नेभिगेशन
अर्थतन्त्र

नकारात्मक हल्लाको वास्तविकता फुकाउन सम्मेलन महत्वपूर्णः बेचेन गिरी, कार्यकारी प्रमुख, स्वावलम्बन विकास केन्द्र

यो प्रत्येक दुई वर्षमा आयोजना गरिने राष्ट्रिय स्तरको लघुवित्त सदस्य सम्मेलन हो । यस सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई, पहाड र हिमाली क्षेत्रका सदस्यहरूको व्यापक सहभागिता सुनिश्चित गरिएको छ । हालसम्म सहभागी जिल्लाहरूको यकिन संख्या तय नभए पनि करिब ५५ जिल्लाबाट प्रतिनिधित्व भएको अनुमान छ । यो कार्यक्रम विशेष रूपमा महिलालाई लक्षित गरेर सञ्चालन गरिएको हो, जसको नाम नै ‘राष्ट्रिय महिला लघुवित्त सदस्य सम्मेलन’ राखिएको छ ।
सहभागीहरूको संरचना हेर्दा करिब ७० प्रतिशत महिला सदस्य र बाँकी बोर्डका सञ्चालक तथा कर्मचारीहरू रहने व्यवस्था गरिएको थियो । तर, अहिलेको अवस्थामा यो अनुपात करिब ८० प्रतिशत महिला र २० प्रतिशत अन्य सहभागीको रूपमा देखिएको छ । हाल लघुवित्त क्षेत्रमा डिजिटल साक्षरता, उद्यमशीलता विकासजस्ता नयाँ प्रविधि र अवधारणाहरू भित्रिँदै गएका छन् । तर, यससँगै बजारमा लघुवित्तबारे विभिन्न नकारात्मक हल्ला पनि फैलिएका छन् । यस्ता हल्लाहरूको यथार्थ के हो भन्ने स्पष्ट पार्न र सदस्यहरूलाई वास्तविक जानकारी दिन यो सम्मेलन महत्वपूर्ण माध्यम बनेको छ । केही व्यक्तिले ‘कर्जा मिनाहा हुन्छ’ भन्ने भ्रममा परेर गलत धारणा बनाएको पाइन्छ । तर, वास्तविकता फरक छ– लघुवित्तले धेरै सदस्यहरूको जीवनस्तर उकासेको छ र समाजमा प्रतिष्ठा बढाएको छ । समस्याको मूल कारण सबै सदस्यहरू नभई केही व्यक्तिहरूको गलत अभ्यास हो ।
उखानमा भनिएझैँ एउटा खराब माछाले पूरै पोखरी दुर्गन्धित बनाउँछ । त्यस्तै, केही सदस्यले क्षमताभन्दा बढी कर्जा लिएर वा दुरुपयोग गरेर समस्या निम्त्याएका छन् । यसमा केही हदसम्म लघुवित्त संस्थाहरूको पनि कमजोरी देखिन्छ, जहाँ सदस्यको क्षमता नहेरी कर्जा प्रदान गरिएको छ । यो प्रक्रिया एक प्रकारको ‘चेन इफेक्ट’ जस्तै हो । सुरुमा कसैले कर्जा लिएर सफल व्यवसाय गर्छ, त्यसलाई देखेर अरूले पनि थप कर्जा लिन्छन् । सुरुका केही चरणसम्म यो सफल देखिए पनि पछि क्षमताभन्दा बढी कर्जा लिँदा समस्या आउन थाल्छ । त्यसमाथि ‘कर्जा मिनाहा हुन्छ’ भन्ने हल्लाले केही सदस्यहरूलाई जानीजानी कर्जा नतिर्ने प्रवृत्तितर्फ उक्साएको छ ।
सदस्यहरूलाई सही जानकारी दिन सदस्यकै भूमिका महत्वपूर्ण हुन्छ । कर्मचारीले भन्दा सदस्यले सदस्यलाई बुझाउँदा विश्वास बढ्छ । साथै, लघुवित्तमा सदस्यहरूको बचत पनि लगानी गरिएको हुन्छ । कर्जा लिने व्यक्तिले रकम फिर्ता नगरेमा बचतकर्तालाई पनि असर पर्छ । यसले सम्पूर्ण प्रणालीमा असर पार्ने भएकाले यसलाई चेन इफेक्टका रूपमा बुझ्न आवश्यक छ । लघुवित्त संस्थाहरूले दिने सम्पूर्ण कर्जा बचतबाट मात्र नभई बैंक तथा अन्य संस्थाबाट लिएको ऋणबाट पनि प्रदान गरिन्छ । त्यसैले कर्जा नतिर्दा अन्य वित्तीय संस्थाहरू र तिनका निक्षेपकर्ताहरू पनि प्रभावित हुन्छन् । यस प्रकारका कार्यक्रमहरूले सदस्यहरूमा चेतना अभिवृद्धि गर्ने र यथार्थ बुझाउने काम गर्छन् ।
सम्मेलनमा ‘क्रेडिट प्लस’ कार्यक्रम र ‘तीन शून्य’ अवधारणालाई अघि सारिएको थियो– शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन । यी लक्ष्यहरू केवल आर्थिक लगानीबाट मात्र सम्भव हुँदैनन्, यसका लागि सामाजिक रूपान्तरण आवश्यक हुन्छ । उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना हुन्छ, जसले गरिबी न्यूनीकरणमा योगदान पु¥याउँछ । एक व्यक्तिले रोजगारी पाएपछि ऊ आत्मनिर्भर बन्छ र अरूलाई पनि रोजगारी दिन सक्षम हुन्छ । यसरी क्रमशः समग्र समाजमा आर्थिक सशक्तीकरण हुँदै गरिबी निवारण सम्भव हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्