चैत्र शुक्ल नवमी अर्थात् रामनवमीकै पावन दिन, आजभन्दा करिब ९ लाख वर्षअघि त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले यस धराधाममा अवतरण गर्नुभएको मानिन्छ । भारतको अयोध्याका सूर्यवंशी राजा दशरथ र रानी कौशल्याका जेठा पुत्रका रूपमा जन्मनुभएका श्रीरामलाई भगवान् विष्णुको अवतारका रूपमा श्रद्धापूर्वक मानिँदै आएको छ ।
श्रीरामलाई मर्यादा पुरुषोत्तम, आदर्शवादी, पितृभक्त, सत्यवादी, सदाचारी तथा कर्तव्यनिष्ठ महान् व्यक्तित्वका रूपमा चिनिन्छ । उहाँलाई रघुपति, राजाराम, पतितपावन, राघव, श्रीराम, जयराम, विजयराम, रघुनन्दन र रामचन्द्र आदि विभिन्न नामले भक्तजनहरूले स्मरण र आराधना गर्ने गर्छन् ।
रामनवमीका अवसरमा भारतको अयोध्या र नेपालको जनकपुरमा भव्य धार्मिक उत्सव मनाइन्छ । यस दिन देश–विदेशका राम मन्दिरहरूमा भक्तजनहरू पूजा, व्रत, भजन–कीर्तन तथा जाग्राम गरेर भगवान् रामको जन्मोत्सव मनाउँछन् । नेपालमा पशुपति क्षेत्र, वाग्मती किनारका राम मन्दिरहरू, रामघाट तथा अन्य स्थानहरूमा विशेष पूजा–आराधना हुने गर्दछ ।
श्रीरामको नामको महिमा अत्यन्तै महान् मानिन्छ । ‘राम’ नाम उच्चारण मात्रले पनि पापबाट मुक्ति र पुण्य प्राप्त हुने जनविश्वास छ । रत्नाकर नामक डाँकुले देवर्षि नारदको प्रेरणामा ‘राम’ नाम जप्न नसकी ‘मरा–मरा’ जप्दै गर्दा क्रमशः ‘राम–राम’ बन्न पुग्यो र उनी ज्ञान प्राप्त गरी वाल्मीकि ऋषि बने । उनै वाल्मीकि ऋषिले रामायण रचना गर्नुभयो, जसलाई श्रीरामको जीवनगाथाको महत्वपूर्ण आधार मानिन्छ ।
श्रीरामको जीवनमा अनेक उतार–चढाव आए—१४ वर्षको वनवास, सीता हरणको वियोग, वनवासकै क्रममा पिता दशरथको निधन, लव–कुशको जन्ममा उपस्थित हुन नपाउनु, लोकोपवादका कारण सीताको अग्निपरीक्षा र अन्ततः सीताको वनगमन । यस्ता कठिन परिस्थितिमा पनि धैर्य, संयम र मर्यादा कायम राख्न सक्ने गुणका कारण उहाँलाई आदर्श पुरुषोत्तम भनिएको हो ।
रामराज्यको अवधारणा पनि अत्यन्तै महत्वपूर्ण छ । श्रीरामको शासनकाललाई न्याय, समानता र जनकल्याणमा आधारित मानिन्छ । उहाँले देश र जनताको सुरक्षामा सधैं सक्रिय भूमिका निर्वाह गर्नुभयो । वनवासका क्रममा ऋषिमुनिहरूलाई दुःख दिने राक्षसहरूको वध गरी लोककल्याण गर्नुभएको उल्लेख पाइन्छ । रावण, कुम्भकर्ण, ताडका, मारीच लगायतका दुष्ट शक्तिहरूको अन्त्य गर्नु उहाँको धर्मपालनकै एक उदाहरण हो ।
रामराज्यमा मानिस मात्र होइन, पशुपंक्षीलाई समेत न्यायको अधिकार रहेको कथन पाइन्छ । कसैले अन्याय गरेमा पशुपंक्षीले समेत दरबारमा उजुरी दिन पाउने व्यवस्था थियो भन्ने विश्वास छ । यसले न्यायप्रणालीको व्यापकता दर्शाउँछ ।
त्यसैगरी, श्रीरामले जातीय वा सामाजिक भेदभाव नगरी समान व्यवहार गर्नुभएको पाइन्छ । शबरीको जुठो बेर ग्रहण गरेर उहाँले समानताको उदाहरण प्रस्तुत गर्नुभयो । न्यायका सन्दर्भमा आफ्नै रानी सीतामाथि पनि कठोर निर्णय लिनुपरेको प्रसङ्गले उहाँको न्यायप्रति प्रतिबद्धता देखाउँछ ।
यसरी श्रीरामको जीवन, चरित्र र शासनशैलीले उहाँलाई ‘मर्यादा पुरुषोत्तम’का रूपमा स्थापित गरेको छ । उहाँको आदर्श आज पनि समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।
(लेखक सांस्कृतिक विषयमा दख्खल राख्छन् ।)