नेभिगेशन
राजनीति

कार्कीको रिट अध्ययनमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले बिहीबार दर्ता गरेन । रिट अध्ययनका लागि राखिएको जानकारी अदालतले कार्कीका कानुन व्यवसायीलाई दिएको छ । सरकारले बुधबार कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् । 
मन्त्रिपरिषद्को निर्णयलगत्तै बुधबारै गृहमन्त्री सुधन गुरुङले केसीलाई दज्र्यानी चिह्न लगाइदिई प्रहरी प्रमुखको पदभार ग्रहण गर्न लगाइसकेका छन् । अदालतले रिट निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेसी तोक्ने गरेको छ । यसअनुसार कार्कीको रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बिहीबारको बैठकमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ । शुक्रबार बिहान साढे ९ बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तय भएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्