नेभिगेशन
फोटो स्टोरी

भूकम्पले भत्काएको बारपाक

२०७२ सालको भूकम्पले बारपाकमा एक हजार १०० घरधुरी भत्किए, ७२ जनाको ज्यान गयो । बाँचेकाहरू महिनौंसम्म खुला आकाशमुनि बसे । त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थाले । अझै पनि २४ घरधुरी भने पहिरो डरले आफ्नो थलोमा फर्किन सकेका छैनन् ।
खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन । होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू देखिन्छन् । जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका । कतै हावाहुरी चल्दा त्रिपाल उडाउने त होइन भन्ने डर हुन्छ ।
भूकम्पको दिन सम्झिँदै ५७ वर्षीय माइतीमाया सुनार भन्छिन्, ‘भूकम्पअघि हामी डाँडागाउँको गैरीगाउँमा बस्थ्यौं । ढुंगा–माटोको घर थियो । भूकम्पले घर भत्कियो । घर, घडेरी पहिरोको जोखिममा परेपछि हामी यहाँ आयौं । त्यसयता त्रिपालमुनि बस्नुपरेको छ ।’ खेती गर्न खेतबारी नहुँदा र ढुक्कसँग बस्न नपाउँदा दुःख लागेको उनी बताउँछिन् । यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा २ वटा मात्र शौचालय छन्, तर व्यवस्थित छैन । ३२ वर्षीय समिर सुनार भन्छन्, ‘हामी २४ घरधुरीका लगभग ६०–७० जना यही टहरोमा बस्दै आएको छौं । यहाँ केही पनि व्यवस्थित छैन । गर्मीमा धेरै गर्मी हुन्छ भने जाडोमा अति चिसो । बस्तीका अधिकांश जेष्ठ सदस्यलाई निमोनियाको समस्या छ । कति निमोनियाका कारणले बिते ।’ सुकबहादुर विक भन्छन्, ‘यहाँ आएदेखि राम्ररी दिन काट्न पाएको छैन । चिसो धेरै भएर निमोनियाले सताएको छ ।’ यी परिवारहरूले आफ्नो जग्गाको लालपूर्जा सरकारलाई बुझाएर सट्टापट्टा लागि प्रक्रिया टुंगाएर सरकारबाट स्वकृती पाए पनि अहिले यी दलितको जग्गा प्राप्तिको कुरा स्थानीय राजनीतिक मुद्दा बनेको छ । सुकबहादुर भन्छन्, ‘हामी धेरै पटक सिंहदरबार धायौं । सरकारबाट जग्गा पाए पनि स्थानीय राजनीतिले गर्दा घर बनाउन सकेका छैनौं ।’
तस्बिरः नेपाल फोटो लाइब्रेरी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
कहिले होला सहज ?

कहिले होला सहज ?

कंक्रिटका घर

कंक्रिटका घर

बेथानचोक आधारभूत अस्पताल

बेथानचोक आधारभूत अस्पताल

साताको लोकप्रिय