नेभिगेशन
साहित्य

एक साहित्यकारको मौन विद्रोह

त्याे गर्भपातका हरेक क्षण मेरा लागि स्तब्ध पार्ने थिए,’ फ्रान्सेली लेखिका एनी एर्नो सम्झिन्छिन् । यो सन् १९६३ को कुरा हो । उनी त्यो बेला जम्मा २३ वर्षकी थिइन् । विश्वविद्यालयमा पढ्दै थिइन् भने लेखक बन्ने सपना बोकेर अगाडि बढिरहेकी थिइन् । तर, अवाञ्छित गर्भधारणले उनको भविष्य नै हातबाट फुत्किने डरले उनी साँघुरिइन् । त्यो बेला फ्रान्समा गर्भपात गैरकानूनी थियो । लुकीछिपी गराइएको त्यही गर्भपातले उनको ज्यानै जाने अवस्था सिर्जना गर्‍यो ।

उनका बुवा सानोतिनो पसल सञ्चालन गर्थे । यस्तो परिवारमा जन्मेकी एर्नो परिवारकै पहिलो सदस्य थिइन्, जसले विश्वविद्यालय पुग्ने अवसर पाएकी थिइन् । त्यसैले गर्भधारणलाई उनले व्यक्तिगतभन्दा पनि सामाजिक असफलताको ‘दाग’का रूपमा हेरिन् । पछि उनले लेखेकी छन्, ‘मैले यौन सम्बन्ध बनाएकी थिएँ र मभित्र बढिरहेको कुरालाई म सामाजिकरूपमा असफल भएको चिह्नझैं देख्थें ।’

पिरियड पर्खंदा डायरीमा लेखिएका उनका टिपोटहरू मानौं विनाशतर्फका उल्टो गणनाजस्ता थिए । विकल्प दुई मात्र थिए, आफैं गर्भपात गर्ने प्रयास गर्नु वा ‘एञ्जेल मेकर’ भनिने लुकेर गर्भपात गराउने व्यक्तिको खोजी गर्नु। तर, जानकारी पाउनु लगभग असम्भव थियो । गर्भपात गैरकानूनी भएकाले यसमा संलग्न जो–कोहीलाई, गर्भवती महिलालाई समेत, जेल सजाय हुन सक्थ्यो । एर्नो भन्छिन्, ‘सबै कुरा गोप्य थियो । कसैले बोल्दैनथ्यो । त्यो पुस्ताकी केटीहरूलाई गर्भपात कसरी हुन्छ भन्ने कुरा थाहै थिएन ।’

मौनता तोड्ने लेखन

त्यो समय उनी एक्लो महसुस गर्थिन्, तर उनको निश्चय दृढ थियो । वर्षौंपछि जब उनले त्यो अनुभव लेख्ने निर्णय गरिन्, उनको उद्देश्य आत्मकथा मात्र लेख्नुथिएन । उनले देखाउन चाहिन्, यस्तो अवस्थाको सामना गर्न कति साहस चाहिन्छ ।

उनको चर्चित पुस्तक ‘ह्यापनिङ’मा एर्नोले ती घटनाहरू अत्यन्तै सरल, तथ्यपरक र निर्मम स्पष्टताका साथ कुनै भावुक सजावटबिना केवल विवरण लेखेकी छन् । ‘वास्तविक प्रभाव विस्तृत विवरणले पार्छ,’ उनी भन्छिन् । बुनाइको सुई, आमाबुबाको घरबाट ल्याइएको औजार, प्लासेन्ता बाहिर निस्कनेबारे अज्ञानताजस्ता कुराले उनले गर्भपात गरिन् र यी सबै कुरा उनले लुकाइनन् ।

अत्यधिक रक्तस्राव भएपछि उनलाई विश्वविद्यालयको छात्रावासबाट अस्पताल लैजानुपर्‍यो । ‘यो महिलामाथि गरिने सबैभन्दा भयानक हिंसा हो,’ एर्नो भन्छिन्, ‘हामीले महिलासँग यस्तो हुन कसरी दियौं ?’

उनलाई यो लेख्न कहिल्यै लाज लागेन । बरु उनलाई लागेको थियो, उनी ऐतिहासिकरूपमा महत्वपूर्ण काम गरिरहेकी छन् । गैरकानूनी गर्भपातलाई घेरेको मौन कानूनी गर्भपातमाथि पनि छायाझैं फैलिने डर उनलाई थियो ।

सन् २००० मा प्रकाशित ‘ह्यापनिङ’ आज फ्रान्सका विद्यालय पाठ्यक्रममा समावेश छ । यसै पुस्तकमा आधारित फिल्मले अन्तर्राष्ट्रिय पुरस्कारहरूसमेत जित्न पुग्यो ।

एर्नोका अनुसार युवापुस्ताले गैरकानूनी गर्भपात कति खतरनाक हुन्छ भन्ने जान्नैपर्छ किनभने आज पनि कतिपय देशमा राजनीतिक निर्णयले कानूनी गर्भपातमा पहुँच सीमित गर्ने प्रयास भइरहेका छन् । त्यसका लागि उनले अमेरिका र पोल्याण्डका उदाहरण दिन्छिन् ।

‘आफ्नो शरीरमाथि नियन्त्रण, त्यससँगै प्रजननमाथिको अधिकार, आधारभूत स्वतन्त्रता हो,’ उनी स्पष्ट भन्छिन् ।

फ्रान्सले हालै सुरक्षित गर्भपातको अधिकारलाई संविधानमै समेटेर इतिहास रचेको छ । तर एर्नो चाहन्छिन्— गैरकानूनी गर्भपातका कारण ज्यान गुमाउने हजारौं महिलालाई पनि सम्झनु आवश्यक छ । सन् १९७५ अघि फ्रान्समा वार्षिक तीन लाखदेखि दस लाखसम्म महिलाले गैरकानूनी गर्भपात गराएको अनुमान छ । धेरै मृत्युहरू लुकाइए, सही संख्या कसैलाई थाहा छैन ।

‘उनीहरूका लागि पनि अज्ञात सैनिकझैं स्मारक हुनुपर्छ,’ एर्नोको प्रस्ताव छ । पेरिसका मेयरसमक्ष यस्तो स्मारकको माग राख्ने प्रतिनिधिमण्डलमा उनी स्वयं सहभागी भइसकेकी छन् ।

व्यक्तिगत अनुभवबाट सामूहिक इतिहाससम्म

एर्नोको लेखन गर्भपातमा मात्र सीमित छैन । यौन उत्पीडन, पारिवारिक लाज, आमालाई अल्जाइमरले बिस्तारै गुमाउनुजस्ता घटनाले उनलाई निडर बनाएको छ र ती सबै अनुभव निडररूपमा लेखेकी छन् । अ गल्र्स स्टोरीमा उनले पहिलो यौन अनुभवको चर्चा गरेकी छन्, जुन आजको सन्दर्भमा बलात्कार मानिन्थ्यो । तर उनले त्यो शब्द प्रयोग गरिनन् । ‘मेरा लागि महत्वपूर्ण कुरा, त्यसबेला जे भयो, जस्तो लाग्यो, ठीक त्यही लेख्नु हो,’ उनी भन्छिन् ।

१६ वर्षदेखि लेख्दै आएको डायरी एक समय उनकी आमाले नष्ट गरिदिइन् । तर, स्मृति बाँकी रह्यो । ‘सत्य आगोमा पनि बाँच्छ,’ उनले लेखेकी छन् । स्मृतिमा निर्भर भएर लेखिएको द ईयर्स युद्धपछिको फ्रान्सेली समाजको साझा इतिहास हो । व्यक्तिगत अनुभव सामूहिक सम्झनामा रूपान्तरण गर्ने यही क्षमता एर्नोलाई विशिष्ट बनाउँछ ।

बदला लिन लेख्ने लेखिका

एनी एर्नोको भाषा सादा र अलंकाररहित छ । यो शैली उनले आफ्ना श्रमिकवर्गका बाबुबारे लेख्दा अपनाएकी थिइन् । नोबेल पुरस्कार ग्रहण गर्दा उनले २२ वर्षको उमेरमा डायरीमा लेखेको वाक्य स्मरण गरिन्, ‘म आफ्ना मानिसहरूको बदला लिन लेख्छु।’

ग्रामीण मजदुरवर्गबाट मध्यम वर्गसम्मको यात्रालाई उनी ‘आन्तरिक प्रवास’ भन्छिन् । पछिल्ला पाँच दशकदेखि पेरिस नजिकैको सजी सहरमा बसोबास गर्दै आएकी एर्नो आज पनि लेखनलाई जीवनसँग जोडेर हेर्छिन् । ८५ वर्षको उमेरमा पनि पाठकसँगको सम्बन्ध उनका लागि केन्द्रीय छ । ‘अ सिम्पल प्यासन’ प्रकाशित भएपछि पाठकहरूका पत्रहरूले उनलाई प्रेम, लाज र स्वीकारोक्तिको साझा अनुभवसँग जोडिदियो । एर्नो भन्छिन्, ‘त्यस्ता सम्बन्धमा लाज पनि हुन्छ । तर म यो पनि भन्छु— त्यो मेरो जीवनको सबैभन्दा सुन्दर स्मृति हो ।’

मौनतालाई शब्दमा बदल्ने यही साहस नै एनी एर्नोको साहित्यिक शक्ति हो । (बीबीसी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्