बिगतमा थापा र कोइरालाबीच सहकार्य देखिनु पार्टीभित्र देउवा नेतृत्वप्रतिको साझा असन्तुष्टिको परिणाम थियो । १४औँ महाधिवेशनमा पनि दुवै एउटै धारमा उभिएका थिए । तर समयसँगै नेतृत्वको महत्वाकांक्षा, रणनीतिक प्राथमिकता र शक्ति सन्तुलनका कारण उनीहरूबीच दूरी बढ्दै गएको देखिन्छ । अहिले दुवै आ–आफ्नो प्रभाव क्षेत्र विस्तारमा केन्द्रित छन्, जसले एउटै मताधार विभाजन हुने जोखिम पनि बोकेको छ ।
अर्कोतर्फ, पार्टी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समर्थन गर्ने घोषणा गर्नुले संस्थापन पक्षको रणनीति स्पष्ट पारेको छ । संगठन, संसदीय दल र भ्रातृ संस्थामाथि देउवा पक्षको पकड अझै बलियो भएकाले महाधिवेशनमा संस्थापनको उम्मेदवार निर्णायक अवस्थामा रहन सक्छ । खड्काको उम्मेदवारीलाई देउवाको निरन्तरताको रूपमा हेर्ने कार्यकर्ताहरू पनि कम छैनन् ।
कार्यवाहक पाएका खड्काले यसपटक देउवाको अनुपस्थितिमा कुनै दरिलो निर्णय लिएर देखाएनन् । बरु संस्थापनको गुट भेलामा गए । केन्द्रीय कार्यसमिति बैठकलाई सिंगापुर गएका देउवा नफर्कुन्जेल लम्बिन दिए, हस्तक्षेप गरेनन् ।
जेनजी विद्रोहले ल्याएको मध्यावधि निर्वाचनको अवस्थामा सबै दलले नयाँ अनुहार र एजेन्डा लिएर जनतामा जानुपर्ने देखिएको छ । वैकल्पिक शक्ति ध्रुवीकरण भइरहँदा परम्परागत दललाई ठूलो चुनौती छ । तर, त्यसलाई कांग्रेसले नजरअन्दाज गरेको समानुपातिकको सूचीले नै देखाइसकेको छ । संस्थापनको पकडका बीच कांग्रेसमा सुधारवादी धार कमजोर देखिएको छ । थापाले हस्तक्षेपकारी भूमिकामा उत्रिन नसकेका बेला कोइरालाले पनि यथास्थितिवादीलाई सघाउने नीति लिने हो भने पार्टीमा परिवर्तनको गति अझ धिमा हुने भएको छ ।
थापा र कोइरालाका लागि मुख्य चुनौती भनेको संस्थापनको संगठित शक्ति र संसाधनसँग प्रतिस्पर्धा गर्नु हो ।
यदि यी दुई नेता अलग–अलग उम्मेदवार बने भने परिवर्तन चाहने मत विभाजित हुने सम्भावना प्रबल छ, जसको प्रत्यक्ष फाइदा देउवा पक्षलाई पुग्न सक्छ । त्यसैले पार्टीभित्र अहिले पनि एकीकृत विकल्पको बहस जीवित छ । आगामी महाधिवेशन केवल व्यक्तिको प्रतिस्पर्धा मात्र होइन, कांग्रेसभित्रको नेतृत्व शैली, पुस्तान्तरण र राजनीतिक दिशाको बहस पनि हो । यसले पार्टीको भविष्यको मार्गचित्र कोर्ने भएकाले थापा–कोइराला रणनीति र संस्थापन पक्षको शक्ति सन्तुलन निर्णायक हुने देखिएको छ ।