नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

नयाँ वर्षको संकल्पः परिवर्तन र आत्मसमीक्षा

भदौमा भएको जेनजी आन्दोलनका दिनहरूमा देशको अवस्था अत्यन्त अनिश्चित देखिएको थियो । संविधान रहला कि नरहला, व्यवस्था टिक्ला कि नटिक्ला भन्ने अन्योल व्यापक थियो । तर, समयसँगै अवस्था विस्तारै सम्हालिँदै गयो, अन्तरिम सरकार गठन भयो र त्यसले निर्वाचन सम्पन्न गराउने म्यान्डेट प्राप्त ग¥यो । प्रारम्भमा प्रमुख दलहरूले ‘निर्वाचन हुँदैन’ भन्दै शंका व्यक्त गरे पनि अन्ततः निर्वाचन सम्पन्न भयो । नवनिर्वाचित प्रतिनिधिहरू संसद्मा प्रवेश गर्दा कसैले पनि कल्पना नगरेको परिणाम देखियो— स्थापित भनिएका दलहरू किनारामा पुगे र नयाँ शक्ति सत्तामा आयो ।
यस परिणामको पूर्वानुमान किन हुन सकेन भन्ने प्रश्न गम्भीर छ । यसको एउटा प्रमुख कारण थियो—पत्रकार, बुद्धिजीवी र मिडियाको दलहरूसँगको निकटता । उनीहरू प्रायः आफ्नै झुकावअनुसार विश्लेषण र व्याख्या गरिरहेका थिए । तर उता जनता भने फरक मनोविज्ञानमा थिए । पूर्वप्रधानमन्त्रीहरू भोट माग्न जाँदा ‘तपाईंले के गर्नुभयो?’ भनेर प्रश्न गर्ने साहस जनताले देखाइरहेका थिए । यो जनताको सशक्तीकरणको बलियो संकेत थियो, तर त्यसलाई समयमै कसैले गम्भीर रूपमा समीक्षा गरेन ।
जेनजी आन्दोलनअघि मन्त्रीहरूका दम्भयुक्त अभिव्यक्ति र व्यवहारले पनि यही दूरी पुष्टि गर्छ । निर्वाचन परिणामपछि स्थापित शक्तिहरू तिलमिलाए, तर जनता भने सन्तुष्ट देखिए । जनताले ‘हामीले यस्तो परिणाम चाहेका थिएनौं’ भनेर असन्तोष प्रकट गरेका छैनन् । इतिहासमा २०३६ सालको जनमत संग्रहमा प्रजातन्त्रवादी शक्तिको पराजय हुँदा जनतामा निराशा थियो, तर अहिलेको परिणामले त्यस्तो निराशा देखिएको छैन । २०६४ सालमा माओवादी पहिलो शक्ति बन्दा पनि जनता दुःखी थिएनन् । अहिले पनि दुःख दलहरूमा सीमित देखिन्छ ।
राजनीतिक दलहरूको वर्तमान अवस्था पनि आत्मसमीक्षाको विषय बनेको छ । माओवादी, जो एक समय देशको पहिलो शक्ति बनेको थियो, अहिले कमजोर अवस्थामा पुगेको छ र अस्तित्वको संघर्षमा छ । नेपाली कांग्रेस, जसले लामो समय सत्ता सम्हालेको थियो, लज्जाजनक पराजय भोग्न बाध्य भयो । एमाले, जसले देशव्यापी संगठनको दाबी गथ्र्यो, अपेक्षित नतिजा ल्याउन सकेन । नेतृत्वको दम्भ र आत्मालोचनाको अभावले दलहरूलाई थप कमजोर बनाएको देखिन्छ । दार्शनिक कान्टको भनाइ छ— ‘मानिसको सर्वाधिक प्राकृतिक वृत्ति आफूसँगै अरूलाई पनि नष्ट गर्नु हो ।’ यो भनाइ आजको नेपाली राजनीतिक परिदृश्यमा सान्दर्भिक देखिन्छ । विगतका गल्तीबाट पाठ सिक्ने संस्कार कमजोर देखिएको छ । हामी सानातिना विषयमा अल्झिने र ठूलो चित्रलाई बेवास्ता गर्ने प्रवृत्तिबाट मुक्त हुन सकेका छैनौं । एकसिंगे गैंडा संरक्षणमा सफलता हासिल गर्ने देशका हामी नागरिकहरू राजनीतिक विषयमा गैंडाझैं सहनशील नभई सानासाना कुरामा पनि संवेदनशील हुनु आवश्यक छ, जसले देश विकासलाई प्राथमिकतामा राख्नुपर्छ ।
इतिहासको सम्यक् मूल्यांकन पनि आवश्यक छ । १०४ वर्षे राणा शासन दमनकारी थियो, तर त्यस अवधिमा भएका केही सुधारका कामहरूलाई पनि पूर्णतः अस्वीकार गर्न मिल्दैन । त्यस्तै, राजा महेन्द्रको कदमले प्रजातन्त्र अवरुद्ध ग¥यो भन्ने सत्य हो, तर पञ्चायती व्यवस्थाले आधुनिक नेपालको आधार तयार पार्न केही भूमिका खेलेको पक्षलाई पनि पूर्णतः नकार्न मिल्दैन । हामी प्रायः दलगत आग्रहमा सीमित भएर सकारात्मक पक्षहरूबाट सिक्ने अवसर गुमाइरहेका छौं । भूपि शेरचनको भनाइ— ‘हामी वीर हौं तर बुद्धु हौं ।’ आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । विवेकको प्रयोगमा तीक्ष्णता नदेखिँदा हामी बारम्बार उही गल्ती दोहो¥याइरहेका छौं । प्रजातन्त्र पुनस्र्थापनाको ३६ वर्षपछि हामीले के पायौं र के गुमायौं भन्ने प्रश्न अब गम्भीरतापूर्वक सोध्नुपर्ने बेला आएको छ ।
आज मन्त्रीमण्डलमा ३० वर्ष हाराहारीका युवाहरूको बाहुल्य हुनु देशलाई अवसर पनि हो र चुनौती पनि । अब देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट दृष्टिकोण आवश्यक छ । हामीले चलाउन नसकेको लाउडा विमानलाई इथियोपियाले सञ्चालन गरेर नाफा कमाएको उदाहरण होस् वा गृहयुद्धबाट थिलथिलो भएका अफ्रिकी मुलुकहरूको तीव्र विकास, यी सबैबाट सिक्नुपर्ने धेरै कुरा छन् । सिंगापुर र दक्षिण कोरियाले सीमित स्रोतका बाबजुद गरेको प्रगति हाम्रो लागि प्रेरणादायी उदाहरण हुन् ।
अब समय अलमलिने होइन, स्पष्ट मार्गनिर्देशनसहित अघि बढ्ने हो । संवैधानिक विवाद छन् भने संसद्बाट समाधान खोज्नुपर्छ, संवादलाई सुदृढ बनाउनुपर्छ । आफूभन्दा माथि देशलाई राख्ने सोच विकसित गर्नुपर्छ । अधिकार प्राप्तिका लागि लड्ने समय सकिएको छ, अब ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने बेला हो । यदि अझै पनि हामी अलमलमै रह्यौं भने भविष्य अनिश्चित हुनेछ । राष्ट्रकविको भाव– ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’लाई आत्मसात् गर्दै दिगो, समृद्ध र समावेशी नेपाल निर्माणको संकल्प गर्नुपर्ने बेला आएको छ । नयाँ वर्षले यही चेतना र प्रतिबद्धता लिएर आओस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
नीतिगत सुधारको संकेत

नीतिगत सुधारको संकेत

नयाँ वर्ष र सांस्कृतिक विविधता

नयाँ वर्ष र सांस्कृतिक विविधता