नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्र सुधारोन्मुख, आन्तरिक तथा बाह्य जोखिम कायमै

विश्वव्यापी भू–राजनीतिक तनाव, व्यापारिक द्वन्द्व र नीतिगत अनिश्चितताले साना तथा खुला अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र क्रमशः सुधारको दिशातर्फ उन्मुख भए पनि आन्तरिक तथा बाह्य जोखिम अझै कायम रहेको जनाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘समष्टिगत आर्थिक प्रतिवेदन (म्याक्रोइकोनोमिक रिपोर्ट)’ मा अर्थतन्त्रको थप सुधारका लागि मौद्रिक नीतिलाई थप पारदर्शी, प्रमाणमा आधारित र अग्रदृष्टियुक्त बनाइने उल्लेख छ ।
अर्धवार्षिक रूपमा प्रकाशन गरिने उक्त प्रतिवेदनले देशको समष्टिगत आर्थिक अवस्था, भावी परिदृश्य तथा मौद्रिक नीतिको भावी दिशा स्पष्ट पार्ने लक्ष्य राखेको बैंकले जनाएको छ । विश्वव्यापी भू–राजनीतिक तनाव, व्यापारिक द्वन्द्व र नीतिगत अनिश्चितताले साना तथा खुला अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । यस्तो अस्थिरताले विप्रेषण प्रवाह, वैदेशिक लगानी, निर्यात तथा विनिमय दरमा दबाब सिर्जना गर्न सक्ने उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार मुलुकभित्र देखिएको राजनीतिक संक्रमण र नीतिगत अन्योलले निजी क्षेत्रको लगानी निर्णय, कर्जा विस्तार तथा समग्र आर्थिक गतिविधिमा असर पार्न सक्छ । निर्वाचनपछिको सरकार गठन, सार्वजनिक खर्चको गति तथा सुधार कार्यक्रमको निरन्तरताले आगामी आर्थिक परिदृश्य निर्धारण गर्ने प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले हाल मुद्रास्फीति नियन्त्रणभित्र रहेको, तरलता पर्याप्त रहेको तथा बाह्य क्षेत्र समग्रमा सन्तुलित अवस्थामा रहेको जनाएको छ । तर, यस्ता सकारात्मक सूचकलाई दिगो बनाउन नीतिगत स्थिरता, वित्तीय अनुशासन र संरचनागत सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
मौद्रिक क्षेत्रमा तरलता प्रशस्त भए पनि कर्जा विस्तार सुस्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अल्पकालीन ब्याजदर सन् २०२३ को मध्यदेखि घट्दै नीतिगत करिडोरको तल्लो सीमातर्फ स्थिर छन् । निक्षेप दर ३ प्रतिशतभन्दा तल नझरेको तथा स्थायी निक्षेप सुविधालगायत उपकरणमार्फत तरलता व्यवस्थापन भइरहेको उल्लेख छ ।
वित्तीय पहुँच विस्तार हुँदै वाणिज्य बैंकका शाखा सबै ७५३ स्थानीय तहमा पुगेका छन् । यद्यपि, खराब कर्जा पछिल्लो दुई वर्षमा उच्च दरमा बढ्दा बैंकहरूको वासलातमा दबाब देखिएको छ । कर्जा असुलीमा सुधार र खराब कर्जा स्थिर हुने संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी सन्तुलन उच्च बचतमा रहेको र विदेशी विनिमय सञ्चिति बढ्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । तर, यो अवस्था मुख्यतः विप्रेषणमा निर्भर रहेको उल्लेख गरिएको छ । निर्यात वृद्धिदर खानेतेल पुनः निर्यातमा निर्भर भएकाले संवेदनशील रहेको र भारतसँगको स्थिर विनिमय दरले व्यापार सहज भए पनि अन्य मुद्रासँग नेपाली रुपैयाँ अवमूल्यन दबाबमा रहेको बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ जनवरीमा सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’ अद्यावधिक अनुसार विश्व अर्थतन्त्र समग्रमा सहनशील देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । सन् २०२४ र २०२५ मा स्थिर वृद्धि तथा घट्दो मुद्रास्फीति देखिएको र २०२६ मा विश्व उत्पादन वृद्धि ३.३ प्रतिशत तथा मुद्रास्फीति ३.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । उन्नत तथा उदीयमान अर्थतन्त्रका केन्द्रीय बैंकहरूले नीतिगत ब्याजदर कटौती गर्दै माग प्रवद्र्धन गर्ने प्रयास थालेको पनि प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ४ प्रतिशत आसपास रहने र आर्थिक वृद्धि ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरिएको छ, जुन वार्षिक लक्ष्यभन्दा कम हो । चालु खाता र भुक्तानी सन्तुलन दुवै बचतमा रहने अनुमान गरिएको छ । तरलता उच्च रहने भए पनि प्रभावकारी व्यवस्थापनमार्फत ब्याजदर स्थिर राखिने अपेक्षा गरिएको छ । कर्जा विस्तार भने निर्वाचनपछिको सार्वजनिक खर्च वृद्धि र लगानी वातावरण सुधारमा निर्भर रहने बैंकले जनाएको छ ।
कोभिडपछिको अवधिमा राजस्व संकलन सुधारोन्मुख भए पनि अझै पूर्व–महामारी स्तरमा पुगेको छैन । पुँजीगत खर्च न्यून र खर्चमा मौसमी प्रवृत्ति उच्च रहनु चुनौतीको रूपमा देखिएको छ । चालु घाटा र अनुदान घट्दै जाँदा सार्वजनिक ऋण विस्तार भएको भए पनि समग्र ऋणस्तर क्षेत्रीय औसतभन्दा तल र दिगोपनको जोखिमभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
बदलिँदो आर्थिक तथा वित्तीय परिवेशअनुसार नीतिगत उपयुक्तता मूल्यांकन र समायोजन गर्ने प्रतिबद्धता स्वरूप अब नियमित रूपमा समष्टिगत आर्थिक प्रतिवेदन प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, प्रतिवेदन सुधारका लागि सरोकारवालाबाट प्राप्त सुझावलाई स्वागत गर्दै आगामी संस्करणहरूमा सकारात्मक प्रतिक्रिया समेटिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्