नेभिगेशन
राजनीति

भिडियो सन्देशमा गगनले भने- ‘मेरो हात सफा छ, एक सुकाको लेनदेन छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गरिने हल्लाका बीच उनले आफ्नो नैतिक धरातल कमजोर नरहेको भन्दै आफ्नो हात सफा रहेको दाबी गरेका छन् । बुधबारबाटै आफू निगरानीमा रहेको र पक्राउसम्म हुन सक्ने सूचना पाएका थापाले बिहीबार भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउन खोजिएको आरोप लगाए । 
आफ्नो हात सफा रहेको र कुनै पनि अनुचित आर्थिक लेनदेनमा संलग्न नभएको दाबी दोहो¥याएका छन् । पार्टीको आधिकारिकता विवादसँग जोडेर बिचौलिया इनम सापकोटाको नाममा सार्वजनिक भएको अडिओलाई आधार बनाएर आफू र पार्टीको नेतृत्वमाथि प्रश्न उठाइएको भन्दै उनले त्यसलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिएका छन् । थापाले कांग्रेस र पार्टी नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको स्पष्ट पारेका छन् । सभापति थापाले भने, ‘करोडको कुरा गर्छन्, कांग्रेसको आधिकारिकताको लडाइमा, राजनीतिक, कानुनी लडाइमा रूपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन ।’

उनले सापकोटाको नाममा सार्वजनिक भएको अडिओमा आफ्नो नाम जोडिएको विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै पत्रकार सम्मेलनमार्फत जवाफ दिइसकेको उल्लेख गरे । पार्टी आधिकारिकता लिन निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ गर्न १८ करोडको कुरा भएको भन्दै थापालाई पक्राउ गर्ने चर्चापछि बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै शर्माले त्यसका सत्यता नभएको दाबी गरेका थिए । 
‘यो बदनियतका साथ चलाइएको हल्ला हो । यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौ । कांग्रेस पार्टी र पार्टीको नेतृत्व सबै खालका अनुसन्धानका लागि तयार छ,’ थापाले भने । उनले इनमको भनिएको अडिओ कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताए । अडिओमा सुनिएका भनाइ वास्तविक हुन् वा कसैलाई बोलाइएको हो भन्नेबारे पनि स्पष्ट नभएको उनको भनाइ छ । यद्यपि, यस प्रकरणमा एकपछि अर्को तथ्य बाहिर आउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री बालेन शाहको ‘एक दुई जना उम्कन्छु भनेर नसोचे हुन्छ’ भन्ने चेतावनीपूर्ण स्टाटसलाई लिएर थापाले भोलिपल्ट बेलुकी ६ बजे ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै जवाफ दिएका थिए । बालेन र गगन दुवैको स्टाटसमा नाम भने उल्लेख छैन । 

उनले सार्वजनिक भएको अडिओलाई लिएर आफूहरूलाई प्रश्न गर्नेभन्दा पनि अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग तथ्य खोज्नुपर्ने बताए । इनम अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेकाले उनीसँगै यस प्रकरणमा जोडिन सक्ने सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ ।  ‘अब प्रश्न हामीलाई सोध्ने होइन । प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने । अनुसन्धान निष्पक्ष भयो कि भएन भनेर हेर्ने र यसमा को–को जोडिन्छन्, ती सबै कुरा खोतल्ने,’ थापाले भने । उनले सञ्चारमाध्यम र यस विषयमा चासो राख्ने सबै पक्षलाई अनुसन्धानको निष्पक्षतामाथि निगरानी गर्नसमेत आग्रह गरे ।
‘डराएर अरु पार्टीका नेता भेटेको होइन’
अडिओ सार्वजनिक भएपछि आफूले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको विषयलाई पनि थापाले स्वाभाविक राजनीतिक संवादका रूपमा व्याख्या गरेका छन् । आफू डराएर वा दबाबमा परेर नेताहरूलाई भेट्न थालेको भन्ने प्रचारमा सत्यता नरहेको उनको भनाइ छ । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेको र त्यसका लागि अन्य राजनीतिक दलसँग संवाद गर्नु आफ्नो जिम्मेवारी भएको उनले बताए । 
सोही क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको उनले खुलाए ।

‘म नेपाली कांग्रेस पार्टीको सभापति छु । मेरो पार्टी सभापतिका रूपमा केही जिम्मेवारी छन् । मधेस प्रदेशको सरकार कांग्रेसको छ । अबको पाँच–सात दिनभित्र विश्वासको मत लिनुपर्ने छ । अरू राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ,’ उनले भने, ‘कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन । जे गर्ने हो, खुला गर्ने हो ।’
थापाले वर्तमान सरकार पाँच वर्षको जनादेश लिएर आएको भन्दै त्यसलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, सरकारको ध्यान मुलुकका जल्दाबल्दा समस्यामा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएका नागरिकको पुनस्र्थापना, सुकुम्बासी समस्या, रोजगारी सिर्जना, लगानीको वातावरण र अर्थतन्त्रको सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने उनले बताए ।
उनले सरकारलाई सही काममा कांग्रेसको साथ रहने तर गलत काममा निरन्तर प्रश्न उठाउने चेतावनी पनि दिए । लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए कांग्रेस मूकदर्शक भएर नबस्ने उनको भनाइ छ । ‘जहाँ गल्ती गर्छ, त्यहाँ हाम्रो प्रश्न रहन्छ । लोकतान्त्रिक अधिकारलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौं । बोल्छौं, प्रश्न गर्छौं, प¥यो भने प्रतिवाद गर्छौं,’ उनले भने ।

सरकारमाथि प्रश्न उठाएपछि नियोजित प्रहारको आरोप
सरकारमाथि प्रश्न उठाउन थालेकै समयदेखि आफूविरुद्ध नियोजित भाष्य निर्माण गर्न खोजिएको थापाको आरोप छ । यस्ता प्रचारले कांग्रेसको राजनीतिक भूमिका र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी कमजोर नहुने उनले बताए । आफ्नो राजनीतिक जीवनमा यसअघि पनि शक्तिशाली सत्ता र आफ्नै पार्टी नेतृत्वको सरकारका गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले अहिले पनि आफू कुनै दबाबमा नपर्ने बताए । उनले आफ्नो राजनीतिक अडानको आधार नै नैतिक बल र स्वच्छता भएको दाबी गरे । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरो हातमा दाग छैन। मनमा कुनै कालो छैन। मेरो हात सफा छ । माई ह्यान्ड्स आर क्लिन,’ उनले भने ।
आफूविरुद्ध विगतमा पनि पटक–पटक चरित्रमाथि प्रश्न उठाउने प्रयास भएको तर त्यसबाट विचलित नभएको भन्दै शुभेच्छुकलाई आश्वस्त पार्दै उनले आफ्नो नैतिकता र इमानदारितामाथि विश्वास गर्न आग्रह गरे । भिडियो सन्देशमा थापाले अहिलेको सबैभन्दा महत्वपूर्ण विषय आफूविरुद्धको प्रचार नभई सार्वजनिक प्रश्न गर्ने अधिकारको संरक्षण भएको बताए । नियोजित हल्लाका कारण सरकार र सत्तालाई प्रश्न गर्ने विषय ओझेलमा पर्न नहुने उनको भनाइ छ ।
‘यत्रो प्रायोजित हल्लाहरूका बीचमा सही प्रश्न मर्नु हुँदैन । प्रश्न म¥यो भने लोकतन्त्र सकिन्छ । लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ उनले भने, ‘आजको सबभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौं भन्ने हो ।’ उनले लोकतन्त्रको रक्षा गर्न नागरिक, सञ्चारमाध्यम र राजनीतिक दल सबैले प्रश्न गर्ने अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन् ।
‘पक्राउको हल्ला सत्तापक्षबाटै’ 
कांग्रेसले पार्टी सभापति थापालाई पक्राउ गर्न लागिएको भन्ने भ्रम सत्तापक्षबाटै नियोजित रूपमा फैलाइएको दाबी गरेको छ । बिहिबार सानेपामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकपछि महामन्त्री  प्रदीप पौडेलले यस्तो जानकारी गराएका हुन् । सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न र ध्यान भड्काउन यस्तो दुष्प्रचार गरेको निष्कर्ष कांग्रेसले निकालेको हो ।
बैठकपछि पौडेलले सभापतिलाई पक्राउ गर्ने कुनै कानुनी आधार र प्रमाण नरहेको दाबी गरे । उनले भने, ‘पार्टी सभापतिलाई पक्राउ गर्ने निराधार हल्ला सत्तापक्षबाटै चलाइएको छ,’ उनले भने, ‘यदि पक्राउ गर्ने नै हो भने त्यसको तथ्य र आधार पुष्टि गर्नुपर्ला । बिनाआधार चलाइएको यस्तो निराधार हल्लाको पार्टीले सशक्त रूपमा प्रतिवाद गर्छ । कांग्रेस चुप बस्दैन ।’
बैठकमा पछिल्लो समय सरकारले चालेका विवादास्पद तथा शक्ति दुरुपयोगका कदमहरूबारे गम्भीर समीक्षा भएको छ । विशेषगरी मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको प्रकरण, अदालतका बिचौलिया भनिएका इनाम सापकोटा पक्राउ र त्यससँग जोडिएका रहस्यहरु, दानबहादुर कार्कीलाई नेपाल प्रहरीका महानिरीक्षकबाट हठात् हटाउने र कारबाही गर्ने प्रकरण लगायतका विषयमा बैठकमा घनिभूत छलफल भएको छ ।
यी घटनाक्रमले विधिको शासन, प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षा निकायमाथि सरकारले हस्तक्षेप बढाएको कांग्रेसको ठम्याइ छ । सरकारका यस्ता स्वेच्छाचारी र विवादास्पद कदमविरुद्ध संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले तयारी गरेको छ । यी विषयहरू संसद्मा कुन प्रक्रियाबाट उठाउने र कसरी प्रतिवाद गर्ने भन्नेबारे पार्टीका संसदीय दलका नेता तथा विभिन्न विषयगत संसदीय समितिमा रहेका सांसदहरूसँग पदाधिकारीहरूले आवश्यक परामर्श गरेका छन् ।
संसद्मा जनसरोकारका विषय, विधिको शासनको रक्षा र सरकारको गैरकानुनी कार्यशैलीविरुद्ध एकताबद्ध र प्रभावकारी ढंगले आवाज उठाउने रणनीति कांग्रेसले तय गरेको महामन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपा र सरकारबीच टसल !

रास्वपा र सरकारबीच टसल !

कार्कीको रिट अध्ययनमा

कार्कीको रिट अध्ययनमा