नेभिगेशन
मनोरञ्जन

एआर रहमानको भिक्टिम कार्ड विवाद

इन्डिया हेट ल्याब रिपोर्ट २०२५ अनुसार, अल्पसंख्यक विरोधी घृणास्पद भाषणमा तीव्र वृद्धि, सन् २०२३ मा ६६८ घटनाहरू रिपोर्ट गरिएकोमा २०२५ मा १,३०० भन्दा बढी

अल्लाह रखा रहमान (एआर रहमान)निःसन्देह भारतका सबैभन्दा चर्चित संगीतकार हुन् । उनले ओस्कार, ग्रामी र गोल्डेन ग्लोबजस्ता विश्वका प्रतिष्ठित संगीत पुरस्कारहरू जितेका छन् । उनको ‘जय हो’ गीतले उनलाई अस्कार अवार्ड दिलायो, एक उत्सवमय राष्ट्रिय गान बन्यो । ‘मद्रासका मोजार्ट’ उपनाम पाएका ५९ वर्षीय रहमानलाई संगीतमा उनको योगदानका लागि भारतको तेस्रो उच्च नागरिक सम्मान पद्म विभूषणबाट समेत सम्मानित गरेको छ ।

तर गत हप्ता, थोरै बोल्ने स्वभावका रहमानले एउटा अन्तर्वार्तामा बलिउडमा ‘साम्प्रदायिक’ पूर्वाग्रहका कारण आफूले सम्भावित रूपमा काम गुमाउनु परेको बताएपछि उनी हिन्दू दक्षिणपन्थी आवाजहरूबाट व्यापक अनलाइन आक्रमणको शिकार भए ।

रहमानले बुधबार प्रसारित बीबीसी एशियन नेटवर्कको अनलाइन अन्तर्वार्तामा भने, ‘अहिले सिर्जनशील नभएका मानिसहरूसँग कुराहरू तय गर्ने शक्ति छ र यो साम्प्रदायिक कुरा पनि हुन सक्छ तर मेरो अगाडि प्रत्यक्ष रूपमा होइन ।’

९० मिनेट लामो उक्त अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई हल्लाको रूपमा थाहा हुन्छ कि उनीहरूले मलाई बुक गरेका थिए तर संगीत कम्पनीले अघि बढेर आफ्नै पाँच संगीतकारहरू नियुक्त गरे ।’

दक्षिणपन्थी टिप्पणीकार र कार्यकर्ताहरूले रहमानको देशभक्ति र क्षमतामाथि प्रश्न उठाउँदै उनलाई ‘भिक्टिम कार्ड’ (पीडित बनेको नाटक) खेलेको आरोप लगाए । कट्टरपन्थी संगठन विश्व हिन्दू परिषदका विनोद बन्सलले देशलाई ‘बदनाम’ गरेको भन्दै रहमानले माफी माग्नुपर्ने बताए । उनले अल जजीरासँग भने, ‘हामीलाई उनी र उनले देशका लागि गरेको काममा गर्व छ । तर भारतीय उद्योगबाट जीविकोपार्जन गर्ने व्यक्तिले जसरी देशलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्, त्यो अत्यन्तै आपत्तिजनक छ ।’

केही प्रष्टवक्ताबाहेक, उद्योगका धेरैजसो भित्री व्यक्तिहरू मौन रहे, उनलाई कुनै ऐक्यबद्धता जनाएनन् र उनको टिप्पणीबाट आफूलाई टाढा राखे ।

सामाजिक सञ्जालमा निरन्तर ट्रोलिङ भएपछि रहमानले स्पष्टीकरण दिए । उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘म बुझ्छु कि कहिलेकाहीँ मनसायलाई गलत रूपमा बुझिन सक्छ, तर मेरो उद्देश्य सधैं संगीतको माध्यमबाट उत्थान, सम्मान र सेवा गर्नु हो ।’

उनले आफू राष्ट्रप्रति कृतज्ञ रहेको कुरामा जोड दिए र भारतीय मनोरञ्जन उद्योग र युवा सिर्जनशीलहरूलाई समर्थन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको उल्लेख गरे । साथै, उनले जर्मन संगीतकार हान्स जिमरसँग मिलेर हिन्दू महाकाव्यमा आधारित आगामी चलचित्र ‘रामायण’को पृष्ठभूमि संगीतमा काम गरिरहेको पनि बताए ।

बढ्दो धार्मिक असहिष्णुता

तर सामाजिक सञ्जालमा आक्रमण दिनहुँ जारी रह्यो, जसले भारतमा बढ्दो धार्मिक असहिष्णुताका बीच एक मुस्लिम हुनुको संघर्षलाई चर्चामा ल्यायो । भारतीय पत्रकार फातिमा खानले ‘एक्स’मा लेखेकी छन्, ‘रहमानलाई रातारात ‘राम्रो मुस्लिम’बाट ‘नराम्रो मुस्लिम’को श्रेणीमा सारिएको देख्दा अचम्म लाग्छ । भारतका लगभग प्रत्येक मुस्लिम सार्वजनिक व्यक्तित्वले यो क्रूरता भोग्नुपर्नेछ, चाहे उनीहरूले जतिसुकै देशभक्तिपूर्ण गीत, चलचित्र वा ट्वीट किन नगरून् ।’

‘टु किल अ डेमोक्रेसी’ का सह–लेखक देबाशिष रोय चौधरीका अनुसार अनलाइन ट्रोलिङले बहुसंख्यकवादी सहमति निर्माण गर्न मद्दत गर्दछ । उनले तर्क गरे कि जब सामाजिक सञ्जालमा पर्याप्त हल्ला हुन्छ, यो मुख्यधाराको कभरेजमा छिर्छ र समाजको प्रमुख मुडजस्तो देखिन थाल्छ । उनले भने, ‘ठूला आवाजहरूले सहिष्णुता र तर्कलाई तबसम्म दबाउँछन् जबसम्म केवल घृणा मात्र सुनिन्छ ।’

हिन्दू दक्षिणपन्थीको प्रभाव

रहमान राजनीतिमा स्पष्ट बोल्ने वा आफ्नो मुस्लिम पहिचानको बारेमा धेरै कुरा गर्ने व्यक्तिको रूपमा चिनिँदैनन् । उनले सन् १९९२ मा रिलिज भएको ‘रोजा’जस्ता राष्ट्रवादी चलचित्रहरूमा काम गरेका छन् । उनको १९९७ को गीत ‘माँ तुझे सलाम’ १.४ अर्ब जनसंख्या भएको विविध राष्ट्रलाई एकजुट गर्ने माध्यमको रूपमा हेरिएको थियो ।

अस्कर विजेता रहमानको टिप्पणीले भारतको कला र सिनेमा, विशेष गरी बलिउडमा हिन्दू दक्षिणपन्थीहरूको प्रभावको बारेमा प्रश्न उठाएको छ । हिन्दी चलचित्र उद्योगलाई हिन्दू सर्वोच्चतावादी भाष्यहरू प्रतिध्वनित गर्ने, मुस्लिम र धर्मनिरपेक्ष नेताहरूलाई अपमानित गर्ने वा हिन्दू चरमपन्थीहरूको महिमामण्डन गर्ने चलचित्रहरू निर्माण गरेकोमा आलोचना गरिएको छ ।

उदाहरणका लागि, ‘द कश्मीर फाइल्स’ (२०२२) ले भारतभर मुस्लिम विरोधी घृणा फैलाएको र ‘द केरला स्टोरी’ (२०२३) लाई इस्लामफोबिया फैलाएको आरोप लगाइएको थियो । हालै, रहमानले संगीत भरेको चलचित्र ‘छावा’मा पनि मुस्लिमहरूलाई राक्षसको रूपमा चित्रण गरिएको आरोप लागेको थियो । रहमानले बीबीसी अन्तर्वार्तामा उक्त चलचित्र ‘विभाजनकारी’ भएको स्वीकार गरे ।

पटकथा लेखक र चलचित्र समीक्षक राजा सेनले भन्छन्, ‘हामी पर्दामा मुस्लिमहरूको एक प्रकारको मानमर्दन देखिरहेका छौं । पहिले यो केवल पाकिस्तान विरोधी भाष्य जस्तो थियो, तर अहिले यो फरक भएको छ ।’

हिन्दी सिनेमाले परम्परागत रूपमा पाकिस्तानलाई शत्रुको रूपमा प्रस्तुत गर्दै आएको छ । तर अहिले विदेशी शत्रुको सट्टा भारतीय मुस्लिमहरूलाई नै आन्तरिक खतराको रूपमा चित्रण गर्ने क्रम बढ्दो छ । सेनले दाबी गरे कि एक ठूला फिल्म निर्माताले विवादको डरले आफ्नो चलचित्रको मुस्लिम मुख्य पात्रको नाम बदलेर हिन्दू राखेका छन् ।

पहिलेका चलचित्रहरूमा मुस्लिम पात्रहरू सकारात्मक र वफादार साथीको रूपमा देखिन्थे (जस्तै ‘अमर अकबर एन्थोनी’) । तर हालका वर्षहरूमा उनीहरूलाई ‘एनिमल’, ‘हक’ वा ‘कलंक’ जस्ता चलचित्रहरूमा नकारात्मक, प्रतिगामी वा हिंस्रक रूपमा देखाउन थालिएको छ ।

मुस्लिम स्टारहरू लक्षित शाहरूख खान, आमिर खान, सलमान खान र सैफ अली खान जस्ता स्टारहरूको उपस्थिति बलिउडको धर्मनिरपेक्षताको प्रमाण मानिन्थ्यो । तर हालका वर्षहरूमा उनीहरूलाई पनि लक्षित गरिएको छ ।

इन्डिया हेट ल्याब रिपोर्ट २०२५ अनुसार, अल्पसंख्यक विरोधी घृणास्पद भाषणमा तीव्र वृद्धि भएको छ । सन् २०२३ मा ६६८ घटनाहरू रिपोर्ट गरिएकोमा २०२५ मा १,३०० भन्दा बढी पुगेका छन् । धेरैजसो घृणा राजनीतिक र्‍याली र सार्वजनिक कार्यक्रमहरूमा व्यक्त गरिन्छ जुन पछि अनलाइन माध्यमबाट फैलिन्छ ।

चिसो प्रभाव

यस्तो प्रतिक्रियाले कलाकारहरूमा डर पैदा गरेको छ । कलाकारहरू भन्छन् कि हिन्दी सिनेमामा सिर्जनात्मक स्वतन्त्रता संकुचित हुँदै गएको छ । फिल्म निर्माता अविनाश दासका अनुसार सन् २०१४ देखि फिल्म उद्योगभित्र एउटा यस्तो समूह छ जसले सरकारको प्रभावमा काम गर्छ र विवादहरू सिर्जना गर्छ ।

भारतीय सेलिब्रेटीहरू मौनताको नियममा बाँधिएका देखिन्छन् । हलिउडमा सेलिब्रेटीहरूले खुलेर राजनीतिक विरोध गर्छन्, तर भारतमा त्यस्तो छैन । रोय चौधरी भन्छन्, ‘भारतका मुस्लिम सेलिब्रेटीहरूका लागि प्रतिबन्धहरू अझ कडा छन् किनभने नयाँ भारतमा मुस्लिमहरूलाई सुन्नु पर्ने आवश्यकता ठानिँदैन । उनीहरूबाट आवाजविहीन र अनुहारविहीन हुने अपेक्षा गरिन्छ ।’

केही विश्लेषकहरू भने, एआर रहमानको पहिलेको जस्तो सांगीतिक जादू कम हुँदै जाँदा उनलाई फिल्ममा काम गराउनेको संख्या घट्दै गएको बताउँछन् । यसका बाबजुद पनि पछिल्लो समय उनले संगीत दिएका फिल्महरू ‘छावा’, ‘तेरे ईश्क में’ हिट भएका थिए । तिनै गीतका बलमा उनले हालसम्म काम पाइरहेको केहीको तर्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
जोशीको एकल प्रदर्शनी

जोशीको एकल प्रदर्शनी

‘भूठान’ अमेजनमा

‘भूठान’ अमेजनमा