नेभिगेशन
खेलकुद

एनपीएल–२ सोमबारदेखि, खेल फ्लडलाइटमा डे–नाइट

उद्घाटन खेल जनकपुर र काठमाडौंबीच

ओटीटीदेखि स्पोन्सरसिपसम्म नयाँ मापदण्ड

उद्घाटन खेल जनकपुर र काठमाडौंबीच

१५.४० करोड बराबरको प्रायोजन सम्झौता 

टिम ओनरहरूबाट ९ करोड संकलन, टिकटबाट ८–१२ करोड लक्ष्य
पहिलो संस्करणकै पुरस्कार संरचना यथावत

८ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा, विदेशी खेलाडी नेपाल आइपुग्दै

संवाददाता
काठमाडौं, कात्तिक २९
नेपाली क्रिकेट फ्यानहरुको बहुप्रतिक्षित उत्सव बनेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबारदेखि कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । खेल आयोजनाका लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको छ । क्यानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा लिग यसपटक अझ भव्य रूपमा सञ्चालन गरिने बताएको छ । 

पहिलो संस्करणको तुलनामा व्यवस्थापन, प्रसारण तथा आम्दानी संरचनामा धेरै नयाँ मोडेल लागू हुने भएकाले दोस्रो संस्करणलाई नेपाली फ्रेन्चाइज क्रिकेटको ‘टर्निङ पोइन्ट’ मानिएको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिताको समग्र तयारी अन्तिम चरणमा पुगेको छ । ‘यसपटक धेरै खेलहरू फ्लडलाइटमा  हुने भएकाले दर्शकको सहभागिता तथा व्यावसायिक मूल्य दुवै बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने । 

स्टेडियममा फ्लडलाइटको परीक्षण शनिबार रातिदेखि निरन्तर गरिने क्यानले जनाएको छ । ६ वटा फ्लडलाइट जडान भइसकेको छ । प्यारापिट तयार छन् । रङरोगन र सजावटको काम करिब करिब अन्तिम चरणमा पुगेको छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएल–२ का लागि करिब १५ करोड ४० लाख बराबरको प्रायोजना सम्झौता भइसकेको जानकारी दिए । मुख्य प्रायोजकमा सिद्धार्थ बैंक, पावर्ड–बाई पार्टनरमा एनसेल रहेका छन् । सह–प्रायोजकमा ओमोडा एण्ड जेइको यसपटक पनि निरन्तरता पाएको छ ।

त्यस्तै, क्यानले विभिन्न ब्राण्डहरूसँग अलग–अलग साझेदारी गर्दै प्रतियोगितालाई व्यापक बानाएको उनले बताइ । सेलिब्रेसन पार्टनरमा केएफसी, पेन्ट पार्टनरमा एसियन पेन्ट, अम्पायर पार्टनरमा नेपाल पे, अपिरियल पार्टनरमा एक्सटेप र स्पार्किङ स्माइल पार्टनरमा ह्यापिडेन्ट रहेका छन् । भिभो, वाईवाई, एक्सपर्ट एजुकेशन, पल्सर, रेड बुल, खल्ती लगायतका ब्राण्डहरू पनि प्रतियोगितामा जोडिएका छन् ।

एनपीएल–२ मा क्यानले पहिलोपटक ओटीटी प्रसारणका लागि प्रतिस्पर्धात्मक बिडिङ प्रक्रिया अपनाएको छ । ‘डिसहोम गो’ ले ५ करोड ३० लाखमा ओटीटी अधिकार पाएको छ । क्यानले बिडिङ रकमभन्दा माथिको डिजिटल आम्दानीमा ७१ प्रतिशत हिस्सा पाउनेछ भने बा“की २९ प्रतिशत डिसहोमले लिनेछ ।

अघिल्लो संस्करण युट्युबमा निःशुल्क प्रसारण भए पनि यसपटक ओटीटी मोडेलमार्फत व्यावसायिक आम्दानी वृद्धि गर्ने प्रयास गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । ‘विश्वभरि रहेका नेपालीले खेल हेर्न पाउँछन्, उहाँहरुलाई समेत जोड्दा डिजिटल प्लेटफार्मबाट हुने आम्दानी बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने । 

नेपाली दर्शकका लागि लिनेयर टीभी प्रसारण अधिकार न्यूनतम एक करोडमा प्रस्तावित गरिएको छ । क्यानले यो रकम अझै माथि जाने विश्वास व्यक्त गरेको छ ।

टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान छ । उद्घाटन खेल तथा शनिबारका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिन साधारण ५ सय, प्रिमियम १ हजार रुपैयाँ रहनेछ । प्लेअफ तथा फाइनलको टिकट दर क्रमशः १ हजार र २ हजार तोकिएको छ ।

सिजनल पास १५ हजारमा उपलब्ध हुनेछ भने टिकट खरिद खल्ती एपमार्फत गर्न सकिनेछ ।

क्यानका अनुसार यसपटक टिम ओनरहरूबाट मात्रै ९ करोड रुपैयाँ भित्रिएको छ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । यसपटक पनि उद्घाटन खेल यिनै दुई टोलीमध्येको एक जनकपुर र काठमाडौं गोर्खाजबीच हुनेछ ।

दोस्रो संस्करणमा पुरस्कार राशिमा परिवर्तन गरिएको छैन । पहिलो संस्करणमा च्याम्पियन जनकपुर बोल्ट्सले १ करोड १० लाख प्राप्त गरेको थियो भने उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको थियो । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख हात पारेका थिए । पुरस्कारको यही संरचनालाई एनपीएल–२ मा यथावत् राखिएको क्यानले जनाएको छ ।

एनपीएल गभर्निङ काउन्सिलका अनुसार अघिल्लो संस्करणबाट २७ करोड ६९ लाख ६४ हजार रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगिता खर्च २० करोड १७ लाख ७३ हजार भएको थियो भने नाफा ७ करोड ५३ लाख ९१ हजार रुपैयाँ थियो । त्यसमध्ये आधा रकम आठ फ्रेन्चाइज टोलीमा वितरण गरिएको थियो । बाँकी रकम प्रदेश क्रिकेट तथा संघको विकासगत योजनामा खर्च गरिएको थियो ।

क्यानले सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन, नेपाल प्रहरी र एपीएफसँग समन्वय गरिसकेको जनाएको छ । खेल अवधिभर बलियो सुरक्षा परिचालन गरिने सचिव खड्काले बताए ।

देशभित्र फ्रेन्चाइज क्रिकेटप्रति बढ्दो आकर्षण, व्यावसायिक मोडेलको विस्तार र अन्तर्राष्ट्रियस्तरका विदेशी खेलाडीको सहभागिताले एनपीएल–२ लाई नयाँ उचाइमा पु¥याउने विश्वास क्यानको रहेको उनले उल्लेख गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद