नेभिगेशन
दृष्टिकोण

स्वामित्व र नियन्त्रणको भ्रम

जीवनको सत्य यही हो कि संसार त चलिरहन्छ यो अस्तित्वको निरन्तरता हो । हामी सोच्न सक्छौं– यदि म छैन भने के संसार रोकिएला ? के मेरा अभावमा केही नहुन सक्छ ? तर सत्य के हो भने, संसार हाम्रो उपस्थितिबिना पनि चलिरहन्छ । सूर्य उदाउँछ, हावा बहन्छ, वर्षा वर्षिन्छ, मानिसहरू आफ्नो कर्ममा तल्लिन रहन्छन्, र जीवन निरन्तर प्रवाहमा बगिरहन्छ ।

हामीसँग भएका भौतिक सम्पदा सबै एकदिन बितेरै जानेछन् । सधैं रहने छैनन् । जब यो बोध आउँछ, तब हामी अनावश्यक नियन्त्रण, अहंकार र स्वामित्वको भावबाट स्वतन्त्र हुन थाल्छौँ । अन्यथा हामी आफूलाई जति नै विद्वान, बुद्धिमान, शासक, नेतृत्व हाक्ने नेता या वैज्ञानिक नै भएपनि यो भौतिक अस्थायित्वको मर्म थाहा हुन्न र स्वामित्व र नियन्त्रणको भ्रम हामीबाट हट्दैन त्यो नै सबैभन्दा दुःखको कारण हो । 

प्रायः सबै न मानिस सोच्छन्– ‘यो मेरो हो, मैले बनाएको हो, मैले परिवर्तन ल्याएको हो, म विना केही सम्भव छैन ।’ तर, यो सोच नै पीडाको कारण हो । हामी संसारका स्रष्टा होइनौं, केवल यात्री हौं । नेतृत्व, पद, सम्पत्ति, सम्बन्ध–सब अस्थायी हुन् । आज जसले शासन गर्छ, भोलि उसको नाम इतिहासमा रहने हो व्यक्तिको रूपमा ऊ पनि हराउन सक्छ ।

परिवर्तनको स्वभाव र स्वीकार्यता 

बाहिरको भौतिक संसार र भित्रको मानसिक संसार दुबै निरन्तर परिवर्तनको यात्रामा छन् । कुनै पनि कुरा स्थिर छैन– न हाम्रो शरीर, न परिस्थिति, न सम्बन्ध, न हाम्रो सोच । जीवनको हरेक क्षण एउटा नयाँ रूपमा जन्मिन्छ, र पुरानो क्षण हराउँछ । यही निरन्तर प्रवाह नै अस्तित्वको लय हो । परिवर्तनको स्वाभाविकतालाई साक्षी भएर हेर्न र त्यसलाई स्वीकार्न सक्नु बास्तविक सिकाई हो । हामी हरेक बिहान नयाँ सूर्य देख्छौं, तर सोच्ने गर्दैनौं– यो त नयाँ बिहान हो ।

त्यसरी नै, हामी हरेक दिन अलिकति बदलिरहेका हुन्छौं– हाम्रो शरीरको कोशिकादेखि हाम्रो सोचसम्म । र पनि मानिसले स्थिरता खोज्दछ, किनभने स्थिरतामा उसलाई सुरक्षाको अनुभूति हुन्छ । तर, जीवन स्थिर हुन सक्दैन । स्थिरता त यो शरीर छुटेपछि मात्र आउला अन्यथा परिवर्तन नै जीवनको संकेत हो । समय, सम्बन्ध, अवस्था, र अस्तित्व सबै परिवर्तनशील छ । यो सत्य स्वीकार्न सक्नु भनेको नै परिपक्वता आउनु हो, बोधको गहिराई हो । स्वीकार्यता हार होइन, समझ हो ।

स्वीकार्यता भन्नाले ‘सब ठीक छ, म केही गर्न सक्दिन’ भन्ने निराशा होइन । यो त जीवनलाई जस्तो छ, त्यस्तै बुझ्ने परिपक्वता हो । जब हामी स्वीकार गर्छौं, तब प्रतिरोध हराउँछ । अन्यथा प्रतिरोधले त पीडा ल्याउँछ 'यो किन भयो?’, ‘म किन यस्तो परिस्थितिमा परें ?’, ‘यो त हुनै हुँदैनथ्यो ।’ तर जब हामी भन्छौं, ‘ठिक छ, यसमा पनि केही सन्देश छ, केही सिकाइ छ’ त्यो क्षणबाट नै मन हलुका हुन्छ । त्यसैले स्वीकार्यता निष्क्रियता होइन, बरु सक्रिय सजगता हो ।

अस्वीकार र पीडाको सम्बन्ध 

मानव पीडाको मूल कारण नै अस्वीकार हो । जे भयो, त्यसलाई ‘हुनु हुँदैनथ्यो’ भन्ने सोचले हामीलाई पीडित बनाउँछ । तर जब हामी भन्छौं, ‘यो पनि ठीक छ, यो पनि जीवनको हिस्सा हो’ त्यो क्षण पीडा हराउँछ । हामी दुःखलाई होइन, दुःखप्रतिको प्रतिक्रिया हटाउँछौं । जीवनमा सुख र दुःख, लाभ र हानि, सफलता र असफलता सब परिवर्तनका रूप हुन् । कुनै पनि एक अवस्था सधैं रहँदैन ।

dr-gen-z-1755403013.jpg
डा. नम्रता पाण्डे 

जब यो बोध आउँछ, तब मनमा गहिरो शान्ति स्थापना हुन्छ । अनि हामी राजी हुन्छौं– सबै कुरा ठीक छ, जसरी छ, त्यसरी नै रहोस् । स्वीकार्यताको परिणाम भनेकै सन्तुलन र शान्ति हो । जब हामी स्वीकार भावमा हुन्छौं, तब हाम्रो भित्री ऊर्जा सन्तुलित हुन्छ । हामी प्रतिक्रिया होइन, जवाफ दिन सिक्छौं । हामी परिस्थितिको दास होइन, साक्षी बन्छौं । यही साक्षीभाव नै ध्यानको सुरुवात हो र स्वजागरणको अवस्था हो ।

समग्रमा, परिवर्तन संसारको नियम हो, र स्वीकार्यता त्यसको ज्ञान । जब यी दुई कुरा जीवनमा मिल्छन्, त्यो क्षण मानिस अहंकार, भय र अनावश्यक नियन्त्रणबाट स्वतन्त्र हुन्छ । त्यसैले जीवनसँग युद्ध होइन, सहकार्य गर्न सिकौं । 

आत्मसजगता परिवर्तनको आधार 

अरूलाई बदल्ने मोहले आत्मसजगताबाट पर हुन्छ मानिस । हामी सोच्छौ, यदि मेरा वरिपरिका मानिस बदलिए जीवन सजिलो हुन्छ । सत्य के हो भने अरूलाई बदल्ने प्रयास कहिल्यै सफल हुँदैन । मान्छेको सोच, व्यवहार उसको संस्कार र चेतनासँग सम्बन्धित हुन्छ ।

हामी कसैलाई बदल्न सक्दैनौ, जबसम्म कोही आफै परिवर्तनका लागि तयार हुँदैन । त्यसैले, अरूलाई सुधार्नुअघि आफूलाई बुझ्नुपर्छ । आफैभित्र सजगता आएपछि, आफ्नो उपस्थितिले अरूमा परिवर्तन ल्याउँछ । शब्दले होइन, ऊर्जाले । त्यसैले आत्मसजगता सबै सवालको जवाफ हो । सबैभन्दा ठूलो क्षमता आफूलाई नेतृत्व गर्नसक्ने क्षमता हो ।

किनभने यति बोध हुँदा आफू भित्रको संसार शान्त भैसकेको हुन्छ । मानिस आत्मसजग हुन्छ, ऊ प्रतिक्रियात्मक होइन, सचेत भएर निर्णय लिन्छ । आत्मसजगता नै ध्यानको मूल हो जसले शान्ति, सन्तुलन र सही निर्णयको बाटो खोल्छ । अरूलाई जान्नुअघि आफैंलाई बुझ्नु नै सबै ज्ञानको शुरुवात हो ।

नेतृत्वको वास्तविक अर्थ

नेतृत्व भन्नाले अरूलाई चलाउने होइन, तर आफ्नो चेतनालाई ऊध्र्वगामी बनाउने कला हो । साँचो नेतृत्वमा स्वामित्व हुँदैन, त्यहाँ जिम्मेवारी– हुन्छ बिना अहंकारको । महान् नेताहरूले संसारलाई नियन्त्रण गरेनन्, बरु आफ्नो आत्मालाई बुझे, र त्यस बोधबाट उत्पन्न ऊर्जाले नागरिकलाई समेत प्रज्वलित गरे ।

भगवान बुद्ध, महात्मा गान्धी, वा ओशो सबै सन्तहरूले अरूलाई बदल्न होइन, आफूलाई बुझ्न सिकाए। उनीहरूले आफ्नै साधनाबाट जीवनको अस्थायित्व र सरलताबारे बोध गर्न सके। उनीहरूको देशना र आफ्नो अभ्याससंगै हामीले बिर्सनु हुँदैन–सबै भौतिक कुरा अस्थायी छन् ।

जीवन छोटो छ, तर रहस्यमय छ । हामी यस संसारमा केही समयका पाहुना मात्र हौं । जब यो सत्यलाई हृदयले बुझिन्छ, तब अनावश्यक प्रतिस्पर्धा, ईष्र्या र नियन्त्रण स्वतः हराउँछ । तपाईंको नेतृत्व, सम्पत्ति, प्रभाव सब अस्थायी हुन् । तर तपाईंको सजगता, तपाईंको चेतनाको स्तर– त्यो नै अमर छ । 

त्यसैले, अरूलाई होइन, आफैंलाई बदलौं । संसार त चलिरहन्छ, तपाईं नभए पनि । तर तपाईंले आफ्नो अस्तित्वलाई बुझ्नुभयो भने– त्यो संसारको सबैभन्दा ठूलो योगदान हुनेछ । त्यसैले संसारलाई बदल्ने होइन, आफूलाई बुझ्ने प्रयास गर्नुछ । जब हामी स्व–सचेत हुन्छौ, तब नै संसार स्वतः रूपान्तरण हुन्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्