नेभिगेशन
राजनीति

नयाँ दल दर्ताका लागि १८ वटा लाइनमा

१२४ दलमा थपिँदै, बुद्ध एयर सञ्चालक बस्नेत र धरानका मेयर हर्क साम्पाङले पनि गठन गरे आफ्ना दल 

संवाददाता, काठमाडौं, कात्तिक १२ 
जेनजी पुस्ताको विद्रोहपछि नयाँ राजनीतिक दल खोल्ने क्रम बढिरहेको छ । पुराना दलसँग असन्तुष्टिसहित आक्रोशमा जन्मेको जेनजी पुस्ताको विद्रोहपछि पनि राजनीतिक दल दर्तामा मोह देखिएको हो । सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको संवादहीनता हटाउन अग्रसरता देखाएपछि मुलुकमा चुनावी सरगर्मी बढ्ने देखिएको छ । योस“गै पुराना दलस“गका असन्तुष्टिमाझ आफूहरूले अघि आउन पाउने आकलन गर्दै नया“ दल गठनको गृहकार्य गर्नेहरूको दौडधुप बढेको छ । 

नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा गर्दै संस्थापक रेशम चौधरीले नेपाल थप्दै अर्को पार्टी दर्ताका लागि बिहीबार निर्वाचन आयोग पुगेका थिए । ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामको पार्टी दर्ताका लागि चौधरी आफ्ना सहकर्मीसँग निर्वाचन आयोगमा दर्ताको लागि विवरण पेस गरेका छन् । एउटै पोसाकमा निर्वाचन आयोग पुगेका उनीहरूले अध्यक्षमा कबीर सोपलाई बनाएका छन् भने पार्टीको चुनाव चिन्ह जाँतो माग गरेका छन् ।  डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खान पनि चौधरीसँगै आयोग पुगेका थिए । अब्दुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए । 

रेशमले स्थापना गरेको दल नागरिक उन्मुक्ति पार्टीमा पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष छन् । दुवैबीच कुरा नमिलेपछि नया“ पार्टीको नाममा ‘नेपाल’ शब्द थपेर रेशम नयाँ दल दर्ताको प्रक्रियामा गएका हुन् । 

मंगलबार नेकपा माओवादी केन्द्रबाट बाहिरिएको विप्लव समूहले ‘कम्युनिष्ट पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरिसकेको छ । यस अघि दुईपटकसम्मको चुनाव बहिष्कार गरेको विप्लव समूह भनेर चिनिने दल अब विधिवत् दर्ता प्रक्रियामा अगाडि बढेको हो । 

निर्वाचन आयोगमा १२४ वटा दल अद्यावधिक छन् । निर्वाचन आयोगमा दल दर्ता गरेर मात्रै पुग्दैन बर्सेनि अद्यावधिक गरिरहनुपर्ने कानूनी व्यवस्था छ । यो संख्या जेनजी विद्रोहभन्दा अगाडिकै हो । निर्वाचन आयोगका अनुसार भदौ २३ र २४ पछि बिहीबारसम्म १८ वटा दल दर्ताको लाइनमा थपिएका छन् । 

दशैंअघिदेखि दर्ताका लागि बिहिबारसम्म १८ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । नयाँ दर्ताका लागि बुझाइएका कागजात अध्ययन गरेर प्रक्रिया पूरा गरी प्रमाणपत्र दिने उनले बताए । 
‘आयोगमा यसअघि नै १२४ दल अद्यावधिक थिए । हालसम्म १८ वटा दल दर्ताका लागि विवरण पेश भएका छन्,’ उनले भने, ‘चुनाव घोषणा हुनुअघि नै दल दर्ताको निवेदन प्राप्त भएको थियो ।’ निर्वाचन आयोगले दललाई कानूनअनुसार सनाखत गराउने, विवरण जाँचबुझ गर्ने प्रक्रियामा रहेको जनाएको छ । कागजात पूरा भएकालाई दललाई दर्ता गरी प्रमाणपत्र दिने कानूनी व्यवस्था छ । संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि निश्चित सर्तहरू तोकेका छन् ।

चुनाव घोषणा 
जेनजी पुस्ताको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फागुन २१ गते चुनाव गर्ने घोषणा गरिसकेको छ । प्रतिनिधिसभा विघटन बटम लाइन बनाएर प्रधानमन्त्री बनेकी कार्कीले विघटनसँगै ६ महिनाभित्र चुनावको मितिसमेत तोकेकी थिइन् । चुनावका लागि बनेको ६ महिने अन्तरिम सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै तोकिएको समयमा चुनाव हुनेमा दलहरूले आशंका व्यक्त गरिसकेका छन् । असोज ३० मा निर्वाचन आयोगले बोलाएको छलफलका २७ दलको उपस्थिति थियो । दलले आयोगलाई शान्ति सुरक्षाको खस्किँदो अवस्थालाई मध्यनजर गर्दै सोधेका थिए, ‘यही वातावरणमा चुनाव हुन्छ ?’ 

नेपालमा राजनीतिक दलको गठनको थालनी १९९३ सालदेखि नै भए पनि वैधानिक मान्यता प्राप्त गर्न सकेका थिएनन् । मुलुकमा प्रजातन्त्र स्थापनाको लागि २००७ सालको क्रान्तिले सफलता पाएसँगै नेपालको अन्तरिम शासन विधान २००७ बाट मात्र राजनीतिक दलहरूले वैधानिकरूपमा मान्यता प्राप्त गरेका थिए । त्यसपछि नेपाल अधिराज्यको संविधान २०१५ द्वारा नेपाली जनतालाई दल दर्ता गर्न पाउने भनी संविधानद्वारा मौलिक अधिकार प्रत्याभूत गरेको थियो । त्यसबेलाको निर्वाचनमा ९ वटा राजनीतिक दल सहभागी थिए । 

२०१७ सालमा फेरि पञ्चायती व्यवस्था घोषणा भएपछि दलमाथि प्रतिबन्ध लगाइएको थियो । मुलुकमा प्रजातन्त्र पुनर्बहालीको निम्ति अप्रत्यक्षरूपमा सक्रिय राजनीतिक दलहरूले २०४६ सालमा जनआन्दोलन गरेका थिए । त्यसपछि प्रजातन्त्रको पुनर्वहाली भै ‘नेपाल अधिराज्यको संविधान २०४७’ लागू भएको थियो । त्यसै संविधानको धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत राजनीतिक दल दर्ता गर्न पाउने नेपाली नागरिकलाई मौलिक हकको प्रत्याभूत गरेको थियो । 

यसअघि २०७९ सालमा भएको निर्वाचनमा ११६ वटा दल आयोगमा दर्ता थिए । चुनावी प्रयोजनका लागि दर्ताको आह्वान गरिएको थियो । त्यसपछि ८७ वटा दलहरूले स्थानीयदेखि प्रतिनिधिसभाको चुनावमा भाग लिनेगरी दर्ता भएका थिए । तीमध्ये २९ वटा दलले स्थानीय तह वडादेखि प्रतिनिधिसभासम्म प्रतिनिधित्व गरेका थिए ।

नयाँ दल 
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अध्यक्ष भएको ‘श्रम संस्कृति पार्टी’, नेपाल नागरिक पार्टी र बुद्ध एयरका कार्यकारी अध्यक्ष एवं व्यवसायी वीरेन्द्रबहादुर बस्नेत संलग्न रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा छ । बस्नेताको दलका अध्यक्षमा दिनेश प्रसाईं छन् । निर्वाचन आयोगले दर्ताका लागि आवश्यक कागजात परीक्षणको प्रक्रियामा रहेको बताएको छ । कागजात पूरा भए ४५ दिनभित्र दल दर्ता प्रमाणपत्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगका अनुसार नयाँ दल दर्ताको प्रक्रिया बुझ्न पुग्नेहरूको संख्या बढ्दो छ । 

कात्तिक महिनाको सुरुकै दिन काठमाडौंको एभरेष्ट होटलमा जेनजी प्रतिनिधि बताउने मिरज ढुंगानालगायतले राजनीतिक दल खोल्ने घोषणा गरेका थिए । तर दलको नाम, अध्यक्षलगायतका पार्टी खोल्दाका न्यूनतम मापदण्ड भने पूरा नगर्दै घोषणा गरेका थिए । उनले दल दर्ताको प्रक्रियामा भने पुगिसकेका छैनन् ।  

फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मंसिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

आयोगले निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूबाट निवेदन मागसमेत गरिसकिएको छ । आयोगले फागुन २१ मा तोकिएको चुनावलाई लक्षित गर्दै पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थालाई निवेदन दिन माग गरेको हो । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्