नेभिगेशन
अर्थतन्त्र

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौंको कारोबार

काठमाडौं । जीवनका कठिन मोडहरूलाई अवसरमा बदल्दै नर्सरी व्यवसायमार्फत आत्मनिर्भर बन्न सफल युवाहरूका कथाले नेपालको हर्टिकल्चर क्षेत्रमा बढ्दो सम्भावना देखाएका छन् । यस्ता प्रेरणादायी उदाहरणमध्ये एक हुन् सिन्धुलीका शिशिर दाहाल, जसले दुर्घटनापछि ह्विलचियरमा सीमित जीवनलाई हार नमानी आफ्नै नर्सरी व्यवसाय सुरु गरी सफलताको बाटो समातेका छन् ।
२०७८ सालमा भएको दुर्घटनाले शारीरिक रूपमा कमजोर बने पनि शिशिरको आत्मबल भने झन् बलियो बन्यो । अरूको सहानुभूति र निराशाजनक टिप्पणीलाई चुनौती दिँदै उनले आफैं केही गर्ने अठोट लिए । कृषि विषय अध्ययन गरेका उनले सुरुमा किसानलाई तालिम दिने काम गरे पनि दुर्घटनापछि आफ्नै व्यवसाय गर्ने निर्णय गरे । २०७९ सालदेखि नर्सरी सुरु गरेका शिशिरले कठिनाइका बाबजुद निरन्तर मेहनत गर्दै आज राम्रो आम्दानी गर्न सफल भएका छन् । उनको भनाइमा, ‘मेहनत गरे नेपालमै भविष्य सम्भव छ ।’
यसैगरी, कीर्तिपुरकी सुरसा ओझाले पनि पुस्तान्तरण हुँदै आएको नर्सरी व्यवसायलाई निरन्तरता दिँदै यसलाई आफ्नो पहिचान बनाएकी छन् । हजुरबाबाट सुरु भएको व्यवसायलाई उनले पछिल्ला चार वर्षदेखि अघि बढाइरहेकी छन् । सामाजिक रूपमा हर्टिकल्चर क्षेत्रलाई कम सम्मानित पेसाका रूपमा हेरिने प्रवृत्तिका बाबजुद उनले त्यसलाई चुनौती दिँदै अगाडि बढेकी छन् । उनका अनुसार, सोच परिवर्तन गर्न स्वयं युवाहरू नै अग्रसर हुनुपर्छ । उनी नर्सरीलाई व्यापार मात्र नभई वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा लिन्छिन् ।
ललितपुरका दीपेन्द्र तुलाधारको कथा पनि प्रेरणादायी छ । कोरोना महामारीले उनको विज्ञापन व्यवसाय प्रभावित भएपछि उनले नर्सरी व्यवसाय रोजे । अहिले उनी यस क्षेत्रबाट मासिक ४५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताउँछन् । ग्राहकलाई बिरुवाको हेरचाहसम्बन्धी ज्ञान दिनेदेखि आवश्यक सामग्री एकै ठाउँमा उपलब्ध गराउनेसम्मका सेवाले उनको व्यवसायलाई थप सुदृढ बनाएको छ । जीवनशैली परिवर्तनसँगै गमलामा बिरुवा उपहार दिने चलन बढेको उनको अनुभव छ ।
त्यस्तै, साँखुस्थित दिवा नर्सरी सञ्चालन गरिरहेका आकाश सापकोटाले पनि पारिवारिक व्यवसायलाई विस्तार गर्दै मासिक करिब पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । सहरको विस्तार र हरियालीप्रतिको बढ्दो आकर्षणले बजार विस्तारमा सहयोग पुगेको उनी बताउँछन् । मोरङका २२ वर्षीय अरुण विष्ट पनि विदेश जाने सोच त्यागेर पुष्पखेतीमै भविष्य खोजिरहेका छन् । बाल्यकालदेखि नर्सरीसँग जोडिएको अनुभवले उनलाई यस क्षेत्रमा सम्भावना देखाएको छ ।
नेपालमा नर्सरी व्यवसाय विस्तार हुँदै गएको तथ्यांकले देखाउँछ । नर्सरी व्यवसायी संघ नेपालका अनुसार यस क्षेत्रमा करिब ११.८३ अर्ब रुपैयाँ लगानी छ भने वार्षिक कारोबार करिब ६.४३ अर्ब रुपैयाँको हाराहारीमा छ । देशभर ३ हजार ९०० भन्दा बढी नर्सरी व्यवसायी सक्रिय छन् र यस क्षेत्रले करिब एक लाख २० हजार मानिसलाई रोजगारी प्रदान गरेको छ । पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीमार्फत विभिन्न उपक्षेत्रमा आम्दानी भइरहेको छ ।
पुष्प विकास केन्द्रका अनुसार नेपालले वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरका पुष्प तथा आलंकारिक वस्तु आयात गर्दै आएको छ, जसलाई स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न सकिने ठूलो सम्भावना छ । यसका लागि सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बीउबिजन र बजार विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
नर्सरी व्यवसाय केवल आम्दानीको माध्यम मात्र नभई उद्यमशीलता, रोजगारी सिर्जना र वातावरण संरक्षणसँग जोडिएको क्षेत्रका रूपमा विकसित हुँदै गएको छ । शिशिर, सुरसा, दीपेन्द्र, आकाश र अरुणजस्ता युवाहरूले देखाएको साहस र प्रतिबद्धताले यस क्षेत्रमा उज्ज्वल भविष्यको संकेत दिएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्