नेभिगेशन
दृष्टिकोण

सौन्दर्यको खानी गुराँस संरक्षणका चुनौती

नेपालको उच्च पहाडी तथा हिमाली भू–भाग प्राकृतिक सौन्दर्य, जैविक विविधता र विशिष्ट वनस्पतिका लागि विश्वभर परिचित छ । तीमध्ये गुराँस नेपालको एक अत्यन्त महŒवपूर्ण वनस्पति हो, जसले पर्यावरणीय, सामाजिक तथा आर्थिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हुनुका साथै हिमाली पारिस्थितिक प्रणालीको प्रमुख प्रजाति पनि हो । नेपालमा पाइने ३१ प्रजातिका गुराँसमध्ये लालीगुराँस सबैभन्दा बढी पाइने प्रजाति हो । गुराँस संरक्षण कार्ययोजनाले यस महŒवपूर्ण वनस्पतिको संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगलाई प्राथमिकतामा राखेको छ ।
नेपालमा गुराँसका वनहरूको संरक्षणमा विभिन्न प्राकृतिक तथा मानवीय चुनौतीहरू रहेका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले स्थानीय समुदायले तातोपनाका लागि दाउरामा निर्भर रहनुपर्छ । गुराँसको काठ उच्च क्यालोरिफिक मूल्य भएको हुनाले यसको दाउराका रूपमा अत्यधिक प्रयोग हुने गरेको छ, जसले गुराँसका वनहरूमा तीव्र क्षय ल्याएको छ । साथै, कोइला उत्पादनका लागि पनि गुराँसको प्रयोगले वन विनाशलाई थप बढाएको छ ।
गुराँस पाइने क्षेत्रहरूमा खुला चरिचरन पनि गम्भीर समस्या हो । पशुहरूको अत्यधिक चरिचरनले नयाँ बिरुवा उम्रन नदिने, माटोको उर्वराशक्ति घटाउने तथा वन पुनर्जनन प्रक्रियालाई अवरुद्ध गर्ने गर्दछ । यसका साथै वन डढेलोले पनि गुराँसका वनहरूलाई ठूलो क्षति पु¥याउँछ । सुक्खा मौसममा लाग्ने डढेलोले गुराँसका बिरुवा, बीउ तथा सम्पूर्ण वन संरचना नष्ट गर्ने हुँदा यसको दीर्घकालीन असर देखिन्छ ।
वन अतिक्रमण र भौतिक पूर्वाधार विकास पनि गुराँस संरक्षणका लागि चुनौतीका रूपमा देखा परेका छन् । सडक निर्माण, जलविद्युत आयोजना, कृषि विस्तार तथा बस्ती विस्तारका कारण वन क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ । यसले गुराँसको प्राकृतिक बासस्थान संकुचित बनाउँदै लगेको छ । त्यसैगरी, चोरी निकासी तथा अवैध दोहनले पनि गुराँसका वनहरूको अवस्था कमजोर बनाएको छ ।
विगत केही वर्षदेखि जलवायु परिवर्तनका प्रभावहरू तीव्र रूपमा देखिन थालेका छन् । तापक्रम वृद्धि, वर्षा ढाँचामा परिवर्तन तथा सुख्खापनले गुराँसको वृद्धि र विकासमा असर पु¥याएको छ । अनुसन्धानहरूले देखाएअनुसार गुराँसको फूल फुल्ने समय पहिलेभन्दा अगाडि सर्दै गएको छ, जसले पारिस्थितिक सन्तुलनमा असर पार्न सक्छ । यसका साथै स्थानीय स्तरमा गुराँसको महŒवबारे पर्याप्त चेतनाको कमी पनि देखिन्छ । कतिपय स्थानमा गुराँसलाई कम उपयोगी काठका रूपमा बुझेर अनावश्यक रूपमा काट्ने वा हाँगा भाँच्ने प्रवृत्ति पाइन्छ । रोग, कीरा तथा अन्य आक्रामक प्रजातिहरूको प्रभावले पनि गुराँसको वृद्धि र संरक्षणमा समस्या उत्पन्न गरेको छ ।
यद्यपि यस्ता चुनौतीहरूका बीचमा गुराँस संरक्षणका लागि नेपालमा प्रशस्त अवसरहरू पनि रहेका छन् । लालीगुराँस हिमाली पारिस्थितिक प्रणालीको प्रमुख प्रजाति भएकाले यसको संरक्षणले सम्पूर्ण पारिस्थितिक सन्तुलन कायम राख्न मद्दत गर्छ । नेपालमा गुराँसका प्रजातिहरूको विविधता र यसको फराकिलो वितरण यसको संरक्षणका लागि महŒवपूर्ण आधार हो ।
गुराँसका फूलहरू अत्यन्त सुन्दर र आकर्षक हुने भएकाले पर्यापर्यटनको ठूलो सम्भावना रहेको छ । फूल फुल्ने समयमा गुराँस पाइने क्षेत्रहरू पर्यटकका लागि विशेष आकर्षणको केन्द्र बन्छन् । तिनजुरे–मिल्के–जलजले, घोडेपानी, इलाम, दामनजस्ता क्षेत्रहरूमा गुराँस पर्यटनको विकास गर्न सकिएमा स्थानीयस्तरमा आयआर्जन बढ्न सक्छ र समुदायको जीवनस्तर सुधार हुन सक्छ ।
गुराँसको आर्थिक महŒव पनि उल्लेखनीय छ । यसको फूलबाट जुस, अचार, धूप, अगरबत्ती जस्ता उत्पादनहरू तयार गर्न सकिन्छ । यस्ता स्थानीय उद्यमहरूले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सक्छन् । विशेषगरी लालीगुराँसको जुसले बजारमा राम्रो सम्भावना देखाएको छ ।
स्थानीय समुदायसँग रहेको परम्परागत ज्ञान र सीप पनि गुराँस संरक्षणका लागि महŒवपूर्ण अवसर हो । गुराँसको औषधीय प्रयोग, खाद्य उपयोग तथा वन व्यवस्थापनसम्बन्धी ज्ञानलाई संरक्षण र प्रवर्धन गर्न सकिन्छ । यसले अन्तरपुस्तामा ज्ञान हस्तान्तरणमा समेत सहयोग पु¥याउँछ ।
नेपाल सरकारले वन नीति (२०७१), वन क्षेत्र रणनीति (२०७२) तथा जैविक विविधता रणनीति जस्ता महŒवपूर्ण नीतिहरू लागू गरेको छ, जसले गुराँसजस्ता महŒवपूर्ण प्रजातिको संरक्षणलाई प्राथमिकता दिएका छन् । साथै, दिगो विकास लक्ष्य अन्तर्गत पनि जैविक विविधता संरक्षणलाई विशेष महŒव दिइएको छ । यसले गुराँस संरक्षणका कार्यक्रमहरूलाई थप सशक्त बनाउने आधार प्रदान गरेको छ ।
गुराँस संरक्षणमा वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोग पनि महŒवपूर्ण छ । नर्सरी विकास, बीउ संरक्षण, टिस्युकल्चर जस्ता प्रविधिहरूले यसको विस्तार र संरक्षणमा सहयोग पु¥याउन सक्छन् । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि समुदाय आधारित संरक्षण र जलवायु अनुकूलन रणनीतिहरू प्रभावकारी हुने देखाएका छन् ।
नेपालको सामुदायिक वन व्यवस्थापन प्रणाली विश्वमै सफल उदाहरणका रूपमा चिनिन्छ । स्थानीय समुदायको सक्रिय सहभागितामा गुराँस वनको संरक्षण गर्न सकिन्छ । जब स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउँछन्, तब उनीहरूको संरक्षणप्रतिको प्रतिबद्धता अझ बलियो हुन्छ ।

यसरी हेर्दा गुराँस नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रको अमूल्य प्राकृतिक सम्पदा हो । यसको संरक्षण केवल एक वनस्पति संरक्षण मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीको संरक्षण हो । हाल गुराँसका वनहरू विभिन्न कारणले दबाबमा परिरहेका भए पनि उपलब्ध अवसरहरूको सही उपयोग गर्न सकेमा यसको संरक्षण सम्भव छ । अतः गुराँस संरक्षणका लागि सरकार, स्थानीय समुदाय, गैरसरकारी संस्था तथा अनुसन्धान संस्थाहरूबीच समन्वय आवश्यक छ । दिगो व्यवस्थापन, जनचेतना अभिवृद्धि, वैकल्पिक ऊर्जा प्रवर्धन तथा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिएर मात्र गुराँसको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिन्छ । यसरी गुराँस संरक्षणले नेपालको जैविक विविधता जोगाउनुका साथै प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र आर्थिक समृद्धिमा महŒवपूर्ण योगदान पु-याउनेछ ।
(लेखक युवा संरक्षणकर्मी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्