नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

रोजगारीका लागि विदेश, असुरक्षाले मृत्यु

नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्समा निर्भर रहँदै आएको छ । वैदेशिक रोजगारीले लाखौं नेपाली परिवारको जीविकोपार्जनको आधार बनेको भए पनि यसले निम्त्याएको मानवीय मूल्य अत्यन्त पीडादायी बन्दै गएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको मृत्यु दर निरन्तर बढिरहेको पछिल्लो तथ्यांकले यो कटु यथार्थलाई अझ पेचिलो बनाएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मात्र ९ सय ८३ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएको तथ्य आफैंमा त्रासदी जन्माउने खालको छ । यही अवधिमा ६ सय १ जना अंगभंग वा बिरामी भएका र १ सय २५ जनाको उद्धार गरिएको र ६ सय ८५ जनाको शव व्यवस्थापन गरिएको कुरा वैदेशिक रोजगारको दुखद् चित्र हो । विगत १० वर्षमा १२ हजारभन्दा बढी नेपाली श्रमिकले विदेशमा ज्यान गुमाइसकेको तथ्यांकले यो समस्या कति गम्भीर छ भन्ने पुष्टि गर्छ ।
प्रत्येक मृत्युको पछाडि एउटा परिवारको सपना, पीडा र भविष्य भताभुंग हुनपुग्छ । नेपालमा एउटा श्रमिकले कमाएर चार–पाँच जनासम्मको परिवार पाल्नुपर्ने अवस्था छ । यही पारिवारिक दबाबका कारण युवापुस्ता विदेशिन बाध्य छ । तर जब ती युवा बाकसमा फर्किन्छन्, त्यसले परिवार मात्र होइन सम्पूर्ण समाजलाई गहिरो चोट दिन्छ ।
गाउँघरबाट युवाहरू विदेश जाँदा त्यहाँ सामाजिक संरचना कमजोर बन्दै गएको छ । अभिभावकविहीन बालबालिका हुर्कनुपर्ने अवस्था बढ्दो छ, जसले उनीहरूको मानसिक, शैक्षिक र सामाजिक विकासमा नकारात्मक असर पारिरहेको छ । आमाबुबाको माया र मार्गदर्शनबिना हुर्केका बालबालिकाको भविष्य जोखिममा पर्नु स्वाभाविक हो । यसरी वैदेशिक रोजगारीको प्रत्यक्ष आर्थिक लाभसँगै अप्रत्यक्ष सामाजिक लागत अत्यन्तै ठूलो छ, जसको समुचित मूल्यांकन अझै हुन सकेको छैन ।
पछिल्लो समय लैंगिक सशक्तीकरणसँगै महिलाहरू पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । महिलाहरू आर्थिकरूपमा सक्षम र आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको यो सकारात्मक संकेत हो । तर जब ती महिला श्रमिक पनि मृत्यु हुने सूचीमा पर्छन्, त्यसले अर्को गहिरो सामाजिक संकट निम्त्याउँछ । परिवारको संरचना थप विखण्डित हुन्छ, बालबालिकाको हेरचाह झनै चुनौतीपूर्ण बन्छ । जतिसुकै आधुनिकता र अधिकारको कुरा गरे पनि अहिले पनि समाजका धेरै भार महिलको काँधमा छ, जसमा सन्तानको लालनपालनको जिम्मेवारी पर्दछ ।
विदेशमा हुने मृत्युका कारणहरू पनि विविध छन्, औद्योगिक दुर्घटना, सडक दुर्घटना, कार्डियक एरेस्ट, आत्महत्या आदि । यसले के देखाउँछ भने श्रमिकहरू सुरक्षित र व्यवस्थित कार्य वातावरणमा काम गरिरहेका छैनन् । अझ मध्यपूर्वमा देखिएको तनावका कारण ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको घटनाले नेपाली श्रमिकको जीवन मात्र होइन, मृत्युपछिको व्यवस्थापनसमेत कति असुरक्षित छ भन्ने देखाउँछ ।
यस समस्याको मूल कारण नेपालभित्र रोजगारीको अभाव हो । प्रत्येक वर्ष ४ लाखभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्छन्, तर देशले उनीहरूलाई पर्याप्त रोजगारी दिन सकिरहेको छैन । यस्तो अवस्थामा विदेश जानु बाध्यता बन्छ, विकल्प होइन । कम्तीमा आगामी पाँच वर्षसम्म पनि नेपालले यति ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने सम्भावना न्यून देखिन्छ ।
त्यसैले समाधान दुई तहमा खोज्नुपर्छ । पहिलो, दीर्घकालीन रूपमा देशभित्रै रोजगारी सिर्जना गर्ने नीतिमा ध्यान दिनुपर्छ । औद्योगिकीकरण, कृषि आधुनिकीकरण र उद्यमशीलता प्रवद्र्धनमार्फत युवालाई स्वदेशमै अवसर दिन सकिन्छ । दोस्रो, तत्कालका लागि विदेश जाने श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।
यसका लागि प्रस्थानपूर्व तालिम, मौसमअनुकूलन अभिमुखीकरण, भाषा र सीप विकास, तथा कार्यस्थल सुरक्षा सम्बन्धी प्रशिक्षण अनिवार्य र प्रभावकारी बनाउनुपर्छ । धेरै नेपाली श्रमिक कठोर मौसम, अपरिचित वातावरण र जोखिमपूर्ण कामका कारण ज्यान गुमाइरहेका छन्, जुन उचित तयारी र जानकारीले केही हदसम्म रोक्न सकिन्छ ।
सरकार, विशेषगरी श्रम मन्त्रालयले यस विषयमा गम्भीर चासो लिनु आवश्यक छ । युवाको प्रतिनिधित्व गर्ने सरकार र युवा श्रम मन्त्रीले केवल वैदेशिक रोजगारीको संख्या बढाउने होइन, त्यसको गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिनुपर्छ । कूटनीतिक पहलमार्फत गन्तव्य देशहरूसँग श्रमिक सुरक्षासम्बन्धी कडा सम्झौता गर्नुपर्ने आवश्यकता छ ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको यथार्थलाई नकार्न सकिँदैन । तर यदि त्यो रेमिट्यान्सको मूल्य नेपाली श्रमिकको ज्यान बन्ने हो भने यो विकासको मोडेल पुनर्विचार गर्नैपर्छ । आर्थिक समृद्धिको खोजीमा मानवीय क्षति स्वीकार्य हुन सक्दैन । त्यसैले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारको तदारुकता देखिने अपेक्षा अस्वाभाविक हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्