काठमाडौं । गत साताको अन्त्यतिर सीमित सुधार देखिएको शेयरबजार यो साता भने पुनः दबाबमा परेको छ । अघिल्लो साता नेप्से परिसूचक ०.२ ९ प्रतिशतले बढ्दै २६१५ विन्दुमा बन्द भए पनि कारोबार रकम कमजोर रहनुले त्यो सुधार दिगो हुने संकेत दिएको थिएन । यही कमजोर आधारमा खुलेको बजार यो साता आइतबार र सोमबार तीव्र दबाबमा पर्यो भने मंगलबार र बुधबार सामान्य सम्हालिने प्रयासमा देखियो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से १९.९२ अंकले घट्दै २६०० विन्दुको मनोवैज्ञानिक आधाररेखा तोडियो । एकै दिन लगानीकर्ताको सम्पत्ति ३३ अर्ब रुपैयाँले घट्नुले बजारमा फैलिएको डर र असमञ्जसलाई स्पष्ट देखायो । अधिकांश समूहमा गिरावट आउनु, ८० प्रतिशतभन्दा बढी कम्पनीको मूल्य घट्नु र उच्च कारोबार रकम (४.५२ अर्ब) हुनुले यो गिरावट ‘प्यानिक सेलिङ’ को संकेत थियो । बजारले धेरै समयदेखि परीक्षण गर्दै आएको २६०० विन्दु भत्किँदा छोटो अवधिका लगानीकर्ता थप सतर्क बने ।
सोमबार बजारमा गिरावट अझै निरन्तर रह्यो । नेप्से थप १३.८८ अंकले घटेर २५८१ विन्दुमा झर्दा लगानीकर्ताको सम्पत्ति एकै दिन २४ अर्ब रुपैयाँले खुम्चियो । सूचीकृत १३ मध्ये व्यापारबाहेक सबै समूह घट्नुले बजारमा चौतर्फी दबाब रहेको देखायो । ब्याजदर न्यून विन्दुमा हुँदाहुँदै पनि बजारमा माग नबढ्नुको मुख्य कारण यही दिन झन् स्पष्ट भयो, लगानीकर्तामा भविष्यप्रति आत्मविश्वास छैन । आईपीओमा ठूलो रकम होल्ड हुनु, ठूला लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीति र छोटो अवधिमा नाफा सुरक्षित गर्ने प्रवृत्तिले दोस्रो बजारलाई कमजोर बनाइरहेको छ ।
मंगलबार भने बजारले केही राहत महसुस गर्यो । तीन दिनको गिरावटपछि नेप्से ३.२७ अंकले बढेर २५८४ विन्दुमा पुग्यो । यद्यपि यो वृद्धि प्रवृत्तिगत भन्दा पनि ‘टेक्निकल करेक्सन’ जस्तो देखियो । कारोबार रकम ३.४२ अर्बमै सीमित रहनु, बढ्ने कम्पनीको संख्या घट्ने कम्पनीको भन्दा थोरै मात्रै बढी हुनुले बजारमा अझै स्पष्ट दिशानिर्देश नरहेको देखायो । एसवाई प्यानलजस्ता केही स्टकमा तीव्र उतारचढाव देखिनुले बजार अझै ‘स्टक–स्पेसिफिक’ मोडमा रहेको संकेत दिएको छ ।
बुधबार नेप्से झिनो १.३७ अंकले बढ्दै २५८५.८७ विन्दुमा अडियो । यो दिन बजार पुँजीकरण दुई अर्ब रुपैयाँले बढे पनि समग्र कारोबार रकम झन् घटेर ३.२२ अर्बमा सीमित रह्यो । बढ्ने र घट्ने कम्पनीको अनुपात लगभग सन्तुलनमा रहनु, आधा समूह घट्नु र आधा बढ्नुले बजार स्पष्ट दिशाविहीन अवस्थामा रहेको पुष्टि गर्यो । लगानीकर्ता आक्रामक किनबेचभन्दा पनि मूल्य हेरेर सीमित मात्रामा कारोबार गरिरहेका देखिन्छन् ।
यतिबेला धेरैजसो कम्पनीले लाभांश घोषणा गरेर साधारण सभाको मिति तोक्दैछन्, जसको असर लगानीकर्तामा देखिएको छ । नाफा बुक गर्न हाललाई शेयर नबेच्ने रणनीति धेरैको छ । बजारमा कुनै खास कम्पनीको शेयर ठूलो रकमको किनबेच भइरहेको देखिएको छैन ।
अघिल्लो सातासँग तुलना गर्दा एउटा स्पष्ट संकेत देखिन्छ, परिसूचकभन्दा पनि कारोबार रकम बजारको मुख्य कमजोरी बनेको छ । गत साता नेप्से बढे पनि दैनिक औसत कारोबार ३.८७ अर्बमै सीमित थियो । यो साता पनि ठूलो गिरावट र सानो सुधार दुवै अवस्थामा कारोबार ५ अर्ब नाघ्न सकेन । यसले बजारमा ठूलो पूँजी प्रवेश नभएको स्पष्ट देखाउँछ । साना लगानीकर्ता सक्रिय देखिए पनि संस्थागत तथा ठूला लगानीकर्ता अझै निष्क्रिय छन् ।
लगानीकर्ताको मनोविज्ञान हाल जोखिम नलिने, अवसर कुर्ने अवस्थामा छ । ब्याजदर सस्तो भए पनि ऋण लिएर शेयर किन्ने आत्मविश्वास छैन । राजनीतिक स्थिरता, चुनावको टुंगो, सरकारबाट पुँजी बजारमैत्री स्पष्ट नीति र राष्ट्र बैंकबाट थप लचकता आउने अपेक्षामा लगानीकर्ता छन् । यी तत्त्व स्पष्ट नभएसम्म बजारमा दिगो ट्रेण्ड बन्न गाह्रो देखिन्छ ।
प्राविधिकरूपमा हेर्दा, नेप्से २५८०–२६०० क्षेत्र अहिले अल्पकालीन सपोर्ट जस्तो देखिए पनि बलियो आधार बन्न अझै कारोबारको साथ चाहिन्छ । माथितर्फ २६२०–२६५० क्षेत्र अझै कठिन प्रतिरोधकै रूपमा छ । कारोबार रकम पाँच–छ अर्बमाथि नपुगेसम्म बजार साइडवेज वा हल्का उतारचढावमै सीमित रहने सम्भावना बढी छ ।
समग्रमा, बजार अहिले न गहिरो बुलिस अवस्थामा छ, न त पूर्णरूपमा बियर बजारमै प्रवेश गरेको छ । यो अनिश्चितताको प्रतीक्षा अवस्था हो । लगानीकर्ताले भावनामा बहिएर निर्णय गर्नुभन्दा कम्पनीको आधारभूत अवस्था, लाभांश क्षमता र दीर्घकालीन सम्भावनालाई प्राथमिकता दिनु अहिलेको सबैभन्दा व्यावहारिक रणनीति देखिन्छ ।