ने डर हुन्छ । मधुमेह भएकालाई उपवास बस्नु खतरनाक पनि हुन्छ । किनकि उपवासले ब्लड सुगर घटाउँछ । उपवास बस्ने बुढाबुढीको मांसपेसी कमजोर बनाउँछ । सुताइ कम गराउँछ । यो कुरा बुझेर नै सबै धर्मले बिरामी, बुढाबुढी, गर्भवती, बालबालिकाहरूलाई उपवास बस्नुपर्दैन भनेको छ ।
उपवासमा धर्महरूको जिकिर
उपवासलाई संस्थागत गर्न धर्महरूले विभिन्न जिकिरहरू गरे । उनीहरूले भने– उपवास बस्नाले ईश्वरमा भक्ति बढ्छ । शरीरमा अध्यात्मिकताको निरन्तरता हुन्छ । भौतिक सुख समृद्धिका लागि मरिहत्ते गर्ने मानसिकता घट्छ । ध्यानमा एकाग्रता बढछ । सामाजिक सद्भाव वृद्धि हुन्छ । शरीरले अतिरिक्त ऊर्जा पाउँछ । खञ्चुवा तथा खञ्चुरो हुने बानी नियन्त्रित हुन्छ । शरीर स्वस्थ्य हुन्छ ।
अब्राहमिक धर्ममा मुस्लिम, यहुदी तथा इसाई पर्छन् । मुस्लिमको विश्वासअनुसार रमदान महिनाको उपवासले भोकाहरूप्रति समानुभूति जगाउँछ । स्वअनुशासित बन्न सिकाउँछ । अल्लाहसँग एकाकार गराउँछ । समुदायसँग ऐक्यबद्धता सुनिश्चित गर्छ । ४० दिने शुक्रबार मासु नखाने जस्ता इसाईका विश्वासमा उपवासले त्याग सिकाउँछ । गल्तीमा पश्चात्ताप गर्ने बानी बसाउँछ । आध्यात्मिक रूपले पुनर्जागृत गर्छ । मानवताको विकास गर्छ । नैतिक जीवन जिउने कला सिकाउँछ । यहुदीको विश्वासमा २५ घण्टे उपवासले प्रेम बढाउँछ । ईश्वरसँगको सान्निध्यता कायम हुन्छ । सामूहिक पीडाबोध तथा सामूहिक न्यायका लागि मानवलाई जिम्मेवार बनाउँछ ।
ओमकार परिवारमा हिन्दु, बौद्ध, किरात, जैन, शिख आदि पर्दछन् । हिन्दुले प्रत्येक १५ दिनमा उपवास बस्ने अभ्यास गरे । उनीहरूको भनाइमा उपवासले अध्यात्ममा रमाउन सिकाउँछ । भौतिक सुखमा मरिहत्ते गर्ने बानी घटाउँछ । चित्त शान्त गर्छ । शरीर शुद्ध बनाउँछ । ईश्वरत्व प्राप्त गराउँछ । बुद्ध धर्ममा मध्याह्नपछि ठोस वस्तु नखाने उपवासको प्रणाली छ । त्यसबाट उनीहरूको के दाबी छ भने यस्तो उपवासले मन शान्त हुन्छ । दयाभाव बढ्छ । ध्यान एकत्रित हुन्छ । नैतिक जीवन जिउने तागत आउँछ । यसबाहेक जैन धर्ममा त सन्थाराजस्तो नमरुन्जेल उपवास बस्ने पनि चलन छ । किरातहरू बेलाबखतमा उपवास बस्छन् । शरीर तथा मन शुद्ध हुन्छ भन्ने उनीहरूको विश्वास हो । साकेला वा सिली नाचमा चाहिँ उपवास नबसे पनि हुने नियम छ । शिख धर्ममा उपवासको रीत छैन । तर उनीहरू दिनहुँ ठीक्क खाना खानुपर्छ भन्ने कुरालाई अभ्यासमा ल्याउँछन् । महिलाहरूले चाहिँ अहोइ भन्ने उपवास बस्छन् । पतिको सुख, दीर्घायु तथा समुन्नतिका लागि यस्तो उपवास बस्ने चलन छ ।
बहाइ धर्ममा मार्च महिनामा १९ दिन बिहानदेखि सूर्यास्तसम्म उपवास बस्ने चलन छ । यसबाट आध्यात्मिक क्षमता बढ्छ । शरीर शुद्ध हुन्छ । ईश्वरसँगको समीप भइन्छ भन्ने उनीहरूको विश्वास छ ।
समग्रमा सबै सम्प्रदायको धार्मिक जिकिर के छ भने उपवासले शरीर तथा मन शुद्ध हुन्छ । आध्यात्मिक चेतना बढ्छ । दानदातव्यबाट असमानता घटाउने संस्कार बन्छ । ब्रह्मऊर्जा प्राप्त हुन्छ । सामुदायिक सद्भाव बढ्छ ।
उपवासमा भिन्न अभ्यास हुने कारण
चारवटा कारणले उपवासका संस्कार फरक देखिन्छ । पहिलो, दार्शनिक आधार हो । दोस्रो, ऐतिहासिक आधार हो । तेस्रो, सांस्कृतिक आधार हो । चौथो, शास्त्रीय आधार हो । दार्शनिक आधारलाई पछ्याएर इस्लामले कुरानमा उल्लेख गरिएको रमदानको पूर्णचन्द्रलाई आधार मान्यो । त्यतिबेला ईश्वरीय चेतना बढ्छ भन्ने विश्वास लियो । यसैले अल्लाहलाई कृतज्ञता ज्ञापन गर्ने उपयुक्त अवसर मान्यो । इसाइले जिजसले ४० दिन भोेकभोकै भौंतारिएको कुराको सम्झनामा उपवास बसे । पश्चात्ताप गरे । इस्टरको तयारी गरे । आगामी दिनमा उत्साहसाथ काम गर्ने विश्वास गरे । यहुदीले मोजेजको माउन्ट सिनाइको सम्झना गरे । योम किप्पुरमा २५ घण्टे उपवास पनि बसे । पश्चात्ताप गर्न । शुद्ध बन्न ।
हिन्दु र जैनले कर्मशुद्धिका लागि उपवास बसे । अहिंसक बन्न उपवास बसे । आध्यात्मिक मुक्तिका लागि उपवास बसे । आधा दिन बसे पनि, पूरा दिन बसे पनि, मौसमी उपवास भए पनि, आवधिक उपवास भए पनि ऐतिहासिक आधार पछ्याउनेले आआप्mना संस्कारका भगवान वा महापुरुषका अभ्यासलाई निरन्तरता दिन उपवास बस्ने चलन चलाए । मुस्लिमहरूले नवीको अनुशरण गरे । इसाइले जिजसको । यहुदीले मोजेजको । बौद्धमार्गीले बुद्धको । हिन्दुले राम, कृष्ण आदिको । जैनले महावीरको । शिखले गुरु नानकको । बहाइले बहाउल्लाहको ।
सांस्कृतिक आधार लिनेहरूले टोला खोलाको चलनको अनुशरण गरे । यो चलनले एउटै संस्कृतिमा पनि भिन्न–भिन्न अभ्यासको उपवास देखिन्छ । यसमा भूगोलको असर हुनसक्छ । जस्तो गर्मी स्थानका धर्मावलम्वीले उपवास बस्ता नुहाउने चलन बनाए । जाडो स्थानका बासिन्दाले अर्कै तरीका अपनाए । कतिपयले चाहिँ दार्शनिक आधारलाई कडाइका साथ पालना गरे । कतिले त्यसमा फेरबदल गरे । उपवास बस्दा यो खाने यो नखाने, यतिबेला खाने, यसरी खाने भन्ने चलन हुनुमा मौसमको कारण हो ।
सांकेतिक आधारमा हेर्दा त्यागले कारक भूमिका खेलेको देखिन्छ । कहाँ के छोडने ? कतिबेलादेखि कति बेलासम्म नखाने ? यसका लागि इस्लाम र इसाइले सूर्योदय र सूयास्तलाई आधार माने । यहुदीले २४ घण्टालाई आधार माने । हिन्दुले आधा दिनको चिन्तन ल्याए । केही इसाइ समुदायमा पनि यो चिन्तनको असर देखिन्छ । उपवासमा कसैले पानी पनि खादैनन् । कसैले पानी खाए पनि हुन्छ भन्ने गरेको कुरा यसबाटै प्रमाणित हुन्छ ।
हिन्दुले उपवासका लागि चान्द्रायण पछ्याए । त्यसैले लामो अवधिको उपवास बसेनन् । तर छोटो अवधिको उपवासलाई निरन्तरता दिए । मुस्लिमले लामो अवधिको उपवासलाई अनिवार्य रुपमा आत्मसात गरे । हिन्दुले उपवासमा तामसी तथा राजसी खाना खाएनन् । तिनले स्वेच्छालाई आधार बनाए । इसाइले मासु र रक्सी पनि खाए । यसो गर्दा चर्चको नियम अपनाए । मुस्लिमले उपवास बस्ता पानी पनि खाएनन् । रातमा चाहिँ प्रति दिन खजूर, प्रूmटचाट, समोसा, पकौडा, दहीबाडा, विरियानी, कबाब अथवा घरको सामान्य खाना खाए । तिनले हिजरी पात्रोको अनुशरण गरे । इस्लामका पाँच खम्बाको आधार लिए । बौद्धमार्गीले उपवासलाई अनिवार्य मानेनन् । थेरवादी बौद्धले मध्याह्नपछि नखाने नियमको अनुशरण गरे । तिब्बतीयन महायानीले चाहिँ २÷३ दिन निराहार बस्ने नियम बनाए ।
निचोड
समग्रमा भन्दा उपवासमा अति घटाउने साझा सोच देखिन्छ । धेरै खाना खायौं । खाना घटाऔं । धेरै पानी खायौं । पानी घटाऔं । धेरै मासु खायौं । मासु घटाऔं । सात्विक बनौं । त्यसका लागि नियम पनि बनेका छन् । एकैपटक घटाउने । केही दिनको अन्तरालमा घटाउने । दिनहुँ घटाउने । यहुदी, इसाइ तथा मुस्लिमहरू अब्राहमका सन्तति हुन् । तिनले एकैपटक अति घटाउने नियम बनाए । हिन्दुले केही दिनको अन्तरालमा अति घटाउने अभ्यास गरे । बौद्धले प्रतिदिन मध्याह्नपछि ठोस वस्तु नखाने नियम बनाए । यसरी अतिको व्यवस्थापन गरे ।
यही कुरा चिकित्सा शास्त्रीय अभ्यासमा पनि लागू हुन्छ । प्रोटिन धेरै भयो । गेडगुडी र मासु छोड । कार्बस धेरै भयो भात र आलु छोड । युरिनरी ब्लाडरलाई बोझ भयो पानीको मात्रा घटाउ । यी सबै उपवासको चिन्तनको निचोड हो– शरीरलाई सन्तुलनमा राख्नु । यसका लागि ऋग्वेद (१०—९०) ले सूत्र दिएको छ । चरक संहिता, सुश्रुत संहिता, अष्टांग हृदयजस्ता ग्रन्थहरूले त्यसकै अनुशरण गरेर षड्रसको चिन्तन दिएका छन् । ६ वटा रसको सन्तुलन– तीतो, टर्राे, नुनिलो, अमिलो, गुलियो, पीरो । मानव शरीरमा हुने यिनै षड्रसको सन्तुलनका लागि उपवास बस्नुपर्छ । धार्मिक संस्कृति माने पनि, आर्थिक संस्कृति माने पनि, चिकित्सकीय संस्कृति माने पनि, फर्ज ठाने पनि, फर्ज ए कफाया माने पनि उपवासको विशाल छ ।
(लेखक वरिष्ठ शिक्षाविद् हुन् ।)