नेभिगेशन
दृष्टिकोण

गजुरविहीन बज्रबाराही र उनको खट यात्रा

सर्वाधिक तान्त्रिक विशेषताले भरिएको देश नेपालमा अवस्थित विभिन्न देवी देवताहरू तान्त्रिक विधि विधानबाटै स्थापित भएको पाइन्छ । चापागाउँमा स्थापित बज्रबाराही देवीका पुजारी बासुदेव कर्माचार्यको अनुसार यो चापागाउँलाई पहिला चम्पापुर भनिन्थ्यो रे । पहिला पहिला चाँपका रुख धेरै नै भएकाले पनि यस ठाउँको नामै चम्पापुर रहन गएको हो भनिन्छ ।
पुजारी कर्माचार्यकै अनुसार भक्तपुरका राजा नरेन्द्रदेव मल्ल लडाईंबाट फर्केर आउँदा यही चापागाउँको बाटो हुँदै फर्केर आएका थिए रे । यसरी राजा नरेन्द्रदेव फर्केर आउँदा यस गाउँमा पुग्दा रात परेछ र वरिपरि रहेका घरमा एउटा सिपाहीलाई वास माग्न पठाएछन् । त्यस सिपाहीले एउटा घरमा गई हेर्दा भुईं तलामा सेतो कपडा ओढेर सुतिरहेको एउटा आकृति देख्यो र बोलाउँदा कोही पनि नबोलेकोले त्यस घरमा अरु कोही नभएको आभास पनि भयो । तब त्यो सिपाही डराउँदै राजाकहाँ आएर सबै बुरा बताए । अनि राजाले पनि त्यहाँ के कस्तो रहेछ भनि हेर्न जाँदा एउटा आकृति देखेपछि त्यस आकृतिलाई ढाकी राखेको कपडा उघारी हेरे । राजा आश्चर्यमा परे, त्यहाँ त बराहरूपी बज्रबाराही देवी पो रहिछिन् । तब राजाले बज्रबाराही देवीको दर्शन गरे र आफूलाई धन्य धन्य सम्झेर देवीको आराधना गरे । राजाको आराधनाबाट प्रसन्न भई देवीले यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाका दिन जात्रा चलाउनु भन्ने आदेश दिइ अलप भइन् ।
देवीको आदेश बमोजिम राजा नरेन्द्र देवले त्यही बेलादेखि बज्रबाराही देवीको उस्तै मूर्ति बनाई चैत्र पूर्णिमाका दिन खट जात्रा चलाएका हुन् भनिन्छ । जुन जात्रा हालसम्म पनि हरेक वर्ष चैत्र पूर्णिमाका दिन बज्रबाराही दवीको खट जात्रा गरी चापागाउँ वरिपरी परिक्रमा गराइन्छ र स्थानीय सबैले रमाउँदै जात्रा मनाउँछन् । स्थानीय जनताले श्रद्धा भक्तिपूर्वक मान्दै आइरहेकी बज्रबाराही देवीलाई यस जात्रामा विशेष पूजा आजा गरेर बोका, हाँस र कुखुरा बलि दिने गर्छन् । श्री बज्रबाराही देवीको मन्दिरमा जेठ कृष्ण दशमीका दिन भने विशेष पूजा गर्ने बलि दिने चलन छ । उक्त दिन होम गरी दुई घण्टासम्म ढोका बन्द गरी तान्त्रिक पूजा गरिन्छ । त्यहाँ बलि दिएका विभिन्न सामाग्रीहरूसहित पुजारीले मन्दिर वरिपरी भएका नौवटा चिता परिक्रमा गरिन्छ । स्मरण रहोस श्री बज्रबाराही देवीलाई परापूर्वकालमा मानिसकै बलि दिने चलन थियो रे पछि गएर मानिसको बलि दिन छाडेको हो भनिन्छ ।
देवीको पूजामा बलि दिँदा बोका नपर्सिएमा मन्दिर अगाडिको पाटी पछाडी लगेर पानी छर्किदिए बोका पर्सिन्छ भन्ने जनविश्वास रही आएको छ । जुन चलन हालसम्म पनि चल्दै आइरहेको छ । देवीको मन्दिरमा चढाइएका जल खेतीबारीमा छर्किदिएमा बाली नाली सप्रिने जनविश्वास छ । कोही कसैले पशु बिरामी भएमा यिनै देवीलाई दूध चढाउन ल्याएमा पशुको रोग निको हुने स्थानीयले बताउँछन् ।
यी देवीका विभिन्न विशेषता रही आएको पाइन्छ । यी देवीलाई बोका, हाँस र कुखुरा बलि दिँदा मन्दिरभित्र रहेका रगत केही घण्टा पछि नदेखिने हुन्छ । यसो हुनुमा देवीकै शक्ति रहेको स्थानीयहरू बताउँछन् । घना जंगलसँगै रहेको यस मन्दिरको वरपर जंगलमा विभिन्न किसिमका जडीवुटी र वनस्पति प्रशस्त मात्रामा पाइन्छन् । जंगलमा सुगा, सारौं, ढुकुर लगायत ३९ थरीका चराचुरुङ्गी बस्दै आएका छन् । यस जंगलमा काग कहिल्यै बस्दैन, यो पनि आश्चर्यजनक छ । पहिला पहिला चापाउगाउँकै एक जना स्थानीय व्यक्तिले यहाँ काग किन बस्दैन पत्ता लगाउनु प¥यो भन्दै एउटा काग समाएर ल्याई पिंजडामा राखी मन्दिरको पाटीमा झुण्डाई दिएछ र लुकेर हेरि बसेछ । मध्य रातमा पिंजडाको काग निकाल्न मानिसको हात आएको देखेछ र कागलाई कता लग्यो कता केही थाहा भएन भन्ने किंवदन्ती स्थानीयले बताउँछन् । स्थानीयका अनुसार हालसम्म पनि यस जंगलमा काग बस्दैन यो पनि देवीकै शक्ति हो भन्ने मान्ने गरेका छन् । यो जंगलका रुख, पात, दाउरा आदि कसैले प्रयोग गर्दैन । यदि कसैले जानी नजानी यहाँको रुख, पात, दाउरा आदि प्रयोग गरेमा बिरामी हुने कुरा स्थानीयले बताउँछन् । कसैले जंगलका पातहरू बटुलेर बाहिर कतै राख्न ल्याएमा ती पातहरू पुन जंगलमैं पुग्ने पनि बताइन्छ । तर त्यस गाउँमा कोही कसैको मृत्यु भई दाह संस्कार गर्नुपर्दा त्यही जंगलको काठ प्रयोग गरिन्छ । यस जंगलमा पहिले सुपारीका रुख धेरै थिए रे । तर संरक्षणको अभावमा हाल जंगल पनि पातलिंदै गएको र सुपारीको रुखको पनि कमी हुँदै गयो । यहाँको सुपारी घोटेर लगाएमा टाउको दुखेको निको हुने भएकोले भक्तजनहरूले सुपारी किनेर लैजाने गर्छन् ।
श्री बज्रबाराही देवीको मन्दिरमा गजुर छैन । त्यसैले यो मन्दिरलाई गजुरबिनाको मन्दिर पनि भन्ने गरिन्छ । यो मन्दिरमा गजुर नहुनुमा पनि विशेष कारण रहेको किंवदन्ती छ । पुजारी कर्माचार्यका अनुसार मन्दिर निर्माणका क्रममा गजुर राख्नुअघि अघिल्लो दिन तत्कालीन पुजारीलाई सपनामा देवीले कसैले बुलु गाउँको मान्छे मन्दिर अगाडिको चितामा लाश जलाउन ल्याएमा मात्र गजुर राख्नु त्यसो नगरे गजुर राख्ने मानिसको टाउको फुटेर मर्नेछ भनेको कुरा त्यस पुजारीले सबैलाई जानकारी गराउँदा कसैले पनि गजुर राख्ने हिम्मत नगरेकाले हालसम्म विनागजुरको मन्दिर रहँदै आएको हो भनिन्छ ।
राजा श्रीनिवास मल्लले नेपाल सम्वत ७८६ चैत्रमा बज्रबाराहीको देवगृह स्थापना गरेका थिए । घना जंगलको बीचमा रहेको तालबाट श्री बज्रबाराही देवीको उत्पन्न भएको हो भनि पुजारीले बताउनु भएको छ । भक्तपुरका एक मल्ल राजा देवीको दर्शन गर्न आउँदा मन्दिर अगाडि रहेको चितामा दाहसंस्कार भइरहेको र त्यहाँबाट दुर्गन्ध पनि आइरहेको देखेकाले ती राजाले उक्त मसानघाट पर सारी दिएका थिए भनिन्छ । हाल पनि मन्दिर वरिपरि ९ वटा मसानहरू छन् । 
श्री बज्रबाराही देवीका चार दिदी बहिनी छन् । सेती बाराही, धुम्बाराही र निलबाराही बज्रबाराही देवीका बहिनीहरू हुन् भनिन्छ । यी बहिनी देवीहरूभन्दा श्री बज्रबाराही देवी बढी शक्तिशाली छिन् भन्ने जनविश्वास रही आएको छ । देवीको मन्दिरभित्र नवदुर्गाको मूर्ति स्थापित गरिएका छन भने मन्दिरको अगाडि महिषको मूर्ति छ । मन्दिरको मूलद्वारको दायाँतर्फ गणेश र सिंहका मूर्ति छन् । श्री बज्रबाराही देवीले सम्पूर्ण भक्तजन, नेपाल र नेपालीको रक्षा गर्दै आइरहेको कुरामा सबै विश्वस्त छन् ।

(लेखक संस्कृतिविद् हुन् ।) 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण