नेभिगेशन
दृष्टिकोण

बिर्सिँदै गएको रैथाने ज्ञान

मैले २०१६ सालमा बीएस्सी सकेर वनस्पति विभागमा काम थालेपछि मेरो व्यावसायिक जीवन नेपालको वनस्पति र वनजंगलमै व्यतीत भयो । कामको क्रममा जतिजति गाउँठाउँ डुल्दै गएँ, त्यतित्यति नेपाली समुदायको शक्तिको बलमा टिकेको रहेछ भन्ने भेउ पाउँदै गएँ ।

नेपाली समाजमा समुदाय मिलेर काम गर्ने पर्म लगायतको सामुदायिक श्रम विनिमयको प्रथा परम्परादेखि चलिआएकै थियो । तर, सरकारी योजना र विकास प्रयासमा कृषि मन्त्रालयले पहिलो पटक पोखरा मत्स्य विकास केन्द्रले फेवा तालको माछा संरक्षण गर्न तथा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको दिगो जीविकाको लागि सामुदायिक प्रयास थालेको थियो । यसले माछाको पनि संरक्षण भयो र स्थानीय समुदायले आयआर्जनको दिगो बाटो पनि पाए ।

नेपालको विकास पहलमा समुदायलाई संलग्न गराउनुपर्छ भन्ने अवधारणा विहारीकृष्ण श्रेष्ठले जुम्लाका स्थानीयले कुलो संरक्षण गरेको अनुभवका आधारमा सिकेको कुरा केन्द्रीय योजनाहरूमा लागू गराउनुभएको हो । त्यसपछि नेपालमा सामुदायिक वनको अवधारणा आयो ।

वनको जिम्मा समुदायलाई नै दिँदा वन हराभरा मात्र भएन सामुदायिक वन समितिहरूले जडिबुडी खेती, दुना टपरी उद्योग लगायतका वैकल्पिक विधिमार्फत आय आर्जन पनि गरे । २०१४-२०१५ सालमा वनलाई सरकारीकरण गरिसकेपछि नेपालको मध्यपहाडबाट धमाधम रूख काटिए र केही वर्षमै पहाडी क्षेत्रका वन मासिए ।

वन पाल्यो भने जग्गा सरकार लाग्ने अवस्था आयो । तर, भात पकाउन पनि वन, घाँस दाउरा गर्न पनि वन, घर बनाउन पनि वन मासिँदा वैज्ञानिकहरूले नेपाल विनासको बाटोमा लम्किएको भविष्यवाणी गरे । वृक्षरोपण नगरी भएका रूख धमाधम काटिँदा नांगो पहाडका मोटो बगेर जानेछ र नेपालको पहाडी क्षेत्र ध्वस्त हुनेछ भन्ने उनीहरूको चेतावनी थियो ।

उनीहरूको तर्क के भने नेपालमा मनसुनमा ठूलो पानी पर्छ त्यसरी पानी परेपछि पहाडीमाटो जति सबै बगेर बंगालको खाडीमा पुग्छ । त्यतिखेर चेतावनी दिनेमा नेपाल डुलेका टोनी हागेन पनि थिए ।

जब नेपालले नीति परिवर्तन गरेर समुदायलाई नै संलग्न गराएर नांगो पहाडमा वृक्षरोपण थाल्यो त्यस बखत धेरैजसो ठाउँमा सल्लाका रूख लगाइए । त्यो किन भने नाङ्गो सुक्खा ठाउँमा हुने रूख सल्लाबाहके अरु थिएन । वृक्षरोपण गर्दा नेपाली सल्ला पनि लगाइए र अस्ट्रेलियाबाट झिकाइएका सल्ला पनि लगाइए । अस्तिसम्म पनि मान्छेहरूले सल्ला लगाएर गल्ती भयो भनिरहेका छन् । 

सल्ला रोपेपछि अरु वनस्पति भएन, जीवजन्तु पनि भएन, चराचुरुङ्गी पनि भएन, अरु त अरु बाँदरसम्म नहुने जंगल बन्यो भन्ने गुनासो आयो । गुनासो गर्ने समूह अहिलेसम्म सक्रिय छ । धेरै ठाउँमा सामुदायिक वनले आफ्नो दक्षता, क्षमता र स्रोतले भ्याएसम्म राम्रो गरिरहेको छ । वनका स्रोत काठ, दाउरा, स्याउला मात्रै होइन केही सामुदायिक वनले नर्सरी र जडिवुडी खेतीबाट पनि लाभ हासिल गरिरहेका छन् ।

हामीले झण्डै ५० वर्ष पहिले सन् १९७४÷५ तिर रसुवादेखि रक्सौलसम्मको वनजंगलको अध्ययन गर्दा र अहिलेको अवस्था हेर्दा दृश्य अर्कै छ । नागार्जुनकै वनमा पनि माथिको टुप्पोबाहेक तलतिर जताततै सल्लाकै जंगल थियो । अहिले त्यही जंगललाई कटुस रचिलाउनेको जंगलले ढाकिसक्यो ।

सिन्धुपाल्चोक तिर पनि त्यस्तै देखिन्छ । यहाँनेर हामीले प्रकृतिबाट पाएको वरदानलाई सम्झनुपर्ने हुन्छ । त्यो के भने विज्ञानको भाषामा ‘क्लाइमेटिक क्लाइमेक्स’ भनिने नेपालको मध्यपहाडको वनको उच्च विन्दु भनेको चिलाउने र कटुसको जंगल हो । 

अब विस्तारै नेपाली मध्य तथा पूर्वी पहाडका जंगल कटुस र चिलाउनेको जंगलमा रूपान्तरण भइरहेको छ । यो प्रकृति आफ्नो गतिमा अघि बढिरहँदा हुन पाएको हो । अर्थात हामीले जंगललाई व्यवधान नपुर्याउँदा उसले आफ्नो गतिलाई अघि बढाएको अवस्था हो । सुइरे पात हुने कोनिफर फरेस्ट चौडा पात हुने ब्रोड लिफ फरेस्टमा रूपान्तरण हुन सल्लाको वृक्षारोपणको योगदान छ ।

यसलाई समुदायले गरेको कामलाई प्रकृतिले दिएको साथको रुपमा हेनुपर्छ । यसरी हेर्दा वनको सन्दर्भमा पर्यावरणीय पुनरोदय पनि भयो, सामुदायको पनि पुनरोदय भयो । यो प्राकृतिक परिवर्तनको एउटा पाटो हो ।

नेपाललाई धान्ने अर्को शक्ति भनेको निर्वाहमुखी किसान वा साना किसानहरूको खेती प्रणाली हो । पहाडी क्षेत्रका नेपाली किसानले गरा, कान्ला बनाउने जुन सीप हासिल गरेका छन्, त्यो अद्वितीय छ । नेपालमा काम गरेका स्वीसहरूले त्यो विधिलाई इथोपियामा अभ्यास गराएको थाहा पाउँदा म झसङ्ग भएको थिएँ ।

एउटा सेमिनारको लागि इथोपिया पुग्दा नेपालमा काम गरेका स्वीस पनि भेटिए । त्यहाँ उनीहरूले माटो जोगाउन नेपालमा यसो गर्ने गरिएको छ भन्दै सिकाएको देखेपछि मलाई लाग्यो गरा, कान्ला बनाउने नेपाली रैथाने सीप त धेरै महत्वपूर्ण रहेछ अनि मैले यसमा विशेष ध्यान दिन थालें ।

मैले संखुवासभा जिल्लामा मकालु वरुण राष्ट्रिय निकुञ्ज स्थापनार्थ सभ्वाव्यता अध्ययन गर्दा अमेरिकी विज्ञ जोन क्रेगहेडसँग त्यहाँ गएको थिएँ ।हेलिकोप्टर उडाएर एक डेढ घण्टा घुमेपछि मैले उनलाई सोधें, ‘कस्तो लाग्यो त नेपाल ?’ उनी त नेपालका बारेमा अध्ययन गरेरै आएका थिए । नेपाल हिमालको देश, शेर्पाहरूको देश, गोर्खाहरूको देश भन्ने उनले पढेका रहेछन् । उनले म नेपालको बारेमा एउटा कुरा थप्छु भने । के कुरा मैले सोधें । उनले भने, नेपाल इज द ल्यान्ड अफ बिलियन टेरेसस, अर्थात् नेपाल करोडौं गरा, कान्लाहरूको देश हो । 

पानीभित्रको माछाले पानीको परख गर्न नसकेजस्तै हामी पनि हाम्रो रैथाने सीपबारे अनभिज्ञ रहेछौं । उनले हेलिकोप्टरबाट देख्दा नेपाली किसानले औजार लगाएर गरा बनाएको भन्ठानेका रहेछन् जब उनले त्यो सबै काम हातैले गरेको थाहा पाए तब उनी चकित परे । 

पाखुरीकै बलले यत्रो पहाड ताछ्ने आँट नेपालीले कहाँबाट पाए भनेर उनी आश्चर्यमा परेका थिए । अनि पो म झल्याँस भए । जोनले विद्यार्थीलाई नेपालको स्थलगत अध्ययन गर्न पठाए । उनका विद्यार्थीले त्यहाँका स्थानीय किसानसँग १५ दिनजति स्थानीय सीप, प्रविधि, ज्ञान सिकेर गए ।

एउटै गरा पनि उकालो र ओरालो बनाउने अनौठो विधि नेपाली किसानले जानेका छन् । पानी पर्दा एकातिर पानी जम्ने अर्कोतिर पानी नअडिने उकाली । किन यस्तो गरेको भनी सोध्दा एक स्थानीय किसानले मलाई बताए, ‘गहिरो तिर धान रोप्ने बावु। उकालीतिर कोदो लगाउने ।’ कोदो भन्दा त धान नै लगाए हुन्थ्यो होला भनेर मैले सोधें । ‘सबैमा धान लगाए हुन्न बा ?’ उनले भने, ‘हुन त हुन्थ्यो बावु। तर पानी परेन भने के गर्ने नि ?’ पानी नपरे त धान हुँदैन । पानी नपरेको अवस्थामा मकै र कोदोले गर्जो टर्ने भयो । 

यो संखुवासभाको कुरा, सन् १९८६ तिरको । मैले उहाँलाई फेरि सोधें, ‘पानी पर्यो भने के गर्ने नि ?’ ‘बाबु पानी पर्‍यो भने धानको भात खाने, कोदोको जाँड,’ उनले भने । कस्तो गजबको काइदा । खाद्य सुरक्षाको वैज्ञानिक विधि । धान खान नपाउँदा कोदो र मकै भए पनि खान पर्‍यो । 

समुदायले जोगाउँदै आएको यस्तो रैथाने उदाहरण गाउँठाउँमा अनेकौं छ । तर हाम्रो आधुनिक विकासले यस्तो रैथान ज्ञान हराउँदै गयो । समुदायले जोगाएको रैथाने ज्ञान हामीले जोगाउनुपर्ने थियो, सकेनौं । अहिले चौंरी चराउने युवाहरू ऊँट चराउन गए । अनि त हाम्रो संस्कृति, संस्कार पनि गयो । युवा विदेशिए भन्ने पीर सबैले लिएको देखिन्छ तर रैथाने ज्ञान गयो भन्ने पीर कसैले लिएको देखिँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण