नेभिगेशन
दृष्टिकोण

राखेप र एन्फाको चेपुवामा फुटबल

नेपालको फुटबल अहिले मैदानमा भन्दा बढी कागज, कुर्सी र शक्तिको खेलमा अल्झिएको देख्दा एक आम नागरिकको मन अत्यन्तै दुख्छ । खेलले उत्साह, एकता र स्वास्थ्य दिनुपर्ने हो तर यहाँ त उल्टै निराशा, अन्योल र आक्रोश मात्रै बढाइरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादले नेपाली फुटबललाई यस्तो मोडमा ल्याइदिएको छ जहाँ खेलभन्दा राजनीति हावी भएको स्पष्ट देखिन्छ ।
हालै देखिएको घटनाक्रमले यो पीडा झनै गहिरो बनाएको छ । नयाँ प्रशिक्षक आएर टिमलाई तयार पार्ने, घरेलु मैदानमा खेल्ने अवसर सिर्जना गर्ने र समर्थकलाई उत्साहित बनाउने समय थियो । तर दशरथ रंगशाला विवाद, हङकङसँगको मैत्रीपूर्ण खेल रद्द हुनु, अनि लाओसविरुद्धको खेलसमेत अनिश्चित बन्नु— यी सबै घटनाले हामी कहाँ उभिएका छौं भन्ने प्रश्न गम्भीर बनाएको छ । खेलाडीहरू खेल्न तयार छन्, प्रशिक्षक योजना बनाइरहेका छन् तर नेतृत्वको खिचातानीले सबै प्रयास निरर्थक बनाइरहेको छ ।
राखेपले एन्फालाई निलम्बन गर्ने निर्णय र एन्फाले त्यसलाई ‘हस्तक्षेप’ भनेर अन्तर्राष्ट्रिय निकायसमक्ष गुनासो गर्नुले समस्या झनै जटिल बनाएको छ । यस्तो अवस्थामा फिफा वा एएफसीबाट सम्भावित निलम्बनको खतरा झन् डरलाग्दो छ । यदि त्यस्तो भयो भने नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन, विदेशी टोलीहरू यहाँ खेल्न आउने छैनन् र फुटबलको विकास पूर्ण रूपमा ठप्प हुनेछ । यो केवल संस्थागत समस्या होइन, यो त लाखौं समर्थकको भावना र हजारौं खेलाडीको भविष्यसँग जोडिएको विषय हो ।
अहिले क्रिकेटले विश्वस्तरमा नेपालको पहिचान बनाइरहेको बेला फुटबल भने आफ्नै घरभित्रको विवादमा फसेको छ । क्रिकेटले अनुशासन, योजना र नेतृत्वमार्फत सफलता पाइरहेको छ भने फुटबलमा भने राजनीति मात्र भइरहेको छ । यस्तो अवस्थाले खेलप्रेमी युवाहरूमा गहिरो निराशा पैदा गरेको छ । उनीहरूलाई प्रेरणा दिनुपर्ने खेलले नै उनीहरूलाई हतोत्साहित बनाइरहेको छ ।
विदेशी लगानी, प्राविधिक सहयोग र विकासका अवसरहरू पनि यस्तै अव्यवस्थाका कारण बालुवामा पानीझैं भइरहेका छन् । सरकारले खेलकुदका नाममा खर्च गर्ने बजेट पनि प्रभावकारीरूपमा उपयोग हुन सकेको छैन । जब नेतृत्व नै विवादमा अल्झिन्छ तब योजना, कार्यक्रम र विकासका सबै ढोका बन्द हुन्छन् । अन्ततः घाटा कसलाई ? देशलाई, खेलाडीलाई र आम जनतालाई नै त हो । चिन्ताजनक कुरा के हो भने खेलकुद, जसले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनुपर्छ, त्यही खेलकुदले अहिले युवाहरूमा तनाव र निराशा बढाइरहेको छ । यो अवस्था कुनै पनि समाजका लागि राम्रो संकेत होइन । खेलले एकता ल्याउनु पर्नेमा विभाजन बढाउनु, प्रेरणा दिनुपर्नेमा निराशा फैलाउनु हाम्रो नेतृत्वको असफलताको प्रमाण हो ।
तर राम्रो काम गर्न कहिल्यै अबेला हुँदैन भन्ने त आहान नै छ । अब पनि समय छ, राखेप र एन्फा दुवैले आफ्नो अहंकार त्यागेर, संवाद र सहकार्यको बाटो रोज्ने । खेललाई राजनीति गर्ने माध्यम होइन, राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्ने बेला आएको छ । यदि यति पनि गर्न सकिएन भने, भोलिका दिनमा नेपाली फुटबल केवल सम्झनामा मात्र सीमित हुनेछ, जहाँ कहिल्यै पूरा हुन नसकेका सम्भावनाहरूको कथा मात्रै बाँकी रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
नयाँ सरकार, नयाँ दिशा

नयाँ सरकार, नयाँ दिशा

शैक्षिक समस्याको सहज निकास

शैक्षिक समस्याको सहज निकास

संयम, विधि र जिम्मेवारी

संयम, विधि र जिम्मेवारी