झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान रवि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका लागि उदाहरण बनेका छन् । १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिएका उनले १२ बिघा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमुनाखेती गरेका हुन् ।
चियाखेतीबाट कृषियात्रा सुरु गरेका नेपालले अहिले एउटै जमिनमा चिया, रबर, अगरउड, अमला, कटहर, तेजपत्तालगायतका नगदेबाली एकसाथ हुर्काइरहेका छन् । उनले पहिलो चरणमा चिया रोपेको र चिया बगानभित्र मिश्रित नगदेबाली हुर्काएको बताए ।
चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौँ वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेका नेपालले जानकारी दिए । ‘सुरुमा लगानी र मेहनत बढी हुन्छ, खनजोतदेखि गोडमेल र बिरुवा हुर्काउन समय लाग्छ,’ उनले भने, ‘तीन वर्षपछि प्रतिफल दिन सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन् ।’ उनका अनुसार अहिले बगानमा २७ प्रजातिका नगदेबाली छन् ।
औषधीय गुण भएका अर्जुन, मोरिङ्गा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी र कागतीसम्मले उत्पादन दिइरहेको नेपालले बताए । उनको खेती गर्ने शैली नौलो र लोभलाग्दो छ । ठूलो सुपारी बगानभित्र मरिचको लहलह खेती छ । मरिचका लहरा सुपारीकै बोटमा आश्रित भएर फलेका छन् ।
चिया बगानभित्र उनले एउटा नयाँ प्रयोगका रूपमा नरिवलखेती सुरु गरेका छन् । कृषि विज्ञहरूको सल्लाहमा उनले चिया बगानभित्र दुई–दुई बुट्टा हटाएर नरिवलका बिरुवा रोप्न थालेको बताए । ‘चिया बगानभित्र घुसुवा बालीका रूपमा नरिवलखेतीको यो पहिलो प्रयोग हो । यसले झापाको कृषि पर्यटन र उत्पादनमा नयाँ आयाम थप्ने विश्वास छ,’ उनले भने ।
बाहुनडाँगी क्षेत्रका किसान हात्ती, चितुवा, बाँदरलगायत जंगली वन्यजन्तुका कारण प्रभावित छन् । चिया र नरिवलजस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपु¥याउने भएकाले यसलाई वैकल्पिक खेतीका रूपमा किसानले उपयोग गर्दै आएको नेपालले बताए ।
माटो परीक्षणले पनि पूर्वपश्चिम राजमार्गको बाहुनगाँडी, शनिश्चरे, बुधबारेलगायत क्षेत्रमा नरिवलखेती उपयुक्त देखिएको नेपालले जानकारी दिए । उनका अनुसार एउटै नरिवलको बोटबाट वार्षिक १७ देखि १८ हजारसम्म आम्दानी हुन्छ ।
उनले गत वर्षदेखि सुपारी बगानभित्र नरिवल रोप्न सुरु गरेका हुन् । ‘एक हजार बोट रोप्ने योजना छ, गत वर्ष ३०० बिरुवा रोपेँ,’ नेपालले भने, ‘यस वर्ष ७०० बिरुवा रोप्छु ।’ नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुने भएकाले बजार अभाव नहुने उनको विश्वास छ । बजारमा नरिवलभित्रको पानीका माग बढ्दै गएको उनले बताए ।
उनको १३ वर्षको मिश्रितखेतीको अनुभवमा नगदेबालीको उत्पादनमा बजारको कुनै समस्या छैन । सुपारी र तेजपत्ता बोटबाटै बिक्री हुन्छन् भने झापामा चिया र रबर प्रशोधनका प्रशस्त उद्योग खुलिसकेका छन् । ‘बजार खोज्नु र पहिल्याउन चासो दिनुपर्छ, बारीमा उत्पादन गरेर घरमा उपरखुट्टी लगाएर बसेर मात्र हुँदैन,’ नेपालले भने, ‘एक बिघा जमिनमा व्यवस्थित मिश्रितखेती गर्ने हो भने वार्षिक आठदेखि नौ लाख सहजै कमाउन सकिन्छ ।’
आफ्नै माटोमा पसिना बगाउने हो भने पैसा कमाउन युरोप वा अमेरिका धाउनु नपर्ने उदाहरण उनको सफल कृषि कर्म बनेको छ । उनले युवापुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । ‘तीन महिनामा कमाउनेलाई तरकारी, ६ महिनामा चाहनेलाई अन्न र एक वर्ष कुर्नेलाई जडीबुटी ठिक छ,’ उनले भने, ‘तर तीन–चार वर्ष धैर्य गरेर मिश्रितखेती गर्ने हो भने यसले ५० वर्षसम्म निरन्तर आम्दानी दिइरहन्छ ।’ (रासस)