नेभिगेशन
राजनीति

ओली, देउवा र दाहालको युग सकियो : प्रधानमन्त्री

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलनको छालमा ‘एक्सिडेन्टल प्रधानमन्त्री’ बनेकी सुशीला कार्कीले शुक्रबार सम्पादकहरूसँग भेटेकी छन् । भेटमा उनले आफ्ना राजनीतिक, व्यक्तिगत र भावनात्मक धारणा राखिन् । तीन घण्टा लामो वार्तामा ७३ वर्षीया कार्कीले जेनजी आन्दोलनपछि आफ्नो प्रधानमन्त्री बन्ने योजना नभएको तर राष्ट्रपति रामचन्द्र पौडेलले बाध्य पारेकाले स्वीकारेको बताइन् । भेटघाटमा भदौ २३ को रात कार्कीले सिभिल अस्पतालमा देखेको दृश्य सम्झिँदै भनिन्, ‘घाइतेहरूको त्यो अवस्था देख्दा आगो बने ।

बन्दुक भए निर्दोषमाथि दमन गर्नेहरूलाई नै गोली हान्थे जस्तो भयो ।’ आन्दोलनकारीलाई भेट्न अस्पताल पुग्दाको त्यो आवेग सार्वजनिक भएपछिका २४ घण्टामै उनी देशकै पहिलो महिला अन्तरिम प्रधानमन्त्री बन्न बाध्य भइन् । कार्कीले आफू र पति दुर्गा सुवेदी असोज ४ गते लण्डन उड्ने तयारीमा रहेको खुलासा गर्दै भनिन्, ‘प्रधानमन्त्री बन्ने कुरा आएपछि मैले हुँदैन भने  तर राष्ट्रपतिजी रिसाउनुभयो । ‘तिमीले जिम्मेवारी नलिए म मिडिया बोलाउँछु, राष्ट्रघाती भन्छु,’ भन्नुभयो । त्यसपछि म सहमत भएँ ।’ 

प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनका युवा शुरुवाती दिनमा ‘राजनीतिक अज्ञान’को चरम अवस्थामा थिए । ‘शुरुमा साना बच्चाजस्ता थिए । दुई–चार माग मात्रै सुन्थे । अहिले उनीहरूमा संविधान, विधि, शासन र लोकतन्त्रबारे गहिरो अध्ययन भएको बुझ्न सकिन्छ ।’ उनको भनाइ थियो, ‘अहिलेका जेनजीहरू रामचन्द्र पौडेल र शेर बहादुर देउवा युवाकालमा जस्ता थिए, त्यस्तै भइसकेका छन् ।’ जेनजीले नजितेको र दलले नहारेको आन्दोलन भएको र जेन्टल सम्झौताबाट आफू आएकाले सहकार्यमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

केपी शर्मा ओली, शेर बहादुर देउवा र पुष्पकमल दाहालसँग भेट्न इच्छुक नरहेको उनले बताएकी छन् । ‘ती नेताहरूको युग सकियो । जेनजीहरूले दलभित्र नयाँ नेतृत्व खोज्नुपर्छ भनेर बुझिसकेका छन् । अब पनि एउटै अनुहार बारम्बार हेर्नु नै संकट हो’ उनले भनिन् । उनले जोड दिँदै भनिन्, ‘चुनावका लागि आवश्यक भए पुराना नेता भेट्न सकिन्छ, तर त्यो संवाद पुरानो सत्ता होइन, नयाँ सोचका लागि हुने छ ।’ 

उनले आफू चुनाव नलड्ने, गृहमन्त्री वकालतमा फर्कने तर कुलमानले चुनाव लड्ने सम्भावना रहेको पनि खुलासा गरिन् । प्रधानमन्त्रीका अनुसार अहिले जेनजी आन्दोलन ‘ एकीकृत होइन, खण्डित र जटिल’ अवस्थामा छ । ‘२०–२५ वटा जेनजी समूह छन् । एउटालाई भेटे पछि अर्को आउँछ र त्यो त हाम्रा शत्रु हुन् भन्छ । एउटालाई मन्त्री बनाउन खोज्दा अर्कोले हुँदैन भन्छ । मागहरू दिनदिनै थपिँदै गइरहेका छन्,’ उनले दुखेसो व्यक्त गरिन् । 

जेनजीका कतिपय समूह अहिले सुशासन र भ्रष्टाचारका मागभन्दा पर गई संविधान खारेजी, कार्यकारी राष्ट्रपति र प्रत्यक्ष शासनजस्ता एजेन्डा उठाएकामा उनको असन्तुष्टि थियो । प्रधानमन्त्रीले मन्त्रीहरूको उपस्थिति बीच फागुन २१ को चुनाव तलमाथि नहुने पनि उनले बताइन् । कुनै पनि दबाब वा आन्दोलनले यो मिति परिवर्तन नगर्ने उनको प्रस्टोक्ति थियो । उनले भनिन्, ‘अहिले सरकारको सबै तयार  सम्पन्न भइसकेको छ र राष्ट्रपति, सेना, प्रशासन सबै पक्ष एक मतमा छन् ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्