भक्तपुर । पुसको चिसो बिहानीमा १४ वर्षीया शर्मिला मुसरीलाई सूर्यविनायक नगरपालिका बालकोटस्थित एक घरमा ग्रेनाइटमा पोछा लगाउनुपर्छ । घरका अन्य सदस्य उठ्नुअघि नै तीनतले घरको भर्याङदेखि भान्छाकोठा पुछेर सफा बनाउनु उनको दैनिकी हो । सो घरमा घरेलु बालश्रमिकका रूपमा काम गर्न थालेको दुई वर्ष भयो । बिहान भुईं पुछेपछि पूजाभाँडा माझ्नु अनि चियानास्ता बनाएर कोठाका ओछ् यान मिलाएर खाना तयार पार्न खटिनु उनको दिनचर्या हो । घरधन्दा सकेर उनी नजिकैको सरकारी विद्यालय जान्छिन् । १४ वर्षीया उनी ५ कक्षामा पढ्छिन् । विद्यालयबाट फर्किएपछि फेरि घरको काममा जोतिनुपर्छ । कम सकिँदा रातको १० बज्छ । यति गरेबापत उनले पाउने भनेको दुई छाक खाना र एकसरो नाना हो । अहिलेसम्म पारिश्रमिक भनेर हातमा एक पैसा नपरेको उनी सुनाउँछिन् ।
मध्यपुरथिमि नगपालिका–३ गठ्ठाघर बस्ने सर्लाही घर भएकी १७ वर्षीया सानु चौधरीको नियति पनि त्यस्तै छ । गठ्ठाघरको एक सरकारी विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी चौधरी ६ वर्षदेखि एक सरकारी उपसचिव र सरकारी कार्यालयमा कार्यरत अधिकृत दम्पति रहेको घरमा काम गर्छिन् । यहाँ आएदेखि आफ्नो घरपरिवार, आमाबुबासँग भेट्न नपाएको गुनासो डराइडराइ गरिन् । घरधन्दा र स्कूलबाहेक अन्य जान नपाइने र उमेर बढ्दै जाँदा जिन्दगीको भविष्य कता जाला भन्ने अन्योल उनमा छ ।
सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक व्यापारीको घरमा विगत चार वर्षदेखि बस्दै आएकी सर्लाहीकी सानी मुसहरको दैनिकी पनि उस्तै छ । उनी त स्कूल पनि जान पाउँदिनन् । बिहान बेलुका घरको काम र दिउँसो पसलको काममा खटिनुपर्छ । घरेलु कामदारका रूपमा काम गर्न बाबुआमाले जिम्मा लगाएको एक अपरिचित दिदीसँग काठमाडौं आएकी मुसहरले चार वर्षको अन्तरालमा बालकोटको घर र पसलबाहेको दुनियाँ देखेकै छैन ।
बालश्रमिकका रूपमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका छिरेका यी केही नमूना पात्र मात्रै हुन् । गरिबी, धेरै सन्तानको जन्म, खान लाउन समस्या, सौतेनी आमाको कहर, आमाबाबाविहीन यस्ता धेरै कलिला बालबालिका घरेलु बालश्रमिकका रूपमा काठमाडौं उपत्यकामै कार्यरत धेरैमध्ये यौन दुव्र्यवहारमा समेत पर्ने गरेका छन् । तराईका जिल्लाबाट घरेलु बालश्रमिकका रूपमा बालबालिका ल्याएर उपत्यकाका विभिन्न घरमा पुर्याउने गिरोहले पछिल्ला समयमा बालबालिकाको जन्म मिति नै बढाएर राख्ने गरेका छन् ।
आठ वर्षअगाडि सूर्यविनायक नगरपालिकाले बालश्रमिक नहुनेको घरमा हरियो झण्डा राख्ने अभियान सुरु गरेको थियो । वडाहरूमा गठन गरेको बाल क्लबसमेतको प्रतिनिधिले घरघरमा गरेको अनुगमन, तथ्यांक संकलनका क्रममा विभिन्न व्यक्तिका घरमा बालश्रमिक भेटिएका थिए । जिल्ला प्रशासन कार्यालयको बेवास्ता, उद्धार गरिएका बालश्रमिकलाई राख्ने सुरक्षित आवास नहुँदा उक्त अभियान रोकिएको बाल क्लबका पदाधिकारीहरू नै बताउँछन् ।
सूर्यविनायक नगरपालिकाले भने बालश्रम मुक्त नगरपालिका बनाउने उद्देश्यसहित अभियानको थालनी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष रवीन्द्र सापकोटाको भनाइ छ । बालबालिकाको हितका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेको बालबालिकाको पक्षमा काम गर्दै आएको बालश्रम मुक्त नगरपालिका निर्माणका लागि अभियान सञ्चालन गरेको उनले बताए । बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)ले यसै वर्ष गरेको घरेलु बालश्रमिकसम्बन्धी अध्ययनमा काठमाडौंमा रहेका अधिकांश घरेलु बाल श्रमिक न्यूनतम अधिकारबाट समेत वञ्चित रहेको पाइएको थियो ।
घरमा काम गर्न राखिएका बालबालिकालाई देखाउन भए पनि विद्यालय भर्ना गरिने तर पढ्ने समय नदिने, बालिका यौनजन्य हिंसाको जोखिममा रहेको, लामो समयदेखि परिवारसँग भेट्न र कुरा गर्न नपाएको, जोखिमयुक्त काम गर्नुपर्ने, बिरामी हुँदा उपचार नपाउने र काम गरेबापत कुनै पैसा नपाएको गुनासो बालश्रमिकबाटै आएको अध्ययनले देखाएको सिविसका परियोजना संयोजक उमंग मैनाली बताउँछन् । सन् २०२१ को नेपाल बाल श्रम प्रतिवेदनअनुसार करिब ११ लाख बालबालिका श्रममा छन् । त्यसमध्ये करिब दुई लाख बालबालिका घरेलु श्रममा आबद्ध छन् । बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, बालश्रम निषेध र नियमित गर्ने नियमावली २०६२, बालश्रमुक्त स्थानीय तह कार्यविधि, २०७७ कार्यान्वयनमा चरणमा रहेको, बालबालिकासम्बन्धी ऐन, २०७५ का साथै नेपालको संविधानले पनि बालश्रमलाई दण्डनीय भनिए पनि यसलाई निषेध भने गर्न नसकिएको सिविस अध्यक्ष विमला ज्ञवाली बताउँछिन् । राष्ट्रिय बाल अधिकार परिषद् द्वारा सार्वजनिक तथ्यांकअनुसार ४७७ वटा बाल यौन दुव्र्यवहार, यौनजन्य हिंसाका उजुरी परेको, बाल यौन दुरूपयोगका ३५५ वटा, बालविवाहका ६१ वटा, अप्राकृतिक मैथुनका २१ र बालबालिकाविरूद्धको कसूरमा ४० वटा उजुरी परेको थियो ।