विश्वभरका नेपालीहरूले मनाउने तिहार हाम्रो घर दैलोमा आइसकेको छ । तिहार शब्दले नै उत्सव जनाउँछ । नेपाली भाषाको तियार वा तिहार शब्द संस्कृतको त्रिरात्र शब्दबाट अपभ्रंश भएर बनेको मानिन्छ । वैदिक सनातनीहरूले वर्षैभरि अनेक सांस्कृतिक पर्व मनाउने क्रममा तिहार पनि एक मुख्य पर्वका रुपमा मनाउने गरिएको छ । नेपालमा मनाइने चाडपर्वमध्ये केही वेदमूलक चाडपर्व छन् भने धेरैजसो पौराणिक चाडपर्व छन् । 
नवरात्र र विजयादशमी शक्तिको आराधनासित सम्बन्धित चाड हो भने तिहार वा दीपावली धनधान्यको समृद्धिसँग सम्बन्धित छ । नेपालका चाडपर्वका प्रकृतिमा विविधता पाइन्छ । कतिपय चाडपर्वमा धर्म संस्कृतिका साथै ऋतुचर्या अनुसारका खानपानलाई महत्व दिइएको देखिन्छ । दसैंमा सेलरोटी र तिहारमा सेल, अर्सा, अनर्सा, फिनीजस्ता विविध प्रकारका रोटी तथा थरी–थरीका मिठाई बनाउने नेपालीको विशेषता हो ।
तिहारलाई यमपञ्चक पनि भन्ने गरिएको छ । रंगहरूको पर्व तिहारले जीवनका विविध आयामलाई समेटेको हुन्छ । शास्त्रीय मान्यताअनुसार आफ्ना राशि र तिनका स्वामी अनुसारको रंगको प्रयोग गर्दै घर, कोठा, कपडाको प्रयोग गरे मानिस सदैव प्रसन्न रहन्छ । विविध रंगले विविध भावको प्रतिनिधित्व गरेका हुन्छन् । 
रंगको पर्व तिहारमा फूलको पनि विशेष महत्व मानिन्छ । खासगरी सयपत्री र मखमलीले जीवनको आनन्द र दीर्घजीवनको संकेत गरेका हुन्छन् । शरद् ऋतुको अन्त्यमा पर्ने अर्थात् दसैंपछि आउने कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भनिन्छ । राणाकालमा यमपञ्चकमा जुवा खेल्न छुट दिने चलन भएको थियो । 
सो पाँच तिथि साँझमा देव, ब्राह्मण, गाई, घोडा, श्रेष्ठ पुरुष, साना वा कान्छा नरनारी र मातालगायतका कुटुम्बका मान्य स्त्रीहरूको पनि नीराजन गर्नुपर्छ अर्थात् दीप बालेर त्यसले आरती गर्नुपर्छ भन्ने निर्णयसिन्धुको उत्तिले दीपावलीको महत्वलाई दर्शाएको छ । पाँच दिनसम्म गरिने अधिकांश कर्म कुनै न कुनै रूपमा यमराजसित सम्बन्ध रहेकाले यी पाँच दिनलाई यमपञ्चक भनिएको पनि हुन सक्छ ।
यमपञ्चककै त्रयोदशीमा वैद्यहरू आयुर्वेदका आचार्य धन्वन्तरिको जयन्ती मनाउँछन् । विश्वमा प्रचलित उपचारपद्धतिमध्ये सबैभन्दा पुरानो उपचारपद्धति आयुर्वेद हो । अचेल यो उपचारपद्धति विश्वभरि नै लोकप्रिय हुँदै गएको छ । आयुर्वेदले व्याख्या गरेको कुनै पनि सिद्धान्तलाई आधुनिककालमा संसारभरि भएको अहिलेसम्मको लामो परीक्षणले पनि गलत साबित नगरेको हुँदा आयुर्वेदको ज्ञान शाश्वत र अनुसरणीय भएको पुष्टि हुन्छ । 
त्यस्तै, नेपालीले धनधान्यको समृद्धिका लागि तिहारमा निकै महत्व दिएर लक्ष्मीपूजा गर्छन् । अर्कोतिर, नेपालका नेवार समुदायले यसै शुक्लपक्षका प्रतिपदामा बेलुका म्ह–पूजा (आत्मपूजा) गर्छन् । यो महत्वपूर्ण पौराणिक कर्म हो । यो केवल लोकसंस्कृति मात्र नभएर शास्त्रीय संस्कृति पनि हो ।
तिहारमा मात्रै होइन, जहिले पनि लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् । केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटा घाटाहरू, मठ मन्दिरहरू, असहाय, दीन दुःखीको सेवामा लागेको धन पवित्र हुन्छ । 
यो पौराणिक मान्यतालाई पुँजीवादी कोणबाट हेर्दा पनि के भन्न सकिन्छ भने उद्योगीले श्रमिकको श्रमको सम्मान गर्नुपर्दछ, कसैलाई श्रममा लगाइसकेपछि उसको श्रमको ज्याला समयमै भुक्तानी गर्नु र सम्मानका साथ भुक्तानी गर्नु पनि लक्ष्मीपुजा गरे सरह नै हो । 
शास्त्रले भनेको छ, आम्दानीको १० प्रतिशतमा आफ्नो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नु कल्याण्कारी मानिन्छ । वर्तमानमा जीउन सक्नेले भोलिको स्वर्गको अपेक्षा पनि गर्दैन भन्ने मानिन्छ । त्यसैले सार्थक ढंगले नढाँटीकन, छलछाम नगरी बाँच्नु नै सच्चा बाँच्नु हो । छलमाट र भूmटमा लक्ष्मी पनि बस्नै सक्दिनन् भन्ने हामीले मनन गर्नुपर्दछ । धन, आयु, कीर्ति, यश चाहनेले देवी लक्ष्मीको उपासना गर्दा यी कुरामा पनि ध्यान दिनुपर्दछ ।
हाम्रा चाडपर्वले धर्म संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने हुनाले हामीले शास्त्रसम्मत अनुसार नै अभ्यास गर्ने प्रयास गर्नुपर्छ । नयाँ नवपुस्तामा पनि आफ्ना धर्म, संस्कृति, परम्परा, रीतिथिति, चाडपर्व, खानपान इत्यादिमा रुचि जगाएर तिनको संरक्षण गर्ने काममा उनीहरूलाई संलग्न गराउनु पर्छ । तिहारो शुभकामना !