नेभिगेशन
अर्थतन्त्र

पाँच हजारबाट व्यवसाय सुरु गरेर ८ जनालाई स्थायी रोजगारी दिएकी छुः अञ्जलीकुमारी चौधरी, लघुवित्त सदस्य

मेरो जीवनको सुरुवात निकै संघर्षपूर्ण थियो । मैले १५ वर्षकै उमेरमा विवाह गरेँ । मेरा श्रीमान् १७ वर्षका हुनुहुन्थ्यो । हाम्रो मागी नभई भागी विवाह थियो, जसका कारण परिवारले हामीलाई स्वीकार गरेनन् । विवाहपछि हामी परिवारबाट अलग्गै बस्नुप¥यो । हामीले दाइभाउजू मानेको परिवारको आश्रय लिएर जीवन गुजार्दै थियौं । यो २०५७ सालतिरको कुरा हो । २०६० सालमा मेरो पहिलो सन्तान (छोरी) जन्मिइन् र २०६२ मा छोरा । त्यतिबेलासम्म मेरा श्रीमान्ले ज्यालामा दैनिक ८० रुपैयाँ कमाएर ल्याउनुहुन्थ्यो । त्यसैबाट गुजारा चलाउनुपथ्र्यो । हामी सानो झुपडीमा बसेका थियौं । त्यो पनि परिवारकै जग्गामा । अत्यन्त कठिन अवस्थामा थियौं ।
त्यही समयमा ‘जीवन विकास’ लघुवित्तका सरहरू हाम्रो घरअगाडि नै सदस्य बन्न आग्रह गर्नुहुन्थ्यो । सुरुमा मलाई त्यो कुनै बैठक वा औपचारिक कार्यक्रम जस्तो लाग्थ्यो । म पहिले कहिल्यै समूहमा परेकी थिइनँ तर सहभागी हुने इच्छा भने थियो । एकदिन मैले श्रीमानसँग कुरा गरें र म पनि जान्छु भनें । उहाँले समाजको डर देखाउँदै ‘हुँदैन’ भन्नुभयो । तर, म भोलिपल्ट गएँ । गएर कुरा बुझ्ने प्रयास गरें । लघुवित्तबाट आउनुहुने सरले यो केवल समूहमा बस्ने कुरा होइन, गरिब दिदीबहिनीलाई सीप सिकाएर व्यवसाय गर्ने बाटो देखाउने र ऋण दिने कार्यक्रम हो भन्नुभयो । ‘ऋण’ भन्ने शब्दले मेरो मनमा आशा जाग्यो, किनकि गाउँमा सानो रकम माग्दा पनि धेरै अप्ठ्यारो पथ्र्यो । त्यसपछि मैले श्रीमान् र केही साथीहरूलाई कुरा बुझाएँ । हामी समूहमा आबद्ध भयौं ।
मेरो पहिलो लगानी ५ हजार रुपैयाँ थियो । त्यसबाट १५०० रुपैयाँको काठ किनें, २०० रुपैयाँको भाँडाकुँडा र ३०० रुपैयाँको साइकल । त्यो साइकल आज पनि मैले सम्झनाको रूपमा सुरक्षित राखेकी छु । यही सानो सुरुवातबाट मैले १० हजार, १५ हजार, ४० हजार हुँदै १ लाख, २ लाख, ५ लाख, १० लाख गर्दै १५ लाख रुपैयाँसम्म लगानी पु¥याएँ । यस क्रममा ऋणसँगै बचतको व्यवस्था पनि थियो । सुरुमा १५ दिनमा १५ रुपैयाँ बचत गथ्र्यौं । पछि ऋण बढ्दै जाँदा बचत पनि बढ्दै गयो । केही वर्षपछि पेन्सन बचत, जीवन बीमा जस्ता विभिन्न बचत योजना आए । मैले हरेक ऋणसँगै नयाँ बचत खाता खोल्दै गएँ ।
पेन्सन बचत योजना विशेष रूपमा लाभदायक थियो । १५ वर्षमा सानो–सानो बचतबाट ठूलो रकम प्राप्त हुन्थ्यो । उदाहरणका लागि ५० रुपैयाँ बचत गर्दा ५० हजार, १०० रुपैयाँ गर्दा १ लाख, ५०० गर्दा ५ लाखसम्म पाइन्थ्यो । मैले आफैंले दुईवटा पेन्सन बचतको रकम प्राप्त गरिसकेकी छु । तर, अहिले यो योजना बन्द भएकोले केही दुःख लागेको छ । आज आएर मेरो व्यवसाय ‘काष्ठ फर्निचर उद्योग’का रूपमा विकास भएको छ । मैले दुईवटा घडेरी किनेकी छु । दुईतले पक्की घर बनाएकी छु । आफू पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षाका लागि बोर्डिङ स्कुलमा पढाएर विदेशसम्म पठाउन सफल भएकी छु ।
हाल मेरो स्वामित्वमा ट्याक्टर, काठ मिल र फर्निचर सोरुम छन् । मेरो उद्योगमा ८ जनालाई स्थायी रोजगारी दिएकी छु । अबको ६ महिनाभित्र थप १० जनालाई रोजगारी दिने योजना छ । यसरी, सानो ५ हजारको ऋणबाट सुरु भएको मेरो यात्रा आज आत्मनिर्भरता र सफलताको उदाहरण बनेको छ । लघुवित्त संस्था भएकै कारण आज हामीजस्ता बोल्न नजान्ने, अक्षरसमेत लेख्न नआउने सदस्यहरू पनि यहाँसम्म आइपुग्न सफल भएका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्