चोरीलाई सबै मानव समाजमा सार्वजनिक अपराध मानिन्छ, चाहे त्यो सानो होस् वा ठूलो । नेपाली समाजमा उखान नै छ, सियो चोर्ने पनि चोर फाली चोर्ने पनि चोर । यसको तात्पर्य के हो भने कुनै पनि कामको हेतु अहम् हो, मात्रा होइन ।
गलत काम जतिसुकै सानो किन नहोस् त्यो क्षम्य मानिँदैन । यसो जरो नैतिकतासँग गाँसिएको हुन्छ । नैतिकरूपले उच्च समाजमा गलत काम जतिसुकै सानो किन नहोस् त्यसलाई मात्रामा होइन सत्य र असत्य, न्याय र अन्यायको कसीमा हेरिन्छ र अक्षम्य मानिन्छ ।
तर चोरीलाई मात्रा हेरिकन, अवस्था हेरिकन मानवीय कमजोरीका रूपमा व्याख्या गर्दै क्षम्य मानिएका नजिर पनि छन् । तर, हालैको जेनजी विद्रोहका क्रममा जुनरूपमा पसल, व्यवसाय, घरहरू लुटिए त्यसले नेपाली समाजमा सुषुप्तरूपमा रहेको सामूहिक मानसिकता प्रस्फुटित हुन पाउँदा नेपाली समाजमा लुटतन्त्र र चोरी गहिरोसँग गाडिएर बसेको छनक देखिएको छ ।
आफूलाई सभ्य भन्ने केही युरोपेली मुलुकमा दंगा हुँदा पसलहरूबाट मिनरल वाटरका बोतल चोरिँदा समाजको नैतिक पतनमाथिको बहस चुलिएको थियो । चोर्ने कर्मले मानिसको नैतिक जिम्मेवारी शून्य भएको र सामाजिक मूल्यमा चरम लापरवाह रहेको पुष्टि गर्छ । यहाँनेर भीडको मानसिकतालाई मनोविद्हरूले गर्ने चर्चा सान्दिर्भिक देखिन्छ ।
उनीहरूका भनाइमा एक्लै हुँदा नचोर्ने व्यक्तिले भीडमा हुँदा निर्धक्कसँग चोर्ने गर्छन् । त्यो कुरा हालैको उपद्रवमा विद्यालयका शिक्षकसम्म पनि चोरीमा संलग्न भएको घटनाले पुष्टि गर्छ । समाजमा उदाहरणीय बन्नुपर्ने शिक्षक पनि चोर बन्न तम्सने अवस्था भीडतन्त्र मात्र हो कि समाजमा स्खलित हुँदै गएको नैतिकताको पनि कारक हो भन्ने बहस छेड्नुपर्ने बेला भएको देखिन्छ ।
हुन त समाजलाई नेतृत्व गर्ने नेतृत्वले नै ‘लुटतन्त्र’ मच्चाइरहेको जनआक्रोशको विष्फोट पनि यो विद्रोहमा देखिएको हो । नेतृत्ववर्गले उनीहरूमाथि तेर्सिएको आर्थिक अनियमिताको प्रश्नहरूलाई सार्वजनकि मञ्चबाटै हाकाहाकै हप्काएको अवस्थाले नेतृत्वको नैतिक पतनमाथि निकै टीका–टिप्पणी भएकै हुन् । तर यो विद्रोहमा नागरिकका तर्फबाट लुटतन्त्रमा देखिएको संलग्नता भने कसैगरी क्षम्य मान्न सकिँदैन ।
यसले समाज अधोगतिमा गइरहेको संकेत गर्दछ । भीडतन्त्रको लुटमा मान्छे कतिसम्म अन्धवेगमा होमिए भन्ने भन्ने दुःखद दृष्टान्त चुच्चेपाटीमा रहेको भाटभटेनीको शाखामा छ जनाको शव भेटिनुले पनि पुष्टि गरेको छ । के यो नेपाली समाजको स्वाभाविक चरित्र हो त ?
जसरी युवापुस्ताले २०४६ सालपछि सत्तासीन दल, जो आफूलाई निर्विकल्प ठान्थे तिनलाई एकै झमटमा पाखा लगाइदिए भने आफ्नो पार्टीबाट सर्वेसर्वा नेताको आधिकारिता पाएको २४ घण्टा पनि बित्न नपाई निवर्तमान प्रधानमन्त्री ओली नैतिक पतन हुनेगरी सत्ताच्यूत भए ।
यसरी युवाले एकातिर एउटा नयाँ आशा देखाए भने अर्कातिर युवापुस्ता नै लुटमा लागेर देशको भविष्यप्रति पनि सोचमग्न बनाइदिए । यो नेपाली समाजको अन्तनिर्हित चरित्र होइन, यसो हुनुहुँदैन । यदि दमित इच्छा र आकांक्षाले गस्रित भएर भीडतन्त्रले उचालिएर लुटमा लागेको भए पनि अब कहिल्यै त्यस्तो नहोस् भनेतर्फ आत्मिक सचेतना जगाउनुपर्ने देखिएको छ ।
आर्थिक असमानताका कारण अवसर नपाउँदा पनि व्यक्तिमा त्यस्तो मानसिकता विकास हुने अर्थविद् बताउँछन् । त्यसैले अब सुशासनको पाइला चाल्ने सरकारले समानताका आधारहरूलाई पनि विस्तार गर्दै धेरैभन्दा धेरै युवापुस्तालाई अवसर र आर्थिक उपार्जनमा संलग्न गराउने वातावरण बनाउनुपर्छ ।
मान्छेले आक्रोश पोख्न लुटपाट गर्ने गर्छ, तर यहाँ एक कदम अघि बढेर राज्यविहनीताको अवस्थमा अराजक तत्त्वले खेल्ने काम गरेको देखिन्छ । यो कृत्यमा संलग्न एक–एकलाई छानबिन र कारबाहीको दायरामा ल्याउँदै नेपाली समाजको उच्च नैतिकतालाई उजागर गर्नुपर्ने देखिन्छ ।