नेभिगेशन
साहित्य

मैले फेरि कसरी पढ्न मन पराउन थालें ?

जसले पनि पुस्तक प्रकाशित गरेको छ वा गर्ने प्रयास गरेको छ भने उसले आफ्ना अत्यन्त नजिकका साथी वा परिवारका सदस्यबाट समेत एउटै कुरा सुनिन्छ, ’म त एक अक्षर पनि पढ्नै सक्दिनँ। पढ्न थाल्यो कि झुप्प भइहाल्छु।’ यो स्वाभाविक पनि हो । सबैको आफ्नै रुचि हुन्छ, आफ्नै दैनिक दबाब हुन्छ । त्यसमा पनि इन्टरनेटले हाम्रो ध्यान निरन्तर खोसिरहन्छ । आखिर मानव समाज आफैं ध्वस्त पार्ने काम त्यसले एक्लै गर्न सक्दैन नि ! तपाईँ पुस्तक नपढ्ने मानिसहरूको माफीलाई आधा मात्र सुन्न थाल्नुहुन्छ, ठीक त्यसरी नै जसरी विमान परिचारिकाले सिटबेल्ट कसरी बाँध्ने भनेर सम्झाउँदा हामी आधा ध्यान दिन्छौं ।
तर करिब १० वर्षअघि कसैले मलाई चकित पा¥यो ।
मैले आफूले लेखेको एउटा पुस्तक लोकप्रिय फ्यान्टसी लेखिका सुसन डेन्नार्डलाई पठाएको थिएँ । उनको दिमाग, उनका उपन्यास र उनको न्यूजलेटरप्रति मलाई ईष्र्या लाग्थ्यो । हामी सामान्य चिनजानका थियौं र म उनीबाट केही सहयोग पाउने आशामा थिएँ । उनले अत्यन्त विनम्र जवाफ पठाइन् । उनले मेरो उपन्यासलाई केही गर्न सकूँली कि भन्दै उपाय खोज्ने बताइन् तर आफैं पढ्न भने नसक्ने भनिन्। उनले कारणका रूपमा पुस्तकको आनन्द लिन सक्ने क्षमता उनलाई छाडेर गइसकेको बताएकी थिइन् ।
‘म पठन रूचि भाँच्चिएको पाठक हुँ,’ उनले लेखेकी थिइन् ।
ती दुई शब्द मैले पहिलोपटक सँगै देखेको थिएँ, रूचि भाँच्चिएको !
साँचो कुरा भन्नुपर्दा, मेरो पहिलो प्रतिक्रिया थियो, ‘वाह, कति सभ्य बहाना ! उनी खासमा मेरो उपन्यास पढ्नै चाहेकी छैनन् ।’
तर सन् २०२२ मा मभित्रको पाठक पनि दुई टुक्रा भएर भाँच्चियो । पहिलो पटक पठनमा भयंकर रुचि हुनेको पनि रुचि भाँच्चिने कुरा महसुस गरें ।
वर्षौंदेखि मलाई लाग्थ्यो, मैले उपन्यासबाट चाहिने कुरा बिल्कुल स्पष्ट रूपमा छुट्याइसकेको छुः मानिसहरू किन आफ्नै बाटो आफैं अवरुद्ध गर्छन् भन्नेबारे केही अन्तर्दृष्टि, कथावस्तु होस् तर अपराध अनुसन्धान शैलीको होइन र भाषाशैली कवितामय होस् तर देखावटी होइन । लोरी मूरको पुरानो भनाइ उधारो लिने हो भने, ‘उपन्यास फेन्सी होस्, तर अत्यधिक बनावटी नहोस् ।’
तर अचानक म आधा पुस्तक पनि पढ्न नसक्ने अवस्थामा पुगें । कुनै पनि पुस्तक पढ्ने क्षमता रहेन मेरो ! जस्तासुकै बेस्टसेलर, जस्तासुकै सुन्दर पुस्तक, केहीले पनि मलाई बाँधेन । सबै कुराले झर्को लाग्थ्यो । धनियाँको स्वाद अब साबुनजस्तो लाग्न थालेजस्तो भएको थियो ।
यो घटना मेरालागि चानचुने थिएन । यसले मभित्र अस्थिरता बढायो किनभने मेरो आत्मबोध र संसारलाई बुझ्ने तरिका ठूलो हदसम्म पुस्तकहरूले नै बनाएका थिए । म सानो हुँदा अन्तर्मुखी थिएँ । म किताबहरू सधैं साथमा बोकेर हिँड्थेँ । ती मेरो ढाल थिए, सान्त्वना थिए । मलाई किताबले नै बचाएका थिए भन्दा हुन्छ ।
म भाँच्चिएको त्यो समयमा, मलाई त्यस्ता उपन्यासहरू मन पर्थे, जसका कथावाचक महिलाहरू हुन्थे । प्रायः आमाहरूलाई जीवन वा प्रेमले कुल्चिएको हुन्थ्यो । म ती उपन्यासका वाक्यहरूको अप्रत्याशित कवितामय सौन्दर्यमा यति हराउँथेँ कि कहिलेकाहीँ आफू सानो भएर ती वाक्यभित्र हिँड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
म ती शब्दहरुसँग कति मोहित थिएँ भन्ने बुझाउन मसँग यहाँ यति ठाउँ छैन कि जेनी अफिलको ‘डिपार्टमेन्ट अफ स्पेकुलेशन’ वा सिग्रिड नुनेजको ‘द फ्रेन्ड’का सम्पूर्ण अंश उद्धृत गरूँ । त्यसैले सुसी बोयटको ‘लभ्ड एन्ड मिस्ड’बाट एउटा सानो, तर कठोर रूपमा सुन्दर अनुच्छेद मात्रः

त्यो गर्मीमा अन्त्येष्टिहरूको वर्षा भयो ।
‘यी विवाहजत्तिका खराब हुँदैनन्,’ जीनले भनिन्, ‘कम्तीमा क्षति त पहिले नै भइसकेको हुन्छ ।’

मेरो मनोदशा पनि लगभग त्यस्तै थियो ।
मलाई आफू ‘भाँचिएको पाठक’ भएको कुरा बुझ्न हप्तौं लाग्यो । सुरुमा मलाई लाग्यो, मैले लगातार नराम्रा पुस्तक छानेँ । त्यै भएर मलाई पठन मन नपरेको होला । त्यसपछि मैले जोखिम लिन चाहिनँ । त्यसपछि मैले त्यस्ता किताबहरू मात्र उठाउन थालेँ, जुन पहिल्यै पढिसकेर मन पराएको थिएँ । अर्थात् पहिलेकै स्वादका  । तर यो रणनीति भयावह चलचित्रको दृश्यजस्तो बन्यो । मैले एउटा उपन्यास किनेर घर ल्याएँ, २० पृष्ठमै छाडिदिएँ र त्यसलाई ¥याकमा राख्न जाँदा के थाहा पाएँ भने मैले त्यो पुस्तक पहिले नै किनिसकेको रहेछु र पहिले पनि मन नपराएकै रहेछु ।
तपाईँले कहिल्यै आफूले मन पराएको कुनै चीजप्रति आनन्द हराएको अनुभव गर्नुभएको छ भने, तपाईँ अनुमान गर्न सक्नुहुन्छ कि मेरो अवस्थाको केही सम्बन्ध अवसादसँग पनि थियो ।
ठीकै हो । केही समयदेखि यो देश एक निश्चित दिशातर्फ तीव्र गतिमा जाँदै थियो । अवसादले हात लाग्ने सबै कुरा कब्जा गर्न चाहन्छ । ‘त्यो कुन चीज हो जसले तिमीलाई सधैं शान्त बनाउँछ ? ओह, पढाइ ? लु, अब त्यो पनि गयो ।’
मैले केही प्रयोग गरें ।
एउटा सजिलै पढ्न सकिने पुस्तक खोज्नुको सट्टा, मैले जानाजानी कठिन पुस्तक किनेँ । 
त्यो एउटा चर्चित साहित्यिक उपन्यास थियो, जसलाई म ‘क्लाउडी विद् अ चान्स अफ प्लट’ भन्छु । मैले त्यो उपन्यास एउटै कारणले किनेको थिएँ । म आफूलाई प्रमाणित गर्न चाहन्थेँ कि म अझै पनि किताब किनेर पूरै पढ्न सक्छु । वास्तवमा मैले त्यो पढेकोभन्दा पनि ‘टम्र्स एन्ड कन्डिसन्स’ सम्झौताका शब्दहरू स्क्रोल भइरहेको जस्तो हेरेँ । कुनै लेखकलाई यति कम निष्पक्ष मौका सायद कहिल्यै दिइएको थिएन ।
अर्को प्रयोगका लागि म आफ्नो सबैभन्दा सुरक्षित ठाउँमा फर्किएँ । भनाइको अर्थ, मैले जीवनभर प्रेम गरेका उपन्यासहरूलाई पुनःपठन थालें ।
यदि तपाईँ ‘भाँचिएको पाठक’ हुनुहुन्छ भने, केही गल्ती चाहिँ बिल्कुलै नगर्नुहोस् ।
महिनाहरू बित्दै गए । त्यस वर्ष केही चर्चित पुस्तकहरू निस्किए । ‘डेमन कपरहेड’, ‘ट्रस्ट’ र ‘टुमरो एन्ड टुमरो एन्ड टुमरो’मध्ये कुनैको पनि ५० पृष्ठभन्दा बढी पढ्न सकिनँ । यीमध्ये दुईले त पुलित्जर पुरस्कार जितेका थिए । दुईवटा उपन्यास फिल्मान्तर हुने भएका थिए । तीनवटै बेस्टसेलर थिए । मैले ती पुस्तकलाई आफ्नो ¥याकमा एकअर्काबाट टाढा राखेको छु, ताकि तिनीहरूले ‘यो कस्तो बुद्धु, हामीलाई पढ्नै सकेन’ भनी मेरो कुरा नकाटून् ।
हालै मैले सुसन डेन्नार्डलाई सन्देश पठाएँ । उनी पनि मजस्तै ‘भाँचिएको पाठक’ थिइन् । उनलाई मैले पठनलाई कसरी निरन्तरता दिइन् भनेर सोधेको थिएँ । 
‘त्यो बेला मेरो करियरको सबैभन्दा कठिन समयमा म थिएँ,’ उनले भनिन्, ‘त्यो करिब २०१५ तिर थियो । व्यक्तिगत र सिर्जनात्मक दुवै रूपमा म निकै संघर्ष गरिरहेकी थिएँ ।’
उनी आफ्नो जटिल ‘विचल्यान्ड्स’ श्रृंखलामा काम गरिरहेकी थिइन् । खाली समयमा उनको स्नायु प्रणालीले केही गैर–काल्पनिक पुस्तक सहन सक्थ्यो तर फ्यान्टसी साहित्य भने बिल्कुल सहन सक्थिनन् ।
‘यसको धेरै हिस्सा असुरक्षासँग सम्बन्धित थियो,’ उनले भनिन्, ‘म आफूले लेख्न खोजिरहेको कुरा र आफूले पढिरहेको कुरा बीच तुलना गर्न रोक्न सक्दिनथेँ । अनि आफ्नो दिमागमा थप शब्द भर्नुपर्ने विचार नै असह्य लाग्थ्यो । म अरूका शब्द र आफ्ना शब्द एकैचोटि सम्हाल्न सक्दिनथेँ । म केवल पाठकका रूपमा होइन, लेखकका रूपमा पनि पूर्ण रूपमा भाँचिएकी थिएँ ।’
उनले अर्को विधाको कथा साहित्य पढ्नेबारे सोचिनन् पनि । ‘म केही सुरु गर्थें, दुई अध्यायसम्म पुग्थें, अनि ‘हुन्न, सकिँदैन’ भन्थें,’ उनले सुनाइन् ।
उनको त्यो खडेरी करिब पाँच वर्षसम्म लम्बियो तर यसबाट बच्न उनले फोनबाट सामाजिक सञ्जालका एप हटाउनु सबैभन्दा उपयोगी साबित भयो । तर उनले कम श्रमसाध्य उपन्यासहरू लेख्न पनि थालिन् । उनको लत लाग्ने ‘लुमिनरिज्’ श्रृंखलामा अनौठो राक्षस–शिकारीहरूको समाज छ । अनि फ्यान्टसी पढ्न असफल भइरहनुको सट्टा, उनले साथीले सुझाएका ऐतिहासिक प्रेमकथाहरू धमाधम पढ्न थालिन् ।
बिस्तारै सूर्य फेरि उदाउन थाल्यो ।
मेरो आफ्नै खडेरीको शृंखला भने सन् २०२२ को अन्त्यतिर सकियो, करिब १० महिनापछि ।
मलाई वर्षौँअघिको एउटा न्यू योर्कर कार्टुन धमिलो याद छ । त्यसमा एउटा चालक ट्राफिकमा अड्किएको छ र सडकछेउको बोर्डमा लेखिएको छः “१० माइलपछिः ट्राफिक रहस्यमय रूपमा तीव्र हुन्छ ।’
सायद लेखकहरू अरू पाठकभन्दा छिटो ‘भाँचिन्छन्’, किनभने यसमा अहंकार र पेशागत जोखिमहरू पनि जोडिएका हुन्छन् ।
तर मैले पछि बुझें, मेरो समस्या वास्तवमा मेरो पेशासँग सम्बन्धित थिएन, न त २१औं शताब्दीको कमजोर ध्यान क्षमतासँग । त्यो बढी पाठकका रूपमा विकसित गरेको मेरो ‘अधिकारबोध’सँग सम्बन्धित थियो ।
एकपटक सामाजिक सञ्जालमा पुस्तक सिफारिस माग्दै मैले आफूले पढ्न नचाहने पुस्तकहरूको सूची नै लेखेको थिएँः जेन अस्टिनको पुनर्कल्पना गरिएका कथाहरू नसुझाउनोस् । उस्तै नाम भएका पाँच जना कथावाचक भएका उपन्यास नबताउनोस् । मुख्य पात्र कुनै सहर, दशक वा विचार भएका उपन्यासलाई नसुझाउनोस् । नेब्रास्काकी कुनै महिलाले आफ्ना आमाबाबुको पुराना प्रेमपत्रले भरिएको बाकस भेट्टाउने कथा त झनै नबताउनोस् । दाँत दुखिरहेको वृद्ध पुरुषले आफ्नो एसयूभीले कुनै जनावरलाई ठक्कर दिएपछि वर्षौंपछि पहिलोपटक रोएको कथा भएका उपन्यास नसुझाउनोस् ।
मलाई थाहै नभई मैले प्रत्येक उपन्यासकारलाई पहिलो शब्ददेखि नै ‘परीक्षणकाल’मा राखेको रहेछु । मैले लेखकभन्दा आफू धेरै जान्दछु भन्ने सोच त्याग्नुपथ्र्यो । उनीहरूले वर्षौं लगाएर तयार गरेको यात्रामा आफूलाई सुम्पिनुपथ्र्यो । मैले बिस्तारै पढ्न सिक्नुपथ्र्यो र आफूलाई सम्झाउनुपथ्र्यो कि कुनै पुस्तक मन परेन भने पनि पृथ्वी सूर्यभित्र तानिँदैन ।
२० वर्षको उमेरतिर मेरो मनपर्ने उपन्यास इटालो काल्भिनोको ‘इफ अन अ विन्टर्स नाइट अ ट्राभलर’ थियो । त्यसले पढ्दा डुब्नुको आनन्द के हो भन्ने बुझाउँछ । पहिलो अध्यायमै काल्भिनोले पढ्न तयार हुने विस्तृत निर्देशन दिन्छन् । सकेसम्म आरामसँग बस, उनी भन्छन् । कोठाबाट सबै विचलन गराउने वस्तु तथा चिजहरु हटाऊ । प्रकाश मिलाऊ । सबैलाई बाहिर जान भन ।
संक्षेपमा, पढ्न सुरु गर्नुअघि अरू सबै विचार हटाऊ, ताकि आफूलाई ‘अपेक्षाको त्यो युवाजन्य आनन्द’ वैध रूपमा दिन सकियोस् । अपेक्षा ? युवाबेलामा अपेक्षाको अर्थ भय होइन, उत्साह हुन्थ्यो । मैले केही दिनअघि ‘इफ अन अ विन्टर्स नाइट अ ट्राभलर’ फेरि पढ्न सुरु गरें । पहिलेझैं यसले मलाई रोमाञ्चित बनायो । तर अब त्यो मेरो मनपर्ने उपन्यास भने रहेन । म अहिले काजुओ इशिगुरो, हारूकी मुराकामी र जोसे सारामागोका पुस्तकहरू सम्झन्छु, जसले अलगाव, अमानवीयता र सामाजिक पतनबारे अझ गहिरो चोट पु¥याए । म अहिले कुनै एउटा पुस्तकलाई ‘सबैभन्दा मनपर्ने’ सुचीमा राख्न सक्दिनँ किनभने अझै धेरै यस्ता पुस्तकहरू बाँकी छन्, जसलाई मैले छोएकै छैन ।
तर म फेरि नियमित रूपमा पढ्न थालेको छु । मेरो मनपर्ने उपन्यास ? म अझै त्यसको खोजीमै छु ।
(न्युयोर्क टाइम्सबाट साभार)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्