नेभिगेशन
अर्थतन्त्र

पत्रकारिताबाट कसरी कमाउने हन्टरब्रुकबाट सिक्नू

न्यूयोर्क । हेज फन्ड सञ्चालक हन्टरब्रुक क्यापिटलले १० करोड डलर भेला पार्‍यो र त्यो पैसा उसले पत्रकारिताका लागि छुट्यायो । यो पैसाले उसले अनलाइन पत्रिका सुरु गर्‍यो, हन्टरब्रुकडटकम ।

यो अनलाइन सुरु गर्दा व्यापकरूपमा पत्रकार परिचालन गर्ने र तिनको खोजका आधारमा लगानी गर्ने वा सर्टसेल गर्ने भन्ने रणनीति अपनाउने धारणा लगानीकर्ताहरूको थियो । ‘समाचारमा आधारित रणनीति’को अवधारणासहित सुरु भएको दुई वर्षभन्दा कम समयमै यो अनलाइन निकै लोकप्रिय भयो । स्वाभाविकरूपमा यो लोकप्रिय भएपछि कमाउन पनि थाल्यो तर लगानीकर्ताका लागि यसले कमाउनु ठूलो कुरा थिएन ।

ठूलो कुरा चाहिँ यससँग सम्बद्ध पत्रकारहरूले खोजी समाचार ल्याउँथे र ती खोजी समाचारका आधारमा कम्पनीका गलत क्रियाकलापको खुलासा गर्थे । त्यो खुलासापछि कम्पनीको शेयर मूल्य तल झथ्र्यो । त्यही मौकामा हन्टरब्रुक हेज फन्डले सर्टसेल गर्थ्याे । यसरी राम्रै पैसा कमाउन सकिन्छ भन्ने उसले सोचेको थियो । यो रणनीति सफल त भयो तर उसले यसक्रममा अर्को कुरा पनि थाहा पायो । सन् २०२५ मा भने उसले राम्रो समाचार पनि खराब समाचारजत्तिकै लाभदायक हुन सक्छ भन्ने पाठ सिक्यो ।

हन्टरब्रुक क्यापिटलले गत वर्ष सेप्टेम्बरसम्म शुल्क कटौतीपछि २३ प्रतिशत नाफा कमायो । यो नाफा हेज–फन्डको समग्र प्रदर्शन ट्र्याक गर्ने सूचकांकहरू तथा सोही अवधिमा करिब १५ प्रतिशत नाफा दिएको एसएन्डपी ५०० सूचकांकभन्दा बढी थियो । उसका सबैभन्दा बढी नाफा दिने पोजिसनहरू प्रायः बुलिश (नाफामुखी) लगानी थिए, जुन उसको सहोदर समाचारकक्ष हन्टरब्रुक मिडियाबाट गरिएको रिपोर्टिङका आधारमा लिइएका थिए ।

उदाहरणका लागि फ्लाइङ–ट्याक्सी निर्माता कम्पनी जोबी एभिएसनलाई लिन सकिन्छ । हेज फन्डले पहिले यस्तै प्रकारका अन्य कम्पनीविरुद्ध सर्ट बेट गरेको थियो । उसले ती अत्यधिक प्रचारित र सम्भावितरूपमा ठगीमा संलग्न भएको कम्पनीको आशंका थियो । तर हन्टरब्रुक मिडियाका एक पत्रकारले सार्वजनिक उडान लगहरूमा जोबीको असामान्य रूपमा लामो उडान देखापररे फेरि हराएको घटना पत्ता लगाए । उनले ह्यांगरसामुन्ने देखिने गरी एउटा कोठा बुक गररे जोबीले परीक्षण गरिरहेको नयाँ विमानको तस्बिर खिचे ।

यो समाचार प्रकाशित हुनुअघि नै हन्टरब्रुक क्यापिटलले जोबीका शेयर किन्यो । किनकि समाचारमा हुने खुलासाले जोबीविरुद्ध सर्टसेल गरेका लगानीकर्ताहरूलाई आफ्ना सर्ट पोजिसन कभर गर्न बाध्य पार्ने र शेयर मूल्य उकालो लाग्ने अनुमान थियो । नभन्दै त्यस्तै भयो । जोबीले उत्पादन क्षमता विस्तार गर्ने घोषणाले पनि शेयर मूल्यलाई थप उकालोमा धकेल्न मद्दत गर्‍यो ।

हन्टरब्रुकका मुख्य कार्यकारी नाथानियल होरविट् जले जुलाई महिनामा लेखेको एक पत्रमा भनेका छन्, ‘हन्टरब्रुक मिडियाले अत्यधिक राम्रो देखिने दाबीहरूको छानबिन गर्दा प्रायः यस्ता हिरा भेट्टाउँछ, जुन साँच्चिकै आकर्षक हुन्छन् ।’ उनका अनुसार रिपोर्टरहरूले गलत काम गर्नेहरूलाई उजागर गर्ने क्रममा इमानदाररूपमा काम गर्ने प्रतिस्पर्धी कम्पनीहरूलाई पनि पत्ता लगाउँछन्, जसले ठगी खुलासा भएपछि फाइदा लिन सक्छन् ।

अतिरिक्त लाभ खोज्ने हेज फन्डहरूले पहिले पनि अनुसन्धानात्मक पत्रकारहरूलाई विश्लेषकका रूपमा नियुक्त गर्दै आएका थिए । तर हन्टरब्रुकले भने यो विधिलाई चरम सीमासम्म पुर्‍याएको भन्दै अनलाइन खबरको स्थापनाकालमै धेरैको ध्यान खिचेको थियो । खबरपत्रिकाको स्थापनालगत्तै हन्टरब्रुकडटकमले एउटा कम्पनीले बजार हेरफेर गरेको आरोप लगायो र उक्त कम्पनीको रणनीतिको आलोचना पनि गर्‍यो । आलोचनालगत्तै शेयर मूल्य झर्‍यो र त्यो झरेको शेयर मूल्यमा कम्पनीले बेट लगाएर कुस्त कमायो ।

कम्पनीभित्रका स्रोतहरूबाट प्राप्त जानकारीका आधारमा कारोबार गर्नु गैरकानूनी भएकाले, हन्टरब्रुकका अनुशासन अधिकारीले समाचारकक्षका निष्कर्षहरूको समीक्षा गरी फन्डसँग के कुरा बाँड्न मिल्छ र के मिल्दैन भन्ने छलफल गर्छन् र शेयर कारोबारका लागि स्वीकृति दिन्छन् । स्वीकृत भएमा, समाचार तयार हुनुअघि नै फन्डले कारोबार सुरु गर्न सक्छ ।

होरविट्जले सन् २०२३ मा आफ्ना हार्वर्ड विश्वविद्यालयका सहपाठी स्याम कोप्पेलम्यानसँग मिलेर हन्टरब्रुकडटकम स्थापना गरेका थिए । उनीहरू दुवै विद्यार्थीकालमा पत्रकारिता गर्थे र सोही क्रममा मित्र बनेका थिए । होरविट्ज चर्चित अन्तर्राष्ट्रिय पत्रकार टोनी होरविट्ज र जेराल्डिन ब्रुक्सका छोरा हुन् ।

द वाल स्ट्रिट जर्नलका अनुसार, सर्ट सेलिङ अहिले पनि फन्डको मुख्य हतियारमध्ये एक हो । हन्टरब्रुक क्यापिटलले चिकित्सा उपकरण निर्माता डेक्सकमविरुद्ध समाचार प्रकाशित हुनुअघि नै ठूलो रकम परिचालन गरी सर्ट बेट गरेको थियो । समाचारपछि कम्पनीको शेयर एकै दिन ११ प्रतिशत घट्यो ।

जुलाई महिनाको लगानीकर्ता पत्रमा होरविट्जले निष्कर्ष निकाल्दै लेखेका छन्, ‘फन्डले पत्रकारितालाई कसरी शेयर बजार विश्लेषणका लागि प्रयोग गर्दै तथा राम्रो तथा नराम्रा दुवै किसिमका खबरबाट फाइदा लिन सकिन्छ भन्ने सोचलाई हामीले वास्तविकतामा परिणत गरेका छौं । र, हामी सही रहेछौं कि वास्तवमा पत्रकारितालाई सही ढंगले उपयोग गर्न जानियो भने यसको मूल्य असाधारण हुने रहेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्