नेभिगेशन
उपत्यका

द्रुतमार्गको प्रस्थानविन्दु अब फर्सिडोल

काठमाडौं । ललितपुरको खोकनामा आएको विवाद समाधान हुन नसकेपछि राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रस्थान विन्दु फर्सिडोलमा बनाउने विकल्पमा जान नेपाली सेना तयार देखिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसले दुई वर्ष अघि गरेको सम्भाव्यता अध्ययनले फर्सिडोललाई पनि द्रुतमार्गको वैकल्पिक प्रस्थान विन्दु बनाउन सकिने देखिएकाले अब खोकना विन्दुलाई छोडेर यो विकल्पमा जान सेना तयार देखिएको हो ।
फर्सिडोल विकल्पबारे पनि प्रारम्भिक इन्जिनियरिङ अध्ययन भएकाले अब सरकारको स्वीकृति र निर्देशन बमोजिम नै द्रुतमार्गको प्रस्थान विन्दुको अर्को विकल्पमा जान काम गरिने नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले बताए । ‘पुल्चोक क्याम्पसका विद्यार्थीले गरेको सम्भाव्यता अध्ययनका आधारमा फर्सिडोललाई द्रुतमार्गको प्रस्थान विन्दु बनाउन सकिने कुरा आएको छ,’ उनले भने,‘अब सरकारले जस्तो निर्देशन दिन्छ, सोही बमोजिम सेनाले पनि आफ्नोतर्फबाट काम अगाडि बढाउँछ ।’ 
खोकनाको विवाद समाधान नहुने देखिएपछि यहाँबाट ३.३ किलोमिटरको दुरीमा पर्ने फर्सिडोललाई प्रस्थान विन्दु बनाउने विकल्पमा जाँदा दशकौंदेखि गिजोलिएको जग्गा विवादका कारण प्रभावित हुँदै आएको द्रुतमार्गको निर्माणले गति पाउने अपेक्षा बढेको छ । 
खोकनाबासीले द्रुतमार्गको प्रस्थान विन्दुको पूर्वाधार निर्माण गर्न जग्गा नदिने भएपछि फर्सिडोललाई नै अब प्रस्थान विन्दु बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन संशोधन गर्ने तयारी सेनाले गरेको छ । नेपाली सेनाले फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन केन्द्र) निर्माण गर्ने गरी द्रुतमार्गको डीपीआर संशोधन गर्न मस्यौदा तयार पारेको छ ।
द्रुतमार्गको प्रस्थान विन्दुको जग्गा विवादबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएपछि नै नेपाली सेनाले फर्सिडोललाई प्रस्थान विन्दु मान्ने गरी डीपीआर संशोधन प्रस्ताव गरेको थियो । प्रस्तावका सम्बन्धमा प्रधानमन्त्री कार्कीले अर्थ, कानुन, यातायात मन्त्रालयका मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग पनि सँगै राखेर छलफल गरेकी थिइन् । पहिलो चरणमा प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा द्रुतमार्गको प्रस्थान विन्दु परिवर्तन गरेर फर्सिडोल बनाउने प्रस्ताव गरिएकोमा अब मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट आउने औपचारिक निर्देशन बमोजिम नै नयाँ डीपीआर निर्माणको काम सुरु गर्न सकिने प्रवक्ता बस्नेतले बताए । 
खोकना विवाद समाधान नहुने कारणले नै नयाँ विकल्पमा जान प्रस्ताव गरिएकाले सेनाले अहिले आधिकारिकरूपमा निर्देशन पाइसकेको छैन । विभागीय मन्त्रालय एवम् सम्बन्धित निकायबाट औपचारिक निर्देशन आएपछि मात्रै नयाँ डीपीआर निर्माणको काम सुरु गरिने सेनाले जनाएको छ । 
खोकनाको सांस्कृतिक र पुरातात्विक महŒव बिनाश हुने भन्दै स्थानीयबासीले द्रुतमार्गको प्रस्थान विन्दुको संरचना निर्माण गर्न जग्गा नदिने अडान राखेपछि काम अगाडि बढ्न सकेको छैन । प्रस्थान विन्दु फर्सिडोलमा बनाउँदा द्रुतमार्गको कूल लम्बाई साढे ६७ किलोमिटर हुने देखिएको छ ।
४ वर्षमा सम्पन्न गर्ने गरी सेनाले २०७४ साउनमा द्रुतमार्ग निर्माणको काम सुरु गरेको थियो । तर, ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । द्रुतमार्ग निर्माणमा अहिलेसम्म करिब ४६ प्रतिशत मात्रै भौतिक प्रगति छ । पछिल्लो तालिका अनुसार २०८३ साल चैतभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य छ । तर, पछिल्लो ८ वर्षको भौतिक प्रगतिलाई हेर्दा अबको एक वर्षमा द्रुतमार्ग निर्माणको काम सम्पन्न गर्न सम्भव देखिँदैन ।
यो द्रुतमार्ग आयोजना निर्माण सम्पन्न गर्न २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बितेको ८ वर्षमा द्रुतमार्ग आयोजना निर्माणमा कुल ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ । कुल खर्चमध्ये द्रुतमार्गको संरचना निर्माणमा ७७ अर्ब ९७ करोड खर्च भएको छ भने बाँकी राजस्वबापतको रकम हो ।
यो द्रुतमार्गको बाँकी काम सम्पन्न गर्न चालू आर्थिक वर्ष २०८२÷८३ मा २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आवको ६ महिना पुस सकिँदासम्म द्रुतमार्ग आयोजनामा १ अर्ब ६२ करोड ९२ लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको छ । द्रुतमार्ग आयोजनाले कुल खर्च गरेको रकममध्येबाट जग्गा खरिदको लागि दिइएको पेस्कीबापत १ अर्ब ६५ करोड रुपैयाँ, निर्माण व्यवसायीलाई दिइएको ८२ करोड ३७ लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरणलाई दिएइको पेस्की ९ करोड ८१ लाख रुपैयाँसहित २ अर्ब ५७ करोड रुपैयाँ राजस्व तिरेको पनि सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्