नेभिगेशन
अर्थतन्त्र

कुन देशसँग कति तेल सञ्चिति ?

इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि विश्वभर तेल र ग्यास आपूर्तिमा ठूलो अवरोध आएको छ । यही संकट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य देशहरूले आफ्नो रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा छोड्ने निर्णय गरेका छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल–इरान युद्धपछि तेहरानले होर्मुज जलडमरूमध्य हुँदै जाने जहाजहरूको आवागमन रोकिदिएको छ । यो मार्ग खाडी क्षेत्रबाट विश्वभर पठाइने करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यासको मुख्य समुद्री बाटो हो । खाडीका तेल उत्पादक देशहरूका लागि खुला समुद्रमा जाने यो एकमात्र जलमार्ग भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ ।
युद्धअघि करिब ६५ डलर प्रतिव्यारेल रहेको ब्रेन्ट क्रुड तेलको मूल्य १०० डलर नाघिसकेको छ । अमेरिका नेतृत्वले जलडमरूमध्य खोल्न दबाब दिए पनि सफल हुन सकेको छैन । सुरुमा पश्चिमी देशहरूलाई युद्धपोत पठाउन आग्रह गरिएको थियो, तर धेरैले प्रतिक्रिया दिएनन् । त्यसपछि अमेरिकाले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै मार्ग नखोले ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।
इरानले त्यसको जवाफमा इजरायल र अमेरिकी सैन्य आधारलाई विद्युत् आपूर्ति गर्ने केन्द्रहरूमा हमला गर्ने चेतावनी दियो । साथै ऊर्जा संरचनामाथि आक्रमण जारी रहे होर्मुज पूर्ण रूपमा बन्द गर्ने घोषणा गरियो ।
पछिल्ला तीन सातामा खाडी क्षेत्रमा भएका आक्रमणपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कुवेतले पनि तेल उत्पादन घटाएका छन्, जसले विश्व बजारमा थप चिन्ता बढाएको छ ।
यसबीच अमेरिकाले इरानका ऊर्जा केन्द्रमाथि हुने आक्रमण पाँच दिनका लागि रोक्ने निर्णय गरेको घोषणा ग¥यो र वार्ता भइरहेको दाबी ग¥यो, तर इरानले यस्तो वार्ता भएको अस्वीकार गरेको छ ।
रणनीतिक तेल भण्डार के हो?
रणनीतिक तेल भण्डार (स्ट्राटेजिक पेट्रोलियम रिजर्भ– एसपीआर) भनेको सरकारले आपतकालीन अवस्थाका लागि राख्ने कच्चा तेलको सञ्चिति हो । युद्ध, आर्थिक संकट वा आपूर्ति अवरोध भएको अवस्थामा यस्तो भण्डार प्रयोग गरिन्छ ।
सरकारहरूले निजी कम्पनीसँग सम्झौता गरेर तेल खरिद गरी सरकारी भण्डारण केन्द्रमा राख्छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सदस्य देशहरूसँग अहिले १.२ अर्ब ब्यारेलभन्दा बढी सार्वजनिक आपतकालीन तेल भण्डार छ । थप करिब ६० करोड ब्यारेल निजी क्षेत्रसँग भए पनि सरकारको निर्देशनमा प्रयोग गर्न मिल्ने गरी राखिएको छ ।
आईईए बाहिरका देश, विशेष गरी चीन,सँग पनि ठूलो मात्रामा तेल सञ्चिति रहेको छ ।
चीनसँग सबैभन्दा ठूलो भण्डार
चीन आईईए सदस्य होइन, तर विश्वकै सबैभन्दा ठूलो रणनीतिक तेल सञ्चिति ऊसँग छ । चीनले सन् २००४ देखि आपूर्ति जोखिम कम गर्न र अन्तर्राष्ट्रिय मूल्य उतारचढावको असर घटाउन सरकारी भण्डार कार्यक्रम सुरु गरेको थियो । भण्डार यति राख्ने लक्ष्य थियो कि कम्तीमा ३० दिनको आयात बराबर तेल सुरक्षित रहोस् ।
यी भण्डार मुख्यतः शानडोंग, झेजियाङ र हाइनान जस्ता पूर्वी तथा दक्षिणी तटीय क्षेत्रमा छन् । चीनले आधिकारिक तथ्याङ्क सार्वजनिक नगरे पनि २०२५ सम्ममा १.१३ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारण भएको अनुमान गरिएको छ ।
सन् २०२५ मा चीनले इरानबाट निर्यात भएको तेलको ८० प्रतिशतभन्दा बढी खरिद गरेको थियो । युद्ध बढ्दै जाँदा चिनियाँ कम्पनीहरूले आफ्नै भण्डार प्रयोग गर्न अनुमति माग्न थालेका छन् ।
सदस्य देशमध्ये अमेरिकासँग ४१५ मिलियन ब्यारेल तेल सञ्चिति छ । यो भण्डार ऊर्जा विभागले सञ्चालन गर्छ ।
अमेरिकाले यस वर्ष १७२ मिलियन ब्यारेल तेल बजारमा छोड्ने घोषणा गरेको छ । हालै ४५ मिलियन ब्यारेल तेल कम्पनीहरूलाई उधारोसमेत दिइसकेको छ ।
अमेरिकाले १९७५ मा अरब तेल प्रतिबन्धपछि यस्तो भण्डार सुरु गरेको थियो । भण्डार ठूला रिफाइनरी नजिक राखिएको छ र दैनिक ४.४ मिलियन ब्यारेलसम्म विश्व बजारमा पठाउन सकिन्छ ।
यो भण्डारले करिब २०० दिनको आयात आवश्यकतासम्म धान्न सक्छ । युद्ध, आँधी वा मूल्यवृद्धि हुँदा अमेरिकी राष्ट्रपतिहरूले यसलाई प्रयोग गर्ने गरेका छन् ।
जापानसँग पनि विश्वकै ठूलो भण्डारमध्ये एक छ । सन् २०२५ सम्म करिब ४७० मिलियन ब्यारेल तेल सञ्चिति रहेको बताइएको छ, जुन २५४ दिनको घरेलु खपत बराबर हो । यसको एक भाग सरकारसँग, एक भाग निजी क्षेत्रसँग र केही उत्पादक देशसँग संयुक्त रूपमा राखिएको छ ।
सन् १९७३ को तेल संकटपछि १९७८ मा जापानले यस्तो प्रणाली सुरु गरेको थियो । जापान अझै पनि आफ्नो ऊर्जा आवश्यकताको करिब ८० प्रतिशत आयातमा निर्भर छ ।
होर्मुज संकटपछि जापानले ८ करोड ब्यारेल तेल भण्डारबाट निकाल्ने घोषणा गरेको छ ।
बेलायतसँग करिब ६८ मिलियन ब्यारेल बराबर तेल र तेलजन्य पदार्थको भण्डार छ, जसले करिब ९० दिनको आवश्यकता पूरा गर्न सक्छ ।
यो भण्डार निजी कम्पनीसँग भए पनि सरकारको नियन्त्रणमा हुन्छ । दक्षिण वेल्सको मिलफोर्ड हेभन र इंग्ल्यान्डको हम्बर मुख्य भण्डारण क्षेत्र हुन् ।
इरान युद्धपछि आईईएको निर्णयअनुसार बेलायतले १३.५ मिलियन ब्यारेल तेल बजारमा छोड्ने भएको छ ।
जर्मनी, फ्रान्स, स्पेन र इटालीजस्ता देशसँग पनि ठूलो भण्डार छ । जर्मनीसँग ११० मिलियन ब्यारेल कच्चा तेल र ६७ मिलियन ब्यारेल तयार पेट्रोलियम पदार्थ छ ।
फ्रान्ससँग करिब १२० मिलियन ब्यारेल बराबर सञ्चिति छ ।
स्पेनसँग करिब १५० मिलियन ब्यारेल भण्डार छ र आपूर्ति अभाव भएपछि ११.५ मिलियन ब्यारेल निकाल्ने निर्णय गरेको छ । इटालीसँग करिब ७६ मिलियन ब्यारेल बराबर भण्डार छ, जुन ९० दिनको आयात बराबर हो ।
विश्व ऊर्जा सुरक्षाको परीक्षा
होर्मुज जलडमरूमध्य बन्द भएपछि विश्व ऊर्जा सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
रणनीतिक तेल भण्डार प्रयोग गर्नु संकट टार्ने अस्थायी उपाय मात्र हो । युद्ध लम्बियो भने आपूर्ति, मूल्य र विश्व अर्थतन्त्र सबैमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ । (अलजजिरा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्