कुनै बेला एउटा अत्तर रोज्नु भनेको जीवनभरको प्रतिबद्धता जस्तै मानिन्थ्यो । मानिसहरूले आफ्नो मनपर्ने सुगन्धलाई दशकौंसम्म विशेष अवसरमा प्रयोग गर्थे । तर अचेल अवस्था भने बिल्कुल फरक छ । अहिले धेरै मानिससँग एउटै अत्तरमा सीमित हुनुको सट्टा विभिन्न सुगन्ध भएका धेरै बोतलहरूको संग्रह हुन्छ ।
यही परिवर्तनले बेलायतको अत्तर बजारलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । उपभोक्ताहरू अहिले विशिष्ट (निस) ब्रान्ड रोज्ने, आफ्नै ‘फ्रेग्रेन्स वार्डरोब’ अर्थात् विभिन्न अवसरका लागि छुट्टाछुट्टै अत्तरको संग्रह बनाउने तथा दुई वा बढी अत्तर मिसाएर आफूलाई मात्र चिनिने नयाँ सुगन्ध सिर्जना गर्ने प्रयोगमा आकर्षित भइरहेका छन् ।
लण्डनको अक्सफोर्ड स्ट्रिटस्थित सेल्फ्रिजेजको फ्रेग्रेन्स हलमा अत्तरको बिक्री गत वर्षको तुलनामा करिब २० प्रतिशतले बढेको छ । दुई वर्षअघिको तुलनामा ग्राहकहरूले अत्तरमा गर्ने खर्च पनि झन्डै एक–पाँचौंले वृद्धि भएको छ । सेल्फ्रिजेजका अनुसार ग्राहकहरू अब स्थापित विलासी ब्रान्डको नामभन्दा पनि आफ्नै पहिचान झल्काउने फरक सुगन्ध खोज्न थालेका छन् ।
बजार अनुसन्धान संस्था युरोमोनिटरका अनुसार अत्तर अहिले सौन्दर्य उद्योगको सबैभन्दा तीव्र गतिमा बढिरहेको क्षेत्रमध्ये एक बनेको छ । धेरै उपभोक्ताले अत्तरलाई ‘सुलभ विलासिता’ (अफोर्डेबल लक्जरी)का रूपमा लिन थालेका छन् । बेलायतमा गत वर्ष अत्तरको बिक्री ८ प्रतिशतले बढेर ३.३ अर्ब पाउन्ड पुगेको छ । यसले बेलायतलाई युरोपकै सबैभन्दा ठूलो अत्तर बजार बनाएको छ ।
यस प्रवृत्तिलाई सामाजिक सञ्जालले झन् गति दिएको छ । कोभिड–१९ महामारीका बेला लकडाउन अवधिमा अत्तरप्रेमीहरूले समीक्षा, सिफारिस र खरिदसम्बन्धी सुझावहरू अनलाइनमार्फत साझा गर्न थाले । त्यसैबाट ‘परफ्युमटक’को उदय भयो, जसले अहिले कम परिचित अत्तरलाई पनि अत्यधिक लोकप्रिय बनाउन सक्ने शक्तिशाली माध्यमको रूप लिएको छ ।
विशेषगरी ‘सेन्ट लेयरिङ’ अर्थात् दुई वा बढी अत्तर मिसाएर व्यक्तिगत सुगन्ध बनाउने अभ्यास निकै लोकप्रिय बनेको छ । टिकटकमा सेन्टलेयरिङ ह्यासट्याग भएका भिडियोहरू ३२ करोड ५० लाखभन्दा बढी पटक हेरिएका छन् ।
यस प्रवृत्तिलाई लोकप्रिय बनाउन प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि ठूलो भूमिका छ । आलिया कुलको सेन्ट लेयरिङबारेको एउटा भिडियो मात्रै करिब सात लाख ५० हजार पटक हेरिएको छ । हेयली क्लफले आफ्ना लाखौं अनुयायीलाई नियमित रूपमा अत्तर सिफारिस गर्छिन् भने सोफी मरेले जीवनशैली र फेसनसँग अत्तरसम्बन्धी सामग्रीलाई जोडेर अझ व्यापक दर्शकमाझ पु¥याएकी छन् ।
यसको परिणामस्वरूप नयाँ पुस्ताले एउटै अत्तरभन्दा विभिन्न सुगन्धको संग्रह बनाउन रुचाउन थालेको छ । सेल्फ्रिजेजकी ब्युटी खरिद निर्देशक मेलिसा म्याकगिनिस भन्छिन्, ‘पहिले कुनै व्यक्ति कोठामा प्रवेश गर्दा उसले लगाएको अत्तर सजिलै चिन्न सकिन्थ्यो । अहिले भने त्यस्तो कम हुँदै गएको छ । ग्राहकहरू आफ्नै पहिचान झल्किने विशिष्ट सुगन्ध खोजिरहेका छन्, चाहे त्यो स्वतन्त्र अत्तर उत्पादकबाट होस् वा विभिन्न अत्तर मिसाएर आफैं सिर्जना गरिएको किन नहोस् ।’
यस प्रवृत्तिसँगै साना तथा विशिष्ट अत्तर उत्पादक कम्पनीहरूको लोकप्रियता पनि बढेको छ । फ्रान्सेली अत्तर कम्पनी मातिएर प्रिमियर, ओमानको विलासी ब्रान्ड अमोआज तथा इस्तानबुलस्थित अत्तर निर्माता निशाने अहिले विशेष चर्चामा छन् ।
युगभको सर्वेक्षणले पनि उपभोक्ताले अब बोतलमा लेखिएको ब्रान्डभन्दा सुगन्धलाई बढी प्राथमिकता दिने गरेको देखाएको छ । सर्वेक्षणमा सहभागी ८६ प्रतिशतले अत्तर किन्दा सबैभन्दा महत्त्वपूर्ण पक्ष सुगन्ध भएको बताएका छन् । त्यसपछि २१ प्रतिशतले मात्र ब्रान्डलाई मुख्य आधार मानेका छन् । सर्वेक्षणअनुसार आधा उपभोक्ता अझै पनि एक वा दुई मनपर्ने अत्तरमै सीमित छन् । तर पाँचमध्ये एक जनाले भने एउटै अत्तर पटक–पटक किनिरहनुभन्दा नयाँ–नयाँ सुगन्ध प्रयोग गर्न रुचाउने बताएका छन् ।
यही बढ्दो रुचिलाई ध्यानमा राख्दै खुद्रा विक्रेताहरूले ग्राहकलाई ‘फ्रेग्रेन्स वार्डरोब’ तयार गर्नसम्बन्धी परामर्श सेवा पनि दिन थालेका छन् । त्यसो त, सामाजिक सञ्जालको प्रभाव व्यापक भए पनि, युगभको अध्ययनले अधिकांश उपभोक्ताले नयाँ अत्तरबारे अन्तिम निर्णय भने अझै पनि पसलमै गएर सुगन्ध सुँघेपछि मात्रै गर्ने गरेको देखाएको छ ।