नेभिगेशन
दृष्टिकोण

बृहत् वाम एकता र चुनौती

शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा भइरहेको व्यापारीकरण र नीजीकरणको अन्त्य गरेर निःशुल्क र सर्वसुलभ सेवा प्रदान गर्ने नीति र कार्यक्रमलाई व्यवहारमै लागू गरेर जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्नुपर्ने चुनौती वाम शक्तिलाई छ । अब देशभित्रै रोजगारी प्रदान गर्ने पार्टीको नीति, कार्यक्रमसहित जनतामा आन्दोलन, परिवर्तन र समाजवादी क्रान्तिप्रति विश्वास जागृत गर्नुपर्नेछ । नयाँ नीति, नयाँ चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माणसँगै समाजवादी क्रान्तिको अगुवाइ गर्ने अवसरलाई परिणाममुखी बनाउनुपर्नेछ ।

यतिबेला मुलुकको वामपन्थी आन्दोलनमा तीव्ररूपमा ध्रुवीकरण र एकताको लहर चलेको छ । गत कात्तिक १९ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी हुँदै १० वटा कम्युनिष्ट एवं समाजवादी पार्टीहरू मिलेर नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणा भयो । त्यसको एक हप्तापछि दुईवटा गर्दै अहिलेसम्म आइपुग्दा १६ घटक यो एकता र एकीकरणमा सामेल भएका छन् । झण्डै १ महिनाको अवधिमै विभिन्न समूहमा क्रियाशील कम्युनिष्ट एवं समाजवादी शक्तिहरू एउटै पार्टीमा समाहित हुनु नेपालको वामपन्थी आन्दोलनमा ऐतिहासिक परिघटना हो । यो एकतालाई लिएर राष्ट्रियरूपमा मात्रै होइन छिमेकी मुलुक चीन, भारत हुँदै अन्तर्राष्ट्रिय स्तरमा हौसला, उत्साह र चासोका साथ हेर्न थालिएको छ ।

यतिबेला हाम्रो देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर खालका चुनौती खडा भइरहेका बेला देशका वामपन्थी शक्तिहरू राष्ट्रियताका पहरेदार शक्ति हुन्, उनीहरू एकताबद्व भएर बृहत् राष्ट्रिय शक्ति निर्माण गरेर देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने युगीन अभिभारा रहेको छ । यस अर्थमा यो एकता र एकीकरणको असाध्यै ठूलो महत्त्व छ । तसर्थ यतिबेला देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूले बेग्लाबेग्लै चुल्हाचौका बाल्ने वा बाक्लो कालो दाल खान विभिन्न पार्टीबाट अलग हुने, छुट्टिने र फेरि नयाँ पार्टी बनाउने खेती गर्नु उचित छैन । पार्टीभित्रै अन्तरसंघर्ष गरेर नै कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने र जनताको भरोसायोग्य पार्टी बनाउने काममा लाग्नुपर्ने बेला छ ।

यति मात्रै होइन यतिबेला मुलुकमा सुशासन, रोजगारी र सामाजिक न्यायका लागि आर्थिक सामाजिक रूपान्तरण गरेर समाजवादी क्रान्ति गर्दै समाजवाद स्थापना गर्नुपर्ने अभिभारा रहेको छ । समाजवाद स्थापनाको नेतृत्वकारी भूमिका त कम्युनिष्ट शक्तिले नै गर्ने हो । छिन्नभिन्न छरिएका शक्तिबाट समाजवादी क्रान्तिको अगुवाइ हुन सक्तैन । त्यस अर्थमा पनि समाजवादी क्रान्तिका लागि बृहत् वामपन्थी एकता र ध्रुवीकरण अत्यावश्यक रहेको छ । नेपालमा २०६२/०६३ मा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ । अब पुँजीवादी क्रान्ति पछाडि समाजवाद स्थापना गर्ने ऐतिहासिक अभिभारा वामपन्थी एवं कम्युनिष्ट शक्तिकै काँधमा आएको छ । नेपाली जनताको सुख, समृद्धि, सामाजिक न्यायका लागि नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्दछ ।

समाजवादमा जान क्रान्तिका दुई चरण पुँजीवादी र समाजवादी क्रान्ति पार गर्दै अगाडि बढ्नुपर्दछ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आ–आफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएर समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीका विरुद्ध भएको फेबु्रअरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना गर्‍यो । यस्तै अन्य देशका पनि क्रान्तिका आ–आफ्नै अनुभव छन् ।

नेपालमा ७० वर्ष लामो सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको उत्कर्ष स्वरूप २०६२/६३ मा आइपुग्दा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमा श्रमजीवी वर्गको प्रतिनिधि कम्युनिष्ट पार्टी र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको संयुक्त आह्वनमा आन्दोलन भयो । आन्दोलनले विद्रोह हुँदै क्रान्तिको स्वरूप लिए पछि राजतन्त्रले घुँडा टेक्यो र गणतन्त्र स्थापना भयो । यसर्थ रुसमा भएको क्रान्तिझैं नेपालमा जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ । तर यो पुँजीवादी राजनीतिक क्रान्तिले नै समाजवाद स्थापना हुँदैन । समाजवाद स्थापना गर्न समाजवादी क्रान्ति नै गर्नु अपरिहार्य छ । र यो समाजवादी क्रान्ति कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादी कार्यक्रम अवलम्बन गरेका राजनीतिक शक्ति, वर्ग र समुदायको सहयोगमा मात्रै सम्भव हुन्छ ।

तसर्थ पनि मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने युगिन अभिभारा बामपन्थीहरू सामू रहेको छ । कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा रहेको कम्युनिष्ट पार्टीमध्ये नेकपा एमालेले पनि समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको ठोस कार्यक्रम अगाडि सार्न सकेको छैन । त्यहाँभित्र व्यक्तिवाद मौलाएर गएको छ । पार्टी ठूलो भएर मात्रै हुँदैन । सही क्रान्तिकारी विचारबाट पार्टी र सरकारलाई हिँडाउन पार्टी सक्षम भएन भने केही अर्थ हुन्न ।

सोभियत संघमा पनि जनवादी केन्द्रीयताको सन्तुलित अभ्यास नहुँदा र शंसोधनवाद हावी हुँदा ७० वर्ष लामो समाजवादी मोडेल ढलेर पुँजीवाद पुनःस्थापना भयो । लाखौं करोडौं कम्युनिष्ट कार्यकर्ता भएको पार्टीका कार्यकर्ताले प्रतिक्रान्तिको प्रतिरोध गर्न सकेनन् । यसर्थ समाजवादी क्रान्तिको अगुवाइ गर्न सही क्रान्तिकारी पार्टी, नीति, कार्यक्रम र त्यसलाई हाँक्ने संगठन र नेतृत्वको जरुरी छ । समाजवादी क्रान्तिको अगुवाइ गर्न नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न माक्र्सवादी विचारका नेता तथा कार्यकर्ताको आवश्यक हुन्छ । यसको अभावमा कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा विकास र रूपान्तरण गर्न सकिन्न । अब कम्युनिष्ट पार्टीलाई एक–दुई जनाबाट निर्णय हुने पद्धतिलाई अन्त्य गरेर पार्टीमा सामूहिक छलफल गरी निर्णय गर्ने, कमिटी पद्धतिलाई व्यवहारमा लागू गरेर व्यक्तिवाद र स्वेच्छाचारी प्रवृत्तिलाई अन्त्य गर्ने दृढताका साथ अगाडि बढाउनुपर्दछ । पार्टीभित्र कार्यसम्पादनमा आधारित मूल्यांकन पद्धतिको थालनी गरिनुपर्दछ । उत्कृष्ट नीति, विचार, कार्यक्रम प्रस्तुत गरेर पार्टीको नेतृत्वमा पुग्नसक्ने गरी नेतृत्व छनोटको स्वस्थ्य प्रतिस्पर्धाको नीतिलाई अवलम्बन गर्नुपर्दछ । गुटबन्दीमा लागेका आधारमा वा नेताले मन पराएको व्यक्ति नेतृत्वमा पुर्‍याउने खालको परिपाटीले सही र योग्य व्यक्ति नेतृत्वमा पुग्न सक्तैनन् । यस्तै पार्टीभित्र योग्यता क्षमताका आधारमा सक्षम व्यक्तिलाई सामूहिक निर्णयबाट जिम्मेवारी प्रदान गर्ने परिपाटीले मात्रै पार्टी कार्यकर्तामा क्रान्तिकारी आशावाद जागृत हुनेछ । तसर्थ, पार्टीमा कोही पनि कार्यकर्तालाई पक्षपात र भेदभाव हुँदैन भन्ने नीति र कार्यसम्पादन प्रणाली आजको आवश्यकता हो ।

यस्तै अब पार्टीका नेता र कार्यकर्ताको कार्यशैली र जीवनशैलीलाई जनताको जीवनसँग जोडिने गरी सर्वहारावादी जीवनशैली अवलम्बन गर्ने नयाँ नीति र पद्धतिका साथ पार्टी सञ्चालन गर्ने नीतिको आवश्यकता छ । यसो भयो भने निश्चितरूपमा नयाँ पार्टी निर्माण र सञ्चालनको आधार तयार हुनेछ । नेतृत्वको विकास र हस्तान्तरणको विषय पनि यतिबेला गम्भीर महत्त्वका साथ कम्युनिष्ट आन्दोलनमा उठिरहेको छ । विचार सही नबोक्ने, गलत नेतृत्वको पछिलाग्ने, पद र अवसरका लागि अपहत्ते गर्दै हिँड्ने नयाँ पुस्ताले पनि पार्टीलाई क्रान्तिकारी दिशाबाट अगाडि बढाउन सक्तैन । सिद्धान्तको चर्का कुरा गर्ने तर व्यवहार, संगठन र संघर्षमा तालमेल भएन भने सिद्धान्त र व्यवहारमा संगति हुँदैन । यस्तै क्रान्तिकारीका नाममा पार्टीभित्र अन्तरसंघर्ष गर्न छोडेर सडकबाट वामपन्थीकै उछितो काड्ने, मध्यमपन्थी र सबैखाले अवसरवादबाट मुक्त भएर सही क्रान्तिकारी विचार र कार्यक्रम अगाडि सारेर मात्रै नयाँ पुस्ताले पनि नेतृत्व गर्ने आधार निर्माण हुनेछ । यसैगरी अनुभवी पहिलो पुस्ताको अनुभव र योगदानलाई पार्टीले सम्पत्तिको रुपमा ग्रहण गरेर पार्टीलाई नयाँ पुस्तामा पुर्‍याउन सक्दा मात्रै पार्टी गतिशील हुनेछ ।

यस्तै अब कम्युनिष्ट पार्टीले राज्य सञ्चालन गर्दा जनताको जीवनस्तर माथि उठाउने गरी समाजवादी आर्थिक–सामाजिक नीति तय गरेर लागू गर्नपर्ने खाँचो छ । विगतमा भएको यति, ओम्नी, एनसेल, गिरीबन्धु प्रकरण तथा एमसीसीलगायत राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने सन्धि सम्झौताविरुद्ध सही दृष्टिकोण अगाडि सारेर दलाल पुँजीवादलाई परास्त गर्ने नीतिसँगै राष्ट्रिय पुँजी निर्माण गरेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सुस्पष्ट नीति तथा कार्यक्रमको खाँचो छ । जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा भइरहेको व्यापारीकरण र नीजीकरणको अन्त्य गरेर निःशुल्क र सर्वसुलभ सेवा प्रदान गर्ने नीति र कार्यक्रमलाई व्यवहारमै लागू गरेर जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जान विवश पचासौं लाख बेरोजगार जनतालाई औद्योगिकीकरण र स्वरोजगारीका माध्यमबाट देशभित्रै रोजगारी प्रदान गर्ने पार्टीको नीति, कार्यक्रमसहित जनतामा आन्दोलन, परिवर्तन र समाजवादी क्रान्ति प्रति विश्वास जागृत गर्नुपर्दछ ।

अब पार्टी कामलाई सहरमुखी, राजधानीमुखीमात्रै होइन, दूरदराज ग्रामीण भेगका जनताको घरदैलोसम्म पुगेर पार्टीका नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्ने, जनतालाई जागृत गरी श्रमजीवी जनतालाई कम्युनिष्ट पार्टीको झण्डामुनि गोलबन्द गर्ने, टोलटोल, बस्तीबस्तीसम्म पार्टी र जनसंगठन निर्माण र विस्तार गर्न आवश्यक छ । लाखौंलाख मानिसलाई समाजवादी क्रान्तिको चेतना फैलाउन र समाजवादी अभियानमा लामबद्व गर्न केन्द्रीय तहबाट नै अभियन्ताहरू निश्चित अवधिसम्म जनताका बीचमा आधारभूत तहमा परिचालन गरेर मात्रै समाजवादी क्रान्तिको अगुवाइ गर्ने पार्टी निर्माणको आधार हुनेछ र पार्टीलाई माक्र्सवादी लेनिनवादी सिद्धान्तबाट निर्देशित भएर सञ्चालन गर्न सक्दा मात्रै आन्दोलनमा हुर्किएको दक्षिणपन्थी अवसरवाद तथा व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ । साथै नयाँ नीति, नयाँ चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माणसँगै समाजवादी क्रान्तिको अगुवाइ गर्ने सक्षम पार्टी निर्माण गर्न सकिन्छ ।

खनाल नेपाली कम्युनिष्ट पार्टीका नेता हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना