नेभिगेशन
मनोरञ्जन

शीरनको कन्सर्ट टुरमा संकट

प्यालेस्टाइनको समर्थनमा बोलेका अमेरिकी ¥यापर म्याकलमोरलाई भ्रमण दलबाट हटाइएपछि बेलायती गायक एड शीरनको उत्तर तथा दक्षिण अमेरिकी सांगीतिक भ्रमण संकटमा परेको छ ।
म्याकलमोरको समर्थनमा चार सांगीतिक समूह तथा कलाकारले शीरनसँगको भ्रमणबाट बाहिरिने निर्णय गरेका छन् । यसले उनीमाथि आफ्नो धारणा स्पष्ट पार्न दबाब बढाएको छ । तर, शीरनले म्याकलमोरलाई हटाउने निर्णय आयोजकको भएको बताएका छन् । उनले गाजाको युद्धबारे सार्वजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन् ।
मंगलबार आयरल्यान्डका आरोन रो र बिओगा, डेनमार्कको लुकास ग्राहम समूह तथा अमेरिकी संगीतकार फिनियसले भ्रमणबाट बाहिरिने घोषणा गरे । उनीहरूले प्यालेस्टाइनको समर्थनमा बोलेका कलाकारलाई चुप गराउने प्रयासको विरोध गरेका छन् ।
यो घटनाक्रमको सुरुवात सेप्टेम्बर ५ मा न्यूजर्सीस्थित मेटलाइफ रंगशालामा भएको थियो । शीरनको ‘लुप टुर’अन्तर्गतको कार्यक्रममा म्याकलमोरले आफ्नो विरोध गीत ‘हिन्द्स हल’ प्रस्तुत गर्नुअघि ‘प्यालेस्टाइन स्वतन्त्र होस्’ भन्ने नारा लगाएका थिए ।
उनले इजरायलको आलोचना, रंगभेदको विरोध र नरसंहारको विरोधलाई यहुदी समुदायमाथिको आलोचनासँग जोड्न नहुने बताएका थिए । त्यसको केही दिनपछि म्याकलमोरलाई भ्रमणबाट हटाइएको थियो ।
म्याकलमोरका अनुसार अमेरिकाका केही रंगशालाले आयोजकलाई आफूले शीरनको मुख्य प्रस्तुति अघि कार्यक्रम गर्न नदिने बताएका थिए । उनले न्यू इङ्ल्यान्ड प्याट्रियट्सका मालिक रोबर्ट क्राफ्टको दबाबमा आफूलाई हटाइएको दाबी गरेका थिए ।
क्राफ्टले सोमबार जारी गरेको वक्तव्यमा म्याकलमोरका पछिल्ला टिप्पणी र विगतका अभिव्यक्तिलाई निर्णयको कारण बताएका थिए । उनका अनुसार ती अभिव्यक्तिले यहुदी समुदायलाई गम्भीर चोट पु¥याएका थिए । क्राफ्टले म्याकलमोरमाथि यहुदीविरोधी अभिव्यक्ति र चित्रणको आरोपसमेत लगाएका थिए ।
म्याकलमोरको बहिर्गमनपछि शीरनले मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरे । उनले म्याकलमोरलाई हटाउने निर्णय आफ्नो नभई भ्रमणका प्रवर्धकको भएको बताए । ‘मैले टुरका आयोजकसँग लामो छलफल गरें । तर रंगशाला र आयोजकको निर्णय अन्तिम रह्यो,’ शीरनले लेखेका छन् ।
उनले पहिले नै टिकट लिएका दर्शक, भ्रमणमा काम गर्ने कर्मचारी र अन्य कलाकारलाई निराश पार्न नचाहेको बताएका छन् । आफ्नो संगीतले विभिन्न पृष्ठभूमि र संस्कृतिका मानिसलाई जोड्ने काम गर्ने उनको भनाइ छ ।
गाजाको युद्धबारे आफ्ना व्यक्तिगत धारणा भए पनि सार्वजनिक रूपमा नबोल्ने उनले बताएका छन् । ‘म दोषी साझेदार होइन,’ उनले लेखेका छन् ।
शिरन र म्याकलमोर दुवै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार हुन् । तर उनीहरूको सांगीतिक पहिचान र सार्वजनिक अभिव्यक्तिको शैली फरक छ ।
शीरन विश्वभर लोकप्रिय बेलायती गायक तथा गीतकार हुन् । ‘शेप अफ यू’, ‘परफेक्ट’ र ‘थिंकिङ आउट लाउड’ उनका चर्चित गीत हुन् । उनले पप, लोक संगीतलाई जोडेर ठूलो आफ्ना स्रोता धेरै बनाएका छन् । उनका कन्सर्टमा हजारौं दर्शक सहभागी हुन्छन् ।
म्याकलमोर भने सामाजिक तथा राजनीतिक विषयमा खुलेर बोल्ने अमेरिकी ¥यापर हुन् । ‘थ्रिफ्ट शप’ र ‘क्यान्ट होल्ड अस’ उनका चर्चित गीत हुन् । उनले ‘हिन्द्स हल’मार्फत गाजामा इजरायली सैन्य कारबाहीको विरोध गरेका छन् । उनको गीतको शीर्षक गाजामा मारिएकी बालिका हिन्द रजबको नामसँग जोडिएको छ ।
म्याकलमोरको समर्थनमा कलाकारहरूले भ्रमण त्यागेपछि शीरनको कार्यक्रम व्यवस्थापनमा पनि चुनौती थपिएको छ । समाचार एजेन्सी एपीका अनुसार, भ्रमणका बाँकी अमेरिकी कार्यक्रम सेप्टेम्बर १९ मा फिलाडेल्फियाबाट पुनः सुरु हुने तालिका छ । त्यसपछि बोस्टन, एटलान्टा र इन्डियानापोलिसमा  हुनेछन् ।
द गार्डियनका अनुसार, चारै सहयोगी कलाकारले भ्रमण छाडेपछि शीरनको आगामी कन्सर्टमा पूर्वनिर्धारित सांगीतिक संरचनामा परिवर्तन आउने संकेत देखिएको छ ।
आरोन रोले शीरनलाई आफ्नो मित्र र जीवन परिवर्तन गर्ने कलाकार भनेका छन् । तर प्यालेस्टाइनका पक्षमा बोल्ने आवाज दबाउन अर्बपतिहरूले शक्ति प्रयोग गरेको भन्दै उनले भ्रमण छाडेको बताएका छन् । बिओगाले पनि उपनिवेशवादको इतिहास सम्झाउँदै प्यालेस्टाइनका पक्षमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।
लुकास ग्राहमले आर्थिक शक्तिले कसले बोल्न पाउने भन्ने निर्धारण गर्न नहुने बताएको छ । फिनियसले भने उत्पीडितका पक्षमा बोल्ने कलाकारलाई चुप गराउन नहुने उल्लेख गरेका छन् । यी भनाइहरूले कलाकारहरूको सामूहिक असन्तुष्टि उजागर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्