काठमाडौं । संखुवासभामा निर्माण हुन लागेको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय (पिकिङ रन अफ रिभर) जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । जग्गाको मुआब्जा प्रतिरोपनी ६ लाख ९० हजार रुपैयाँ निर्धारण भएको छ ।
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–२ (साबिक चेपुवा गाविसका वडा १, ३, ४, ६ र ७ मा पर्ने आयोजनाका संरचना, कार्यालय, आवास क्षेत्र निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न मुआब्जा तोकेको हो । कम्पनीका अनुसार जग्गासँगै त्यसमा रहेका घर, गोठ, टहरा तथा रुखबिरुवाको समेत मुआब्जा निर्धारण गरिएको छ ।
कम्पनीले सूचना जारी गर्दै आयोजनाबाट प्रभावित स्थानीय जग्गाधनीलाई मुआब्जा लिन आह्वान गरेको छ । मुआब्जा बुझ्न जग्गाधनीले सक्कली नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद तथा हकभोगसम्बन्धी कागजातसहित रीतपूर्वक निवेदन पेस गर्नुपर्नेछ । निर्धारण गरिएको मूल्यमा चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गृह मन्त्रालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
जनताको जलविद्युत् अवधारणाअनुसार अघि बढाइएको यस आयोजनामा संखुवासभाका १० वटै स्थानीय तहले संस्थापक शेयर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको पाँच वर्षभित्र आयोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।
छुम्सुर गाउँनजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन छ, जसबाट ०.३५ वर्ग किलोमिटर क्षेत्रफलमा १०३ लाख घनमिटर पानी अट्ने जलाशय बन्नेछ । आयोजनाको विद्युत्गृह भोटखोला–२ को पुङछी क्षेत्रमा निर्माण हुनेछ भने ५.९१८ किलोमिटर लामो सुरुङमार्फत पानी खसालिनेछ । करिब ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाबाट वार्षिक २ हजार ५५१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादन भएको विद्युत् ४०० केभी हाइटार सबस्टेसनमार्फत राष्ट्रिय ग्रीडमा जोडिनेछ ।