गत शनिबारदेखि केही दिन मुलुकभर भएको वर्षामध्ये सर्वाधिक वर्षा रौतहटमा भयो । सो वर्षाले जिल्लालाई डुबानमा पार्यो । डुबानले ४ सय १२ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने २ हजार ४ सय ७४ जना विस्थापित भएका छन् ।
नेपाल–भारत सीमामा भारतले एकतर्फीरूपमा बनाएको बाँधका कारण गौरलगायत आधा दर्जनभन्दा बढी पालिका डुबानमा परे । सदरमुकाम गौरका विभिन्न भागमा बुधबारसम्म तीन फिटसम्म पानी जमिरहेको थियो । चार दिन बित्दा पनि पानी नघटेको अवस्था छ ।
भारतले सीमावर्ती बाँधमा रहेको निकास ढोका खोल्न नमानेका कारण नेपालतर्फ डुबान भएको हो । नेपाली अधिकारीहरूले भारतीय अधिकारीसँग पटक–पटक समन्वय प्रयास गरे पनि अपेक्षाकृत सहयोग मिल्न नसकेको बताइएको छ । भारतले लकडाउनको मौका छोपी दशगजा मिचेर बलियो बाँध बनाएको घटनाको साक्षी स्थानीय छन् । 
इशनाथ नगरपालिकाको बन्जराहदेखि मझौलासम्म करिब तीन किलोमिटर लामो, १५ फिट अग्लो र १० मिटर चौडा बाँध निर्माण गरिएको थियो । यो बाँधमा नेपालतर्फको पानी निकासका लागि आउटलेट बनाइएको छैन । जसले गर्दा सो ठाउँमा प्राकृतिक रूपमा पहिलादेखि ओरालोतर्फ बगेर गइरहेको पानीको निकास नै थुनियो । यसले डुबानलाई निरन्तरता दिइरह्यो र खेतमा लगाइएका किसानका बालीनाली नष्ट हुन क्रम चल्न थाले ।
गौर नगरप्रमुखले बाँधका ढोका खोल्न भारतीय अधिकारी र मन्त्रीसम्म संवाद भएको बताइए पनि समस्या समाधान हुन सकेको छैन । अहिले ठूलो संकट टरे पनि यो समस्या भोलिका दिनमा पनि निरन्तर हुने नै छन् । समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, संघीय सरकारले भारतसँग द्विपक्षीय वार्तालाई अघि बढाउनुपर्ने देखिन्छ । 
विज्ञ भन्छन्, तटबन्धले सुरक्षा हुन्छ भन्ने ज्ञान माथि नै समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । तटबन्धले समस्याको दीर्घकालीन समाधान नदिई एकातर्फको समस्यालाई अर्कोतर्फ स्थानान्तरण गर्ने मात्र हो, भन्नेमा यो क्षेत्रमा काम गरेका विज्ञहरूले जोडतोडका साथै बताउँदै आएका छन् । 
कोशी नदीको सुरक्षाको लागि बनाइएको तटबन्धले खास समस्या समाधान नभएको र यसले समस्या स्थानान्तरण मात्र गरेको कुरा कोशीमा चार पटक आएका ठूला बाढी र तटबन्ध भत्केको घटनाको विश्लेषण गरेका अध्येयताले बताएका छन् । हाल रौतहटमा डुबानको सन्दर्भ दुई देशबीचको मामला पर्यो ।
यसर्थ यसको लागि उच्चस्तरीय समिति जुन कति विद्यमान छन्, तर गतिशील बनेका छैनन्, तीनलाई गतिशील बनाउँदै दुई देशबीचको वार्तालाई घनिभूत बनाएर, समस्या समाधानको पहल हुनुपर्छ । 
किन पनि भने, यो हाम्रो अहिलेको मात्र होइन भोलि भोलिको पनि समस्या हो । र यो घटना अहिले रौतहटमा देखिए पनि समग्र नेपाली तराइ क्षेत्रको कुरा हो । एकातिर हामी रोटी बेटी र सनातनी सम्बन्धको कुरा गर्छौं, त्यो सम्बन्ध ठूलो र बलशाली भारतले नेपाललाई डुबानमा पारेर नेपालीजनलाई पीडामा र मर्कामा राख्ने भन्ने उद्देश्य त कदापि होइन ।
विश्व सन्दर्भमा हेर्दा बाँध, बाढी र डुबानमा विगतमा अपनाइएको ठूला तटबन्ध बनाउने कामले राम्रो नगरेको विज्ञहरूले नै बताउँदै आएका छन् । समुद्रभन्दा होचो भूभाग भएको नेदरल्याण्डले डुबान व्यवस्थापनमा नविन र वैकल्पिक विधि अपनाएर समस्या समाधान गरेको अवस्था छ भने उकालोमा रहेको नेपाल र ओरालोमा रहेको भारतबीचको पानी र डुबानको समस्या समाधान ठूलो विषय नहुनु पर्ने हो । 
तर पनि समस्या देखिएका छन् । यो समस्याको हल आपसी संवादमार्फत खोजेर समाधानका पहल खोजिनुपर्छ । विगतमा पञ्चायतकालमा र २०४६ सालको प्रजातन्त्र पुनःस्थापना पछिका बेलामा पनि यसतर्फ हेरिएन भनेर असन्तोष गर्नेले वर्तमान सरकारमार्फत द्वियपक्षीय सम्बन्ध सुधारको प्रयास गरे कसो होला !