अञ्जनी नन्दन श्री बजरंगवली पवनपुत्र हनुमानका विषयमा गोस्वामी श्रीतुलसीदासले हनुमान चालीसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गर्नुभएको पाइन्छ । यसै विषयमा विचार गरी हेरौं कि हनुमान सत्य, त्रेता, द्वापर र कली युगमा कहाँ–कहाँ कहिले–कहिले कुन–कुन स्वरूपमा अवतरित हुनुभएको थियो ?
अञ्जनी गर्भ सम्भूतो वायुपुत्रो महाबलः ।
कुमारो वृहमाचरिश्य हनुमन्ताय नमो नमः ।।
सर्वप्रथम सत्ययुगको चर्चा गरौं । यस युगमा पवनपुत्र हनुमान भगवान् शंकरको स्वरूपमा अवस्थित रहनुभएको थियो । त्यसैले त हनुमानलाई रुद्रावतार शिव स्वरूप भनिएको हो । गोस्वामी श्रीतुलसीदासले हनुमान चालीसामा नै ‘शंकर सुवन केसरी नन्दन’ भनी सम्बोधन गर्नुभएको छ ।
यति मात्र होइन जब–जब भगवान् शंकरले पार्वतीलाई रामको कथा सुनाउनुहुन्थ्यो तब–तब हनुमानको चरित्रको प्रसंग आउँदा भोलेनाथ शंकर स्वयं सावधान भई मनलाई पनि सम्मोहित गरेर हनुमानको चरित्र सुनाउनुहुन्थ्यो । त्यसको एक झलक यस्तो छ ।
सावधाना पुनि मनकर शंकर ।
लागे कहन कथा अति सुन्दर ।।
यस चौथाईको यो प्रसंग लंका दहनको हो । लंका दहन गरी सकेपछि हनुमानले प्रभु श्री राधवेन्द्रको चरण वन्दना गर्नुहुन्छ र प्रभुले हनुमानलाई हृदयमा लगाउनुहुन्छ । तब शंकर भोलेनाथ कति प्रसन्न हुनुहुन्छ त्यसको एक झलक यस चौथाईमा देखिन्छ ।
ऋष्यमूक पर्वतको मैदान स्थानमा जब पहिलो पटक राम र लक्ष्मणसँग हनुमानको भेट हुन्छ तब प्रभु रामले आफ्नो परिचय दिनेबित्तिकै हनुमान जब प्रभु रामको पावन पाउमा पर्नुहुन्छ तब भोलेनाथ शंकरले गिरिजालाई बताइहाल्नुहुन्छ कि–
प्रभु पहिचान गहेउ पहि चरना ।
से सुख उभा जाहिं नहिं वरना ।।
यस प्रकार आफ्नो स्वरूपको वर्णन भोलेनाथ शंकरले पार्वतीसँग गर्नुहुन्छ । अतः यो प्रमाणित हुन्छ कि श्रीहनुमान सत्ययुगमा शिव रूपमा रहनुहुन्छ, त्रेतायुगमा त पवन पुत्र हनुमान श्रीरामको छायाझैं बन्नुहुन्छ । उहाँबिना रामायणको सम्पूर्ण चरित्र नै पूर्ण हुँदैन ।
श्रीराम, भरत, सीता, सुग्रीव, विभीषण आदि र सम्पूर्ण कपिमण्डल कोही पनि हनुमानको ऋणबाट मुक्त हुन सक्दैनन् । यसप्रकार त्रेतायुगमा त हुनुमान साक्षात् रूपमा रहनुभएको थियो ।
द्वापरयुगमा हुनमान अर्जुनको रथमा विराजमान रहनुभएको थियो । यस सम्बन्धमा एक रोचक एवं रमाइलो प्रसंग छ । एकपटक कुनै तीर्थाटन अर्थात् यात्रामा अकस्मात् अर्जुनको भेट हनुमानसँग हुन पुग्छ । भनिन्छ कि भक्तजनहरूमा एक भक्तको भेट जब अर्को भक्तसँग हुन्छ तब त्यहाँ निश्चय नै भागवत चर्चा प्रारम्भ भइहाल्छ । त्यसैबेला हनुमानसँग अर्जुनले सोधे, ‘राम र रावणको युद्धको समयमा त तपाईं हुनुहुन्थ्यो नि ।’ हुनमानले जवाफमा भन्नुभयो, ‘म त्यतिबेला केवल उपस्थित मात्र थिइनँ युद्ध पनि गरिरहेको थिएँ ।’
तब अर्जुनले भन्नुभयो, ‘तपाईंका स्वामी मर्यादापुरुषोत्तम श्रीराम श्रेष्ठ धनुषधारी हुनुहुन्थ्यो फेरि उहाँलाई समुद्र पार जानलाई ढुंगाको पुल बनाउन किन आवश्यकता प¥यो ? यदि म त्यहाँ भइदिएको भए समुद्रमा वाणको पुल बनाउँथें जसबाट तपाईंका पूरा वानर सेना पार गर्थे ।’
हनुमानले भन्नुभयो, ‘असम्भव, वाणको पुल त्यहाँ कुनै काम लाग्दैनथ्यो, हाम्रा एक जना मात्र बाँदर चढ्दा वाणको पुल छिन्नभिन्न हुन जान्थ्यो ।’
अर्जुनले भन्नुभयो, ‘होइन, हेर्नुस यो अगाडि सरोवर छ, म त्यस सरोवरमा वाणको पुल बनाइदिन्छु तपाईं त्यसमा चढेर सरोवर पार गर्न सक्नुहुनेछ । यदि तपाईं हिँडेर पुल भाँचिएमा म अग्निमा प्रवेश गर्नेछु । यदि पुल भाँच्चिएन भने तपाईं अग्निमा प्रवेश गर्नुपर्ने छ ?’
हनुमानले पनि अर्जुनको यो शर्त स्वीकार गर्नुभयो । तब अर्जुनले आफ्नो प्रचण्ड वाणद्वारा पुल तयार गरिदिनुभयो । जबसम्म पुल बनेर तयार भएको थिएन तबसम्म त हनुमान आफ्नो लघुरूपमा रहे तर पुल बनिसकेपछि हनुमानले आफ्नो रूप पनि त्यसै समयका जस्तै बनाइदिए, अर्थात् ठूलो बनाइदिए । जसरी श्रीतुलसीदासजीले रामचरितमानसमा वर्णन गर्नुभएको छ, ‘कनक भूदराकार शरीर । समय भयङ्कर अति बल वीरा ।।’
श्रीरामको स्मरण गर्दै हनुमानले त्यस वाणको पुलमा चढे र पहिलो कदम राख्नेबित्तिकै साराका सारा पुल डगमगाउन थाल्यो । दोस्रो पाउ राख्नेबित्तिकै पुल चरमरायो तर पुल भाँच्चिएन । तेस्रो पाउ राख्नेबित्तिकै पूरा पुल ध्वस्त भएर सरोवरमै डुब्यो तब हनुमान आएर अर्जुनसँग भने कि अग्नि तयार पार । अग्नि प्रज्वलित पारियो, जसै अर्जुन अग्निमा होमिन लागे त्यसैबेला त्यहाँ लीलापुरुषोत्तम श्रीकृष्ण प्रकट हुनुभयो र भन्नुभयो, ‘पख, पख ।’
तब अर्जुन र हनुमानले श्रीकृष्णलाई प्रणाम गरे । श्री कृष्णले सोध्नुभयो, ‘यहाँ कुन कुरामा विवाद भएको छ ?’ तब अर्जुनले सारा वृत्तान्त बताउँदै भन्नुभयो, ‘यो सबै मेरै इच्छाले भएको हो ।’
यति कुरा श्री कृष्णलाई बताइसकेपछि अर्जुनले क्षमा माग्दै भन्नुभयो, ‘म त ठूलै अपराधी भएँ प्रभु मेरो यो अपराध कसरी हटाऊँ ?’
तब दयालु श्रीकृष्णले यो सबै मेरै इच्छाबाट भएको हो मन खिन्न नपार्नु भन्दै मेरो आज्ञा छ कि हनुमानले अर्जुनको रथ र ध्वजामा स्थान ग्रहण गर्नुहोस् । यसैले द्वापरयुगमा हनुमान अर्जुनको रथको ध्वजामा रहनुभएको थियो । यो त भयो द्वापरको प्रसंग ।
यत्र यत्र रघुनाथ कीर्तन तत्र कृत मस्तकाञ्जलिम् ।
वाण्य वरि परिपूर्ण लोचन मारुति नमत राक्षसान्तकम् ।।
कलियुगमा जहाँ–जहाँ भगवान् श्रीरामको कथा कीर्तन हुन्छ त्यहाँ–त्यहाँ हनुमान गुप्तरूपमा विराजमान रहनुहुन्छ । हनुमान कलियुगमा गन्धमादन पर्वतमा निवास गर्नुहुन्छ, यो कुरा श्रीमद्भागवद्मा वर्णन गरिएको छ ।
लेखक संस्कृतिविद् हुन् ।