नेभिगेशन
अर्थतन्त्र

लगानी प्रवर्धन गर्न बौद्धिक सम्पत्तिको संरक्षण आवश्यक छः लक्ष्मण रिमाल, टेक्नोलोजी इनोभेटर

उद्योगी–व्यवसायीमाथि राज्यको निगरानी बढेको वा धरपकड बढेको छ । यस विषयलाई सन्तुलित रूपमा बुझ्न आवश्यक छ । कुनै पनि प्रणालीलाई पारदर्शी र स्वच्छ बनाउन अनुसन्धान र अनुगमन आवश्यक हुन्छ । कसैले गलत काम गरेको छ भने त्यसको अनुसन्धान हुनु स्वाभाविक हो । विगतमा कानुनी कमजोरी वा ‘छिद्र’हरूको फाइदा उठाएर गलत काम भएका हुन सक्छन्, त्यसलाई सुधार्ने प्रयास हुनु सकारात्मक पक्ष हो । त्यसैले, प्रणालीलाई स्वच्छ बनाउन सुरु भएको प्रक्रिया आफैंमा नकारात्मक होइन । आजको विश्वव्यापी सन्दर्भमा बौद्धिक सम्पत्तिको संरक्षण अत्यन्त महत्वपूर्ण विषय बनेको छ । विशेषगरी, विदेशी लगानी आकर्षित गर्नका लागि बौद्धिक सम्पत्तिको सुरक्षा सबैभन्दा आधारभूत आवश्यकता मानिन्छ ।
हामी विशेषगरी प्रविधि क्षेत्रमा काम गरिरहेका छौं भने त्यहाँ बौद्धिक सम्पत्तिको मूल्य झन् ठूलो हुन्छ । विदेशबाट आउने लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गर्नुअघि सबैभन्दा पहिले आफ्नो प्रविधि, नवप्रवर्तन वा उत्पादनको सुरक्षा सुनिश्चित भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन्छन् । नेपालमा सूचना प्रविधि क्षेत्र अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । तर, यहाँ पेटेन्ट, ट्रेडमार्क, कपीराइट लगायत बौद्धिक सम्पत्तिसम्बन्धी नियम–कानुन र कार्यान्वयन प्रणाली अझै कमजोर र फितलो भएको धारणा लगानीकर्तामा छ । यही कारणले विदेशी लगानीका लागि आवश्यक पर्ने विश्वासिलो वातावरण पूर्ण रूपमा तयार हुन सकेको छैन ।
हाम्रो अनुभवअनुसार बौद्धिक सम्पत्तिको संरक्षणको स्तर बलियो बनाइयो भने प्रविधि क्षेत्रमा विदेशी लगानी भिœयाउन धेरै सहज हुन सक्छ । अहिले नेपालमा लगानीको वातावरणमा अन्य चुनौतीहरू पनि छन्, तर सबैभन्दा आधारभूत कुरा भनेको कुनै पनि नवप्रवर्तन वा नयाँ उत्पादनमा लगानी गर्नुअघि लगानीकर्ताले आफ्नो लगानी र आविष्कार सुरक्षित छ भन्ने सुनिश्चितता खोज्छ । त्यसैले, लगानी प्रवर्धन गर्नका लागि बौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षण, स्पष्ट नीति–नियम, र कडाइका साथ कार्यान्वयन गर्ने संयन्त्र विकास गर्नु अत्यावश्यक देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय