नेभिगेशन
मनोरञ्जन

वर्षाले नेपाली चलचित्र व्यवसाय प्रभावित

लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल वर्षाका कारण चलचित्र हलसम्म पुग्ने दर्शकको संख्या घटेसँगै व्यवसाय प्रभावित भएको हो । 
    मौसम प्रतिकूल भएपछि दर्शक हलसम्म पुग्न नसक्दा प्रदर्शनरत चलचित्र तथा शुक्रबारदेखि प्रदर्शनमा आएका नयाँ चलचित्रको व्यापार अपेक्षित रुपमा नभएको हल सञ्चालकको भनाइ छ ।
    बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण बुधबारदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यही मौसमकाबीच शुक्रबार तीन नेपाली चलचित्र ‘आचार्य’, ‘बा ः एक योद्धा’ र ‘जदौ’ प्रदर्शनमा आएका थिए । वर्षाका कारण अपेक्षाकृत कम दर्शक देखिएको बताउँदै  हल सञ्चालकले देशभर क्रमशः अब मौसम सफा भई दर्शकको उपस्थिति बढ्ने विश्वास व्यक्त गरेका छन् ।   
    विशेषगरी नयाँ चलचित्रका लागि प्रदर्शनको पहिला तीन दिन नै महŒवपूर्ण मानिन्छ । तर, चलचित्र हलसम्म पुग्ने वातावरण नै प्रतिकूल बनेपछि नयाँ चलचित्रले अपेक्षित व्यापार गर्न कठिन भएको सञ्चालकको अनुभव छ । 
    काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले अहिलेको मुख्य चुनौती फिल्मको ‘कन्टेन्ट’भन्दा पनि दर्शक हलसम्म आउने वातावरण नभएको बताए ।
    “अहिलेको मुख्य चुनौती दर्शक हलसम्म आउने वातावरण नभएको हो । लगातारको वर्षाका कारण दर्शक हलसम्म पुग्न सकिरहेका छैनन् । बिहान र दिउँसोका ‘शो’हरूमा ५० प्रतिशतसम्म हल भरिएका छन् तर साँझ शून्यजस्तै छ । कति स्थानमा ‘हाई अलर्ट’ सूचना जारी भएको हुँदा मानिस बाहिर निक्सन सकिरहेका छैनन्,” शर्माले बताए ।
    चलचित्र ‘बाः एक योद्धा’का निर्देशक हरि लम्सालले फिल्मप्रति दर्शकको चासो हुँदाहुँदै पनि मौसमले असर गरेको बताए । उनी भन्छन्, “रिलिज भएको पहिलो तीन दिन नै दर्शकको उपस्थिति मौसमअनुसार घटबढ भइरहेको छ । पानी रोकिएपछि व्यापारले गति लिनसक्ने हाम्रो अपेक्षा छ ।”
    यता, वर्षाको प्रभाव नयाँ चलचित्रमा मात्र होइन, अघिल्लो सातादेखि प्रदर्शनरत चलचित्रमा परेको छ । ‘पेन्सन पट्टा’ र ‘बेहुली’ भदौको अन्त्यतिर र ‘झिँगेदाउ २’ असोजको सुरुआतमा दर्शक तानिरहेका चलचित्र हुन् । 
    यस्तै, ‘पार्वती’, ‘तिनीहरू ः एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ लगायतका चलचित्र पनि हलमा प्रदर्शनरत छन् । तर, पछिल्लो समय आएको लगातार वर्षाले यी चलचित्रको नियमित व्यापारिक गतिलाई असर पारिरहेको देखिन्छ ।
    चलचित्र ‘पेन्सनपट्टा’का वितरक रोहित कट्टेलले फिल्म ‘रिलिज’को समयमा दर्शकको साथ नै सबैभन्दा महŒवपूर्ण हुने तर, अहिले लगातार पानी परिरहेका कारण मानिस घरबाट बाहिर निस्कन कठिन भएकाले यसको प्रत्यक्ष प्रभाव हलको ‘अकुपेन्सी’मा देखिएको बताए । 
    “पेन्सनपट्टाले पहिलो र दोस्रो हप्ता निकै राम्रो व्यापार गरेको थियो । तेस्रो हप्तामा पनि यसले थप राम्रो व्यापार त गरेको छ तर शुक्रबारदेखि नै अविरल वर्षाको प्रभाव भने देखिएको छ । मंगलबारदेखि व्यापारमा पुनः रफ्तार आउनेमा आशावादी छु,” कट्टेलले भने ।
    असोज महिना नेपाली चलचित्रका लागि महŒवपूर्ण समय मानिन्छ । यस वर्ष असोजमा मात्रै करिब एक दर्जन नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । दसैँको आसपास चलचित्रको व्यापार बढ्ने अपेक्षा गरिए पनि मौसमको अनिश्चितताले निर्मातादेखि प्रदर्शकसम्मलाई चुनौती थपेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन