काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको चुनाव जितेनन् तर उनले हारेका पनि छैनन् । न त उनी, न उनका प्रमुख प्रतिद्वन्द्वीसँग सरकार बनाउने स्पष्ट बाटो नै छ तर एउटा कुरा के स्पष्ट भएको छ भने, यति धेरै राजनीतिक आरोप र बदनामी बोकेका नेतान्याहुले निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पूर्वसैन्य प्रमुख गादी आइजेनकोटको नेतृत्वमा रहेका उनका विरोधीहरू मंगलबारको यस निर्णायक चुनावमा निकै विश्वस्त देखिन्थे । उनीहरूले सर्वेक्षणहरूमा लगातार अग्रता लिइरहेका थिए र मुख्यतया यहुदी पार्टीहरूको मात्र भर परेर स्पष्ट बहुमत ल्याउने लक्ष्यमा उनीहरू ढुक्क थिए ।
यसको तुलनामा नेतान्याहु निकै कमजोर अवस्थामा चुनावमा होमिएका थिए । अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको भन्दै उनीप्रति जनताको चरम आक्रोश थियो । अदालतको शक्ति घटाएर आफू शक्तिशाली बन्न खोजेको चारवर्षे कार्यकालको थकाइ र अति–कट्टरपन्थी यहुदीहरूलाई सैन्य सेवामा पठाउन नसकेको भन्दै जनता उनीसँग रुष्ट थिए । यति हुँदाहुँदै पनि, मंगलबारको चुनावमा उनको लिकुड पार्टीले अन्य सबैलाई उछिनेको छ ।
शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामले नेतान्याहुको ५३ सिट जितेको अति–दक्षिणपन्थी गठबन्धन र ४८ सिट सुरक्षित गरेको मुख्य विपक्षी गठबन्धन, दुवैसँग सरकार बनाउन पर्याप्त बहुमत छैन । यस परिणामले हप्तौंसम्म चल्ने राजनीतिक दाउपेच र अनिश्चितताको मञ्च तयार गरेको छ । साथै, यसले यहुदी विपक्षी नेताहरूलाई अत्यन्तै कठिन विकल्प रोज्नुपर्ने दोबाटोमा उभ्याइदिएको छ ।
अब उनीहरूसँग दुईवटा विकल्प छन् । पहिलो, नेतान्याहुका केही अतिवादी सहयोगीहरूलाई बाहिर राखेर सम्भावित राष्ट्रिय सहमतिको सरकारमा सामेल हुने । दोस्रो, नेतान्याहु र बहुसंख्यक इजरायली यहुदीहरूले राजनीतिक रूपमा अछुत मान्दै आएका अरब बहुल पार्टीहरूसँग मिलेर आफ्नै बहुमतको सरकार बनाउने । तर, यो अनिर्णयका बीचमा नेतान्याहुले भने आफ्नो पद जोगाइराख्नेछन् ।
नेतान्याहुले यो सफलता कसरी हात पारे भन्ने कुरामा कुनै आश्चर्य छैन । एक राजनीतिक जादुगरका रूपमा चिनिएका यी पाका इजरायली नेताले यसपटक कुनै नयाँ चाल भने चलेनन् । तर, उनले आफ्ना पुराना चालहरू नै यसपटक पनि निकै प्रभावकारी हुनेछन् भन्ने कुरा अरूले भन्दा राम्ररी बुझेका थिए । तीमध्ये प्रमुख चाल थियो, इजरायलीहरूको डरमाथि खेल्ने उनको कला ।
नेतान्याहुले इजरायली मतदाताहरूलाई सम्झाए– यदि अक्टोबर ७ को घटना इजरायलको इतिहासकै सबैभन्दा विनाशकारी दिन थियो भने, वेस्ट बैंकमा प्यालेस्टाइनी राज्यको स्थापना भएपछि आउने त्रासदी त्योभन्दा कयौं गुणा भयानक हुनेछ । यो एकदमै झुटो तर्क थियो । इजरायलका विपक्षी नेताहरूमध्ये सबैभन्दा वामपन्थी मानिएका डेमोक्रेट्स पार्टीका याइर गोलानले मात्र दुई–राष्ट्र समाधानको बारेमा सकारात्मक कुरा गरेका थिए । तर उनले पनि अक्टोबर ७ पछि प्यालेस्टाइन राज्यको स्थापना तत्काल असम्भव रहेको बताएका थिए ।
तैपनि, नेतान्याहुले लगाएको यो आरोपलाई विपक्षीहरूले खण्डन गर्न सकेनन् । नेतान्याहुले ठूलाठूला होर्डिङ बोर्डहरूमा ‘यामिन ओ फिलास्टिन’ (दक्षिणपन्थी वा प्यालेस्टाइन) लेखेर सनसनी मच्चाएका थिए । यसका साथै, नेतान्याहुले इजरायलका अरब नागरिक र उनीहरूका राजनीतिक नेताहरू सत्तामा पुग्ने त्रासलाई पनि राम्रैसँग प्रयोग गरे ।
सन् २०२१ र २०२२ मा सरकारमा बसिसकेका मन्सुर अब्बासजस्ता अरब राजनीतिज्ञहरूलाई उनले देशको आन्तरिक दुस्मन र यदि सत्तामा पुगे भने देशकै लागि भयानक हुने भन्दै लगातार चित्रण गरिरहे । उनले बनाएका धेरै एआई–निर्मित विज्ञापनहरूमध्ये एउटामा अब्बास र डेमोक्रेट्सका गोलानलाई ‘ट्रोजन हर्स’ (काठको घोडा) भित्र लुकेर इजरायली किल्लाभित्र प्रवेश गर्दै गरेको देखाइएको थियो । अर्को विज्ञापनमा अब्बास खुट्टा पसारेर हुक्का तान्दै क्याबिनेट टेबलमा बसेको र आइजेनकोट नेतृत्वको सरकारले ल्याएका प्यालेस्टाइन विरोधी सुरक्षा प्रस्तावहरूलाई भिटो लगाउँदै गरेको देखाइएको थियो । अनि अब्बास खुसी हुँदै प्यालेस्टाइन राज्यतर्फ विश्वास बढाउन यहुदी समुदायहरूलाई हटाउने प्रस्तावमा स्वीकृति दिन्छन् ।
गत मंगलबार जब अरब मतदाताहरू कीर्तिमानी संख्यामा मतदान गर्न ओइरिए, नेतान्याहुले रचेको यो अरब–विरोधी पृष्ठभूमिले उनलाई निकै फाइदा पु¥यायो । उनले यो ऐतिहासिक उपस्थितिलाई दक्षिणपन्थीहरूका लागि ‘खतराको घण्टी’का रूपमा व्याख्या गरे । सामाजिक सञ्जालमा टाउको छोपेका वा ऊँटमा चढेर भोट हाल्न जाँदै गरेका अरबहरूको तस्बिर पोस्ट गर्दै उनले अन्य पार्टीलाई भोट हाल्ने सोचमा रहेका दक्षिणपन्थी इजरायलीहरूलाई ‘यो हाम्रो जीवन र मरणको सवाल हो’ भन्दै लिकुडलाई भोट हाल्न आग्रह गरे ।
‘इजरायलमा अरबहरूलाई कमजोर देखाउने भाष्य निर्माण भइरहँदा, अरब क्षेत्रमा हुने उच्च मतदानले आफूलाई घाटा गर्दैन भन्ने कुरा उनले उहिल्यै बुझिसकेका थिए भन्ने मलाई लाग्छ,’ ¥यान्ड संस्थाकी इजरायली विश्लेषक शिरा एफ्रोनले भनिन् ।
वास्तविकता त के हो भने, अब्बास र उनको राम पार्टीले यहुदी सांसद र इजरायली जनताबाट स्विकार्यता पाउन निकै प्रयास गरिरहेका छन् । उनीहरू भविष्यको सरकारमा सहभागी हुने र मन्त्री पद नै पाउने दाउमा छन् । अब्बासले इजरायल एउटा यहुदी राज्य थियो र रहिरहनेछ भनेर स्वीकारेका छन् । चुनावअघि त उनले यहुदी सांसद योआभ सेगालोविट्जलाई राम पार्टीको उम्मेदवार सूचीको दोस्रो नम्बरमै राख्ने साहसिक कदम चालेका थिए ।
दुई अरब पार्टीहरूमध्ये ठूलो मानिएको तीन साना दलहरूको गठबन्धन ‘जोइन्ट लिस्ट’मा प्यालेस्टाइनी राष्ट्रवादी गुट समावेश छ र यसलाई यहुदीवादको कट्टर विरोधी मानिन्छ । यसका नेता युसुफ जबारीनले नेतान्याहुको सरकार ढाल्न आफू सहयोग गर्न तयार रहेको बताएका छन् तर सत्ता गठबन्धन बाहिरको नयाँ प्रधानमन्त्रीलाई समर्थन गर्नेबाहेक जोइन्ट लिस्टले सरकारलाई अन्य कुनै सहयोग गर्ने अपेक्षा कमैले गरेका छन् ।
नेतान्याहुको चुनावी अभियानलाई अन्य तŒवहरूले पनि फाइदा पु¥यायो । अरब सांसदहरूसँग मिलेर सरकार बनाउने कुरालाई आइजेनकोटले कहिल्यै पूर्ण रूपमा अस्वीकार गरेनन् र यसमा कुनै खराबी छ भनेर उनले कडा प्रतिकार पनि गरेनन् । अर्कातर्फ, विपक्षी गठबन्धन आइजेनकोटको पछाडि पूर्ण रूपमा एकताबद्ध हुन सकेन । किनकि उनका सहयोगीहरू, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र पूर्वरक्षामन्त्री एभिग्डोर लिबरम्यान, अझै पनि आफैं प्रधानमन्त्री बन्ने सपना बुनिरहेका थिए ।
यसबाहेक नेतान्याहुले राष्ट्रपति ट्रम्पसँगको आफ्नो सम्बन्धको पनि फाइदा उठाए, जसले उनलाई खुलेर समर्थन गरेका थिए । नेतान्याहुले पदमा रहिरहँदाको शक्ति प्रयोग गर्दै चुनावी एजेन्डालाई आफ्नै नियन्त्रणमा राखे र इरान तथा उसको आणविक महŒवाकांक्षामाथि मात्रै सबैको ध्यान केन्द्रित गर्न सफल भए । यो भने इजरायली मतदाताहरूका लागि डरको अर्को ठूलो कारण बन्न पुग्यो ।
अब कस्तो सरकार बन्ला ?
इजरायलको भर्खरै सम्पन्न चुनावमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि त्यहाँको राजनीति अहिले अनिश्चितताको मोडमा पुगेको छ । १२० सदस्यीय इजरायली संसद (नेसेट) मा सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ । अन्तिम नतिजाअनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी तथा धार्मिक गठबन्धनले ५३ सिट जितेको छ भने गादी आइजेनकोट नेतृत्वको मुख्य विपक्षी गठबन्धनले ४८ सिट मात्रै ल्याएको छ । यस्तो अवस्थामा ऐतिहासिक रूपमा १९ सिट जित्न सफल अरब–नेतृत्वका पार्टीहरू आगामी सरकार निर्माणमा निर्णायक शक्तिका रूपमा उदाएका छन् । अब इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले दलहरूसँग परामर्श गरी सरकार बनाउन कुनै एक नेतालाई २८ दिनको समयसीमा तोक्नेछन् । नयाँ सरकार नबनुन्जेल नेतान्याहुले कामचलाउ प्रधानमन्त्रीकै रूपमा सत्ता सम्हाल्नेछन् । नयाँ सरकार निर्माणका विषयमा मुख्य तीनवटा सम्भावना देखिएका छन् ।
पहिलो सम्भावना, विपक्षी दलहरूले आफ्ना पुराना अडान छाडेर अरब पार्टीहरूको समर्थनमा गठबन्धन वा अल्पमतको सरकार बनाउन सक्छन् । दोस्रो, विपक्षी दलहरू र नेतान्याहुको पार्टी मिलेर अतिवादीहरूलाई बाहिर राख्दै बृहत् राष्ट्रिय सहमतिको (एकता) सरकार बनाउन सक्छन् र तेस्रो सम्भावना, यदि दलहरूबीच कुरा मिलेन र गठबन्धन निर्माणको यो कसरत असफल भयो भने इजरायलले आगामी वर्षको सुरुमै फेरि अर्को नयाँ चुनावको सामना गर्नुपर्ने हुन सक्छ ।
अब आगामी केही हप्ता इजरायलको राजनीति निकै कठिन राजनीतिक वार्ता र दाउपेचबाट गुज्रिने देखउिको छ ।