२०७२ साल नाकाबन्दी नेपाली समाजका लागि राजनीतिक या कूटनीतिक घटनामात्र थिएन, त्यो आम जनजीवनको कठोर परीक्षा थियो । त्यतिबेला पेट्रोलियम पदार्थको हाहाकारले देशभर अभूतपूर्व संकट सिर्जना गरेको थियो । ग्यासका सिलिन्डर बोकेर दिनहुँ लाममा बस्नु, पेट्रोलका लागि रातभर पालो कुर्नु, सार्वजनिक यातायात ठप्प हुनु सम्भवतः यी दृश्यहरू अझै पनि धेरै नेपालीका स्मृतिमा ताजा छन् । भान्सामा ग्यास नहुँदा काठ, दाउरा र वैकल्पिक उपायमा फर्किन बाध्य भएका नागरिकका लागि त्यो समय ऊर्जा सुरक्षाको गम्भीर पाठ बनेको थियो ।
भारतले लगाएको नाकाबन्दीबाट नेपाली समाज प्रताडित भएको ठिक एक दशकपछि विश्वसमुदायसँगै नेपाल फेरि अर्को संकटतर्फ धकेलिएको छ । मध्यपूर्वमा इरान–इजरायलबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा अस्थिरता ल्याएको छ । यसको प्रभाव नेपालजस्तो आयातमा निर्भर देशमा स्वाभाविक रूपमा पर्न थालेको छ ।
बजारमा ग्यासको आपूर्ति असन्तुलित देखिन थालेको छ, पेट्रोलियम पदार्थमा लगातार मूल्य बढिरहेको छ, थप मूल्यवृद्धिको त्रास छ । तर, यसपटक एउटा महत्वपूर्ण परिवर्तन देखिएको छ– उपभोक्ता आत्तिएका छैनन् न त ग्यासका लागि लामो लाम देखिन्छ, न त पेट्रोलका लागि हतारो । यो परिवर्तन आकस्मिक होइन । यसको मूल कारण हो– नेपालमा पछिल्ला वर्षहरूमा बढ्दै गएको जलविद्युत् उत्पादन र त्यसको उपयोगतर्फको क्रमिक रूपान्तरण ।
भान्सामा विद्युतीय चुलो
ग्यास अभावको संकेत देखिनासाथ उपभोक्ताले यसपटक तत्काल प्रतिक्रिया दिए– तर लाममा होइन, विकल्पतर्फ । बजारमा विद्युतीय चुलो, विशेष गरी इन्डक्सन र इन्फ्रारेड चुलोको माग ह्वात्तै बढेको छ । राजधानीका प्रमुख व्यापारिक केन्द्रहरू असन, भोटाहिटी, न्युरोड, पुतलीसडक, लगनखेल, बानेश्वर सबैतिर यस्ता चुलो खरिद गर्नेहरूको भीड देखिन थालेको छ ।
व्यवसायीहरूका अनुसार पहिले दैनिक दुई–चारवटा मात्रै बिक्री हुने विद्युतीय चुलो अहिले एकै दिन १२–१५ वटासम्म बिक्री भइरहेका छन् । भोटाहिटीका व्यवसायी राजु महर्जन भन्छन्, ‘ग्यास सकिएपछि समस्या नहोस् भनेर उपभोक्ताले अहिले नै तयारी गरिरहेका छन् ।’ उनका अनुसार माग बढेसँगै स्टकसमेत सकिएको अवस्था छ ।
ललितपुर इमाडोलका व्यवसायी प्रतीक श्रेष्ठको अनुभव पनि उस्तै छ । ‘ग्राहकहरू एकैपटक विकल्प खोज्दै आउँछन् । मर्मत गर्न सजिलो हुने र पार्टपुर्जा पाइने ब्रान्ड रोज्ने प्रवृत्ति बढेको छ,’ उनले भने । सहरभन्दा अलि बाहिरका पसलहरूमा समेत दैनिक १० वटासम्म चुलो बिक्री हुनु मागको स्तर कति बढेको छ भन्ने संकेत हो । ग्राहकहरू केवल चुलो किन्न आएका छैनन्, उनीहरू आफ्नो भान्साको संरचना नै परिवर्तन गर्न तयार देखिन्छन् । घरमै भएका भाँडासँग मिल्ने, प्रयोगमा सजिलो र टिकाउ हुने चुलोप्रति आकर्षण बढेको छ ।
उपभोक्ताको अनुभवः सुविधा र बचत
विद्युतीय चुलोप्रतिको आकर्षण केवल संकटको प्रतिक्रिया मात्र होइन, अनुभवले प्रमाणित गरेको सहजता पनि हो । ललितपुरकी व्यवसायी प्रमिला खड्का पाँच वर्षदेखि विद्युतीय चुलो प्रयोग गरिरहेकी छन् । उनी भन्छिन्, ‘ग्यासभन्दा सस्तो पर्छ, सजिलो पनि छ । ग्राहकलाई पनि यही सुझाव दिन्छु ।’
नयाँ बानेश्वरकी लक्ष्मी शर्मा जस्ता कामकाजी महिलाका लागि त यो झनै उपयुक्त विकल्प बनेको छ । ‘हामीलाई ग्यास खोज्दै हिँड्ने समय हुँदैन । अहिले बिजुली नियमित छ, त्यसैले विद्युतीय चुलो नै सहज विकल्प हो,’ उनी भन्छिन् । यस्ता अनुभवहरूले उपभोक्तामा आत्मविश्वास बढाएको छ । ग्यास अभावले दैनिक जीवन प्रभावित हुने डर घट्दै गएको छ । भान्सामा वैकल्पिक ऊर्जा स्रोत स्थापित भएपछि संकटको असर न्यून भएको छ ।
सडकमा पनि परिवर्तन
ऊर्जा प्रयोगको परिवर्तन केवल भान्सामा सीमित छैन । सडकमा पनि यसको प्रभाव स्पष्ट देखिन्छ । पछिल्ला वर्षहरूमा नेपालका प्रमुख सहरहरूमा विद्युतीय सवारीसाधनको संख्या उल्लेखनीय रूपमा बढेको छ । ट्याक्सी, बस, निजी कार सबै क्षेत्रमा विद्युतीय विकल्पप्रति आकर्षण बढ्दो छ ।
यसले पेट्रोलियम इन्धनमा निर्भरता घटाउने दिशामा ठोस संकेत दिएको छ । पेट्रोल र डिजेलको मूल्यवृद्धि वा अभावले अब पहिले जस्तो ठूलो असर पार्न छाडेको छ । विद्युतीय सवारीसाधनले उपभोक्तालाई दीर्घकालीन बचत र वातावरणीय लाभ दुवै प्रदान गरिरहेको छ । अहिले सडकमा १० हजारभन्दा बढी विद्युतीय सवारी साधन गुड्न थालेको अटो व्यवसायीहरु बताउँछन् । पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भइरहँदा पनि विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले ठूलो संख्याका उपभोक्ताले राहत महसुस गरेका छन् । भारतबाट खटाएर डिजेल पेट्रोल आयात हुँदा पनि पेट्रोलियम पदार्थको अभावको गुन्जायस पनि छैन ।
संकटबाट अवसरतर्फ
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले विद्युत् जडित क्षमता ४ हजार मेगावाटभन्दा बढी छ भने माग २ हजार मेगावाट छ । यद्यपि, सुक्खायामको उत्पादनमा आधाभन्दा कम छ । तर, नेपाली उपभोक्तामा त्यसको असर परेको छैन । भारतबाट सीमितमात्रामा आयातीय बिजुलीबाटै न ऊर्जा व्यवस्थापन भइरहेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अहिलेको अवस्था उपभोक्ता र सरकार दुवैका लागि चेतावनी र अवसर हो । ‘आयातित ग्यास र पेट्रोलमा निर्भर हुनु जोखिमपूर्ण छ । स्वच्छ ऊर्जातर्फ रूपान्तरण अपरिहार्य छ,’ उनले भने । उनका अनुसार वर्तमान संकटलाई ऊर्जा रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ ।
सरकारले पनि सन् २०३५ सम्ममा आन्तरिक विद्युत् खपत १५ हजार मेगावाट पु¥याउने लक्ष्य राखेको छ । यसका लागि हरेक घरमा विद्युतीय चुलोको प्रयोग बढाउने नीति लिइएको छ । यो केवल ऊर्जा उपभोगको परिवर्तन मात्र होइन, आयात प्रतिस्थापनको दीर्घकालीन रणनीति पनि हो ।
विद्युतीय चुलोको प्रयोगले आर्थिक रूपमा पनि फाइदा पु¥याउँछ । विभिन्न अध्ययनहरूले ग्यासको तुलनामा बिजुलीबाट खाना पकाउँदा मासिक खर्च कम हुने देखाएका छन् । नेपालमा उत्पादित जलविद्युत्को उपयोग गर्दा विदेशी मुद्रा बाहिरिने दर घट्छ । साथै, वातावरणीय दृष्टिले पनि यो महत्वपूर्ण छ । पेट्रोलियम इन्धनको प्रयोग घट्दा कार्बन उत्सर्जन कम हुन्छ । यसले दीर्घकालीन रूपमा वातावरण संरक्षणमा योगदान पु¥याउँछ ।
पूर्वाधार र आपूर्ति
यद्यपि, पेट्रोलियमबाट स्वच्छ ऊर्जातर्फको रूपान्तरण पूर्ण रूपमा सहज छैन । विद्युतीय चुलोको प्रयोग व्यापक बनाउन प्रसारण र वितरण प्रणाली सुदृढ हुनु आवश्यक छ । काठमाडौंलगायत सहरहरूमा पुराना ट्रान्सफर्मर, वितरण लाइन र सब–स्टेसनहरू अद्यावधिक गर्नुपर्ने आवश्यकता छ । सबैले एकै समयमा इन्डक्सन चुलो प्रयोग गरे भने लोड व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ ।
प्राधिकरणले भने १० वर्षअघिको तुलनामा वितरण प्रणालीमा निकै सुधार भइसकेको जनाएको छ । उत्पादन पनि बढेकोले समस्या नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरण उप–कार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख दीर्घायुकुमार श्रेष्ठ पिक सिजनमा ६५० मेगावाटसम्म खपत हुने ठाउँमा अहिले ४००–४५० मेगावाट मात्रै लोड रहेकाले ५०–६० मेगावाट लोड थपिए पनि काठमाडौँमा कुनै समस्या नहुने बताउँछन् ।
उपभोक्ताको जीवनशैलीमा परिवर्तन आइरहँदा प्राधिकरणले आफ्नै हिसाबले आवश्यक तयारी गरिरहेको उनले स्पष्ट पारे । ‘काठमाडौँमा अब अर्को जाडो नआएसम्म खासै समस्या देखिँदैन,’ उनले भने, ‘अहिले जाडोको समय भएको भए तत्काल केही चुनौती आउन सक्थ्यो । हाल प्राधिकरणको प्रणालीमा करिब १५०–२०० मेगावाट जति रिजर्भ क्षमता छ । त्यसैले इन्डक्सन लोड ४०–५० मेगावाटसम्म बढे पनि व्यवस्थापन गर्न सकिने अवस्था छ ।’
दीर्घकालीन योजनाअनुसार काठमाडौँ उपत्यकामा नयाँ सब–स्टेसन निर्माण गर्ने र विस्तार गर्ने काम भइरहेको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । काठमाडौँ वरिपरि २२० केभीको रिङ प्रणाली बनाउने र भित्र १३२ केभी लाइन विस्तार गर्ने योजना पनि अघि बढाइएकाले यी योजनाहरू भविष्यमा विद्युत् खपत बढाउन सहयोगी हुने उनले बताए । सरकारले दीर्घकालमा १५ हजार मेगावाटसम्म विद्युत् खपत गर्ने लक्ष्य राखेको छ भने काठमाडौँ उपत्यकाले मात्र ३ हजारदेखि ३५ सय मेगावाट खपत गर्ने अनुमान गरिएको छ ।
सिजनल उत्पादन भने नेपालको ठूलो समस्या हो । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन्, जसले गर्दा बर्खामा उत्पादन बढी र हिउँदमा कम हुन्छ । यसका कारण सुक्खा याममा अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ । नेपाल विद्युत् प्राधिकरणले विगतको तुलनामा उपत्यकाको विद्युत् वितरण प्रणालीमा उल्लेख्य सुधार गरेको भए पनि पूर्णरूपमा ग्यास प्रतिस्थापन गर्नका लागि भने प्रसारण र वितरण पूर्वाधारमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ ।
आन्तरिक विद्युत खपत बढाउनका लागि विद्युतीय चुलोको उपयोग बढाउन प्रसारण तथा वितरण प्रणालीको संरचना थप तथा स्तरोन्नति गर्नुपर्नेमा अपेक्षाकृत ढंगले लगानी बढ्न सकेको छैन । यस्तै, हाम्रा जलविद्युत गृहले बर्खामा मात्रै पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने हुँदा सुक्खा याममा अहिले पनि भारतले दिने विद्युतमा निर्भर हुनुपर्ने बाध्यताले अझै आत्मनिर्भर हुन नसकिएको देखाउँछ । आयातित ग्यास प्रतिस्थापनको दीर्घकालीन समाधान खोज्नका लागि सुख्खा यामको माग र आपूर्ति व्यवस्थापन आन्तरिक उत्पादनबाटै हुने गरी विद्युत उत्पादन बढाउनुपर्ने आवश्यकता छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ढुक्कले विद्युतीय चुलो प्रयोग गर्नका लागि बिजुलीको आपूर्ति बाह्रै महिना निरन्तर हुनुपर्ने बताउँछन् । हिउँदमा बिजुलीको उत्पादन घट्ने समस्या समाधान गर्न जलाशययुक्त र अर्ध–जलाशय आयोजनाहरूको निर्माणमा तीव्रता दिनुपर्ने उनले प्रस्ट पारे । ‘बिजुली उत्पादन हुनुमात्र पर्याप्त छैन, त्यसलाई सुरक्षित र भरपर्दो रूपमा घर–घरसम्म पु¥याउने प्रणाली पनि उत्तिकै बलियो हुनुपर्छ,’ अध्यक्ष कार्कीले भने ।
काठमाडौंलगायतका मुख्य सहरका पुराना ट्रान्सफर्मर, वितरण लाइन र सब–स्टेसनहरू परिवर्तन गर्नुपर्ने र सबैले एकसाथ इन्डक्सन चुलो बाल्दा पनि लोड थाम्न सक्ने गरी प्रणाली सुधार गर्नुपर्ने उनले बताए । ‘परम्परागत ग्यास र पेट्रोलियम पदार्थमा छिमेकी देशमाथिको परनिर्भरता जोखिमपूर्ण छ भन्ने कुरा अहिलेको अभावले प्रस्ट पारेको छ,’ उनले भने, ‘नेपालको जलविद्युत नै हाम्रो वास्तविक ऊर्जा सुरक्षा हो । आगामी सरकारले आयात प्रतिस्थापनको योजनालाई गम्भीरताका साथ लिनुपर्छ । उपभोक्तालाई ग्यास पाइँदैन भन्ने कुरामा विश्वस्त तुल्याउँदै विद्युतीय चुलोमा सिफ्ट हुन पूर्वाधार र सहुलियतमा जोड दिनुपर्छ ।’
दीर्घकालीन समाधानः आत्मनिर्भर ऊर्जा
ऊर्जा सुरक्षाको दीर्घकालीन समाधानका लागि नेपालले आन्तरिक उत्पादन र वितरण दुवैमा लगानी बढाउनुपर्ने स्पष्ट छ । जलाशययुक्त र अर्ध–जलाशय आयोजना निर्माणले वर्षभरि स्थिर आपूर्ति सुनिश्चित गर्न सक्छ । साथै, प्रसारण लाइन विस्तार, स्मार्ट ग्रिड प्रणाली, र वितरण संरचना आधुनिकीकरणले विद्युतीय उपकरणहरूको प्रयोगलाई थप सहज बनाउनेछ । उपभोक्तालाई प्रोत्साहन दिन सहुलियत दर, अनुदान र सचेतना कार्यक्रमहरू पनि आवश्यक छन् ।
२०७२ को संकटमा असहाय देखिएको नेपाली समाज आज विकल्प खोज्न सक्षम भएको छ । यो केवल प्रविधिको परिवर्तन होइन, मानसिकताको परिवर्तन पनि हो । उपभोक्ताले अब ऊर्जा प्रयोगमा लचिलोपन अपनाउन थालेका छन् । ग्यास अभाव अब पूर्ण संकट होइन, व्यवस्थापनयोग्य समस्या बनेको छ । भान्सादेखि सडकसम्म विद्युतीय ऊर्जाको प्रयोगले जीवनशैली नै परिवर्तन गरिरहेको छ ।
आजको अवस्था केवल ग्यास अभावको कथा होइन, यो ऊर्जा रूपान्तरणको कथा हो । २०७२ को नाकाबन्दीले दिएको पाठलाई नेपाली समाजले विस्तारै आत्मसात् गरेको छ । अहिलेको अन्तर्राष्ट्रिय संकटले त्यसलाई अझ तीव्र बनाएको छ । जलविद्युत्को उपलब्धता, विद्युतीय चुलो र सवारीसाधनको बढ्दो प्रयोग र उपभोक्ताको बदलिँदो सोचले नेपाल ऊर्जा आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको स्पष्ट गरेको छ । यसपटक ग्यास अभावले जनजीवन ठप्प पारेको छैन । बरु, यसले नयाँ बाटो देखाएको छ– स्वच्छ, दिगो र आत्मनिर्भर ऊर्जातर्फको बाटो ।